+
+

कास्कीका कुनै पनि क्याम्पसमा हुन सकेन स्ववियु निर्वाचन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १२:१२

५ चैत, पोखरा । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका देशैभरका अधिकांश विद्यालयमा स्ववियु निर्वाचन जारी छ । तर, पोखराका कुनै पनि विद्यालयमा भने स्ववियु निर्वाचन हुन सकेको छैन ।

देशकै सबैभन्दा बढी विद्यार्थी भएको पीएन क्याम्पससहित स्ववियु निर्वाचन हुने भनिएका ६ वटा क्याम्पसमा निर्वाचन स्थगित भएको हो ।

६ क्याम्पसम्मध्ये पोखरा नर्सिङ र पश्चिमाञ्चलन इन्जिनियरिङमा मात्रै फागुन २७ गते मनोनयन दर्ता भएको थियो । तर, उम्मेदवारी दर्तापछि पनि विद्यार्थी संगठनबीच आन्तरिक विवाद बढ्दा अन्य प्रक्रिया अघि बढ्नै सकेन ।

१० हजारभन्दा बढी मतदाता भएको पृथ्वीनारायण क्याम्पसमा निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी हुँदा एकातिर मनोनयन दर्ता नै हुन सकेन भने उच्च अदालतले पनि निर्वाचनको गतिविधि सञ्चालन नगर्न अल्पकालीन आदेश दिएको छ । क्याम्पसको विवाद अदालतसम्म पुग्दा निर्वाचन समितिले नै राजीनामा दिइसकेका छन् ।

फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यसूची रहे पनि पोखराको पृथ्वीनारायण क्याम्पसमा उम्मेदवारी दर्ता हुन सकेन । उम्मेदवारी दर्ता अगावै निर्वाचन समितिबाटै विद्यार्थीको व्यक्तिगत विवरण बाहिर ल्याएको भन्दै केही विद्यार्थी संगठनले तालाबन्दी गरेपछि उम्मेदवारी दर्ता हुन नसकेको हो ।

त्यसअघि विद्यार्थीले आफूहरुले नाम दर्ता गर्दा एउटा समूहबाट गरेको र समितिले अर्को नाम राखेर दर्ता गरिदिएको भन्दै उच्च अदालतमा रिट दर्ता भएको थियो । सोही रिटमाथि न्यायाधीश ऋषि राजभण्डारीको एकल इजालसले अन्तरिम आदेश नआउँदासम्म क्याम्पसमा स्ववियू निर्वाचनका कुनै पनि गतिविधि नगर्न अल्पकालीन आदेश दिएको छ ।

दीप्सन गुरुङ, विप्लवी न्यौपानेलगायत विद्यार्थीले ‘स्वतन्त्र विद्यार्थी समूह’ बनाएर संगठन दर्ता गराएका थिए । निर्वाचन अधिकृतको कार्यालयले त्यस्ता सबै नाम परिवर्तन गर्दा गुरुङ, न्यौपानेको संगठनको नाम पृथ्वी विद्यार्थी मञ्च राखिदिएको थियो । त्यसपछि पुरानै नाम कायम गरिदिन माग गर्दै विप्लवी न्यौपानेले क्याम्पसलाई विपक्षी बनाएर उच्च अदालतमा २६ फागुनमा रिट हालेकी थिइन् ।

त्यसबाहेक क्याम्पसमा विद्यार्थीको डाटा बाहिर ल्याएको भन्ने विषयमा पनि लफडा जारी नै छ । स्ववियु निर्वाचनको तयारी चलिरहँदा पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीको व्यक्तिगत कागजात बाहिर ल्याएको भन्दै विवाद सुरु भएर तालाबन्दीसम्म पुगेको थियो ।

विद्यार्थीको व्यक्तिगत डाटा ‘लिक’ भएको विषयमा प्रशासन, विद्यार्थी संगठनबीच एकआपसमा आरोपप्रत्यारोप चलिरहेको छ ।

विद्यार्थीको व्यक्तिगत विवरण बाहिरिएकोबारे तथ्य खुल्न नसक्दा निर्वाचन समितिको दैलोमा लागेको ताला पनि अझै खुल्न सकेको छैन ।

डाटा ‘लिक’ क्याम्पस प्रशासन र निर्वाचन समितिकै मिलेमतोमा भएको भन्दै अखिल क्रान्तिकारी (विप्लव), अखिल (छैटौं), अखिल (क्रान्तिकारी) संयुक्तले तालाबन्दी गरेका हुन् । ‘हामी स्ववियु चुनावकै पक्षमा छौं । तर, विद्यार्थीको डाटा लिक हुनु भनेको गम्भीर विषय हो । यस विषयमा छानविन हुनै पर्छ, हाम्रो माग त्यत्ति हो,’ अखिल क्रान्तिकारी (विप्लव)का जिल्ला अध्यक्ष सचिन पौडेलले भने ।

त्यस्तै, मनोनयन दर्ता भएर पनि अदालतका कारण पोखरा नर्सिङ क्याम्पसको स्ववियु निर्वाचन रोकिएको छ । सरकारी सेवासुविधा लिइरहेको व्यक्तिले उम्मेदवारी दिएको भन्दै अनुष्ठा चापागाईंले फागुन ३० गने उच्च अदालत पोखरामा रिट दायर गरेकी थिइन् ।

सोही रिटमाथि शुक्रबार न्यायाधीशद्वय उज्जवल शुक्ल र ऋषिराज भण्डारीको संयुक्त इजलाशले तत्कालीन निर्वाचन नगराउन अन्तरिम आदेश जारी गरेको थियो ।

चापागाईंले अनेरास्ववियुबाट स्ववियु सभापति उम्मेदवार बनेका अञ्जना अधिकारी र कोषाध्यक्ष पदका उम्मेदवार अनेरास्ववियुकै दिपिका धिताल नेपाल सरकारको सेवासुविधा तथा तलब लिँदै आएकाले उम्मेदवारी बदर गर्न रिट दर्ता दिएकी थिइन् ।

त्यस्तै, उम्मेदवारी दर्ता भएर पनि पश्चिमाञ्चल इन्जिनियरिङ कलेजमा पनि स्ववियु निर्वाचन हुन सकेको छैन ।

उम्मेदवार टिकट बाँडफाँडमा मनोमानी भएको भन्दै आन्तरिक विवादका कारण नेपाली कांग्रेस निकट नेविसंघको एक समूह आमरण अनसन बसिरहेको छ ।

उनीहरुले अनधिकृत व्यक्ति समावेश गरेर मनोमानी भएको आरोप लगाउँदै निर्वाचन अधिकृतको पनि राजीनामा माग गरेका छन् ।

पोखराकै जनप्रिय माविमा पनि विद्यार्थी संगठनकै विवादका कारण स्ववियु चुनाव हुन सकेन । विन्ध्यवासिनी विद्यापीठ र वनविज्ञान अध्ययन तालाबन्दी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?