News Summary
Generated by OK AI. Editorially reviewed.- कास्की प्रहरीले पोखराका विभिन्न क्षेत्रमा बुधबार रातिदेखि बिहीबार बिहानसम्म १० घन्टा चलाएको स्वीप अपरेसनमा १२२ जनालाई पक्राउ गरेको छ।
- स्वीप अपरेसनमा टोले गुण्डागर्दी, लागुऔषध कारोबार र प्रयोग, शंकास्पद गतिविधि तथा मादक पदार्थ सेवन गरेर अशान्ति मच्चाउनेविरुद्ध अभियान केन्द्रित रहेको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले बताए।
- लेकसाइड क्षेत्रका पर्यटकलाई दु:ख दिएको भन्दै २० जना महिलालाई पनि पक्राउ गरिएको र नागरिक समाजले निर्दोष समातिन सक्ने भन्दै प्रहरीलाई सचेत रहन आग्रह गरेको छ।
१० वैशाख, पोखरा । पोखराका विभिन्न स्थानमा बुधबार राति एकाएक प्रहरीको सक्रियता बढ्यो । काहुँडाँडा, लम्भीडाँडा, रामबजार, लेखनाथ क्षेत्रका ताल आसपास, लेकसाइड, महतगौंडा, दोबिल्लालगायत क्षेत्रमा प्रहरीले सोधपुछ गर्ने, मानिस समात्ने र भ्यानमा हाल्दै लैजाने क्रम तीव्र देखियो । यो गतिविधि बिहीबार बिहानसम्म करिब १० घन्टा जारी रह्यो, जसले स्थानीयलाई सुरुमा अचम्मित बनायो ।
पछि खुल्यो– यो त जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’ थियो । टोले गुण्डागर्दी, लागुऔषध ओसारपसार र प्रयोग तथा समाजमा अवान्छित गतिविधि गर्ने र आतंक सिर्जना गर्नेहरुलाई नियन्त्रणमा लिन प्रहरीले बुधबार रातिदेखि बिहान बिहानसम्मै विशेष अभियान चलाएको थियो । यसक्रममा एकैरात १ सय २२ जना पक्राउ परेका छन् ।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार बुधबार राति ९ बजेदेखि बिहीबार बिहान ५ बजेसम्म करिब १०० जना प्रहरी परिचालन गरी अपरेसन चलाइएको थियो । ‘टोले गुण्डागर्दी, लागुऔषध कारोबार र प्रयोग, शंकास्पद गतिविधि तथा मादक पदार्थ सेवन गरेर अशान्ति मच्चाउनेविरुद्ध यो अभियान केन्द्रित थियो,’ एसपी कार्कीले भने, ‘यसक्रममा १ सय २२ जना समातिएका छन् । केहीलाई सोधपुछपछि छोडिएको छ ।’
नयाँ वर्ष २०८३ को सुरुवातसँगै कास्की प्रहरीले एकैरात यति ठूलो संख्यामा पक्राउ गरेको यो पहिलो घटना हो । यसअघि नयाँ वर्षकै दिन २२ जना पक्राउ परेका थिए, जसमध्ये १० जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । ४ जनामाथि मानव बेचबिखन र ६ जनामाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको पृष्ठभूमि र गतिविधिबारे अनुसन्धान जारी छ । पोखरामा लागुऔषध प्रयोगकर्ता र कारोबार बढ्दै गएको तथा ‘जेनजी’ आन्दोलनपछि गुण्डागर्दीसम्बन्धी गुनासो बढेपछि यस्तो अपरेसन सञ्चालन गरिएको हो ।
पर्यटकलाई दु:ख दिएको भन्दै २० महिला पनि पक्राउ
कास्की प्रहरीले पोखराको लेकसाइडको ओजन गल्लीसहित विभिन्न ठाउँबाट पर्यटकलाई दु:ख दिएको भन्दै २० जना महिलालाई पनि पक्राउ गरेको छ । वैशाख ५ गते र ८ गते गरी २० जना महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
ती महिलाहरुले पर्यटकलाई ‘दु:ख दिएको’ आरोपमा पक्राउ गरेको भए पनि उनीहरुले यौनकार्यका लागि ग्राहक खोज्ने र होटल मिलाएर जाने गरेको गुनासो प्रहरी कार्यालयमा पुगेको थियो । ओजन गल्लीसहित लेकसाइडका सडकमा क्लब, बार, दोहोरीलगायतबाट निस्कने पर्यटकसँग सेटिङ मिलाएर यौन धन्दा चलाउने गरेको आरोप उनीहरु माथि थियो ।
पोखरा घुम्न आउने पर्यटक ती महिलाहरुसँग सम्पर्कमा जाने र ठगिनेसमेत गरेको गुनासो थियो । लेकसाइडका व्यवसायीलेसमेत सडकबाटै खुलेआम यौन कार्यका लागि मोलमोलाई हुने गरेको भन्दै प्रहरीमा मौखिक उजुरी दिएका थिए । त्यसैका आधारमा प्रहरीले २ दिनमा २० जनालाई समातेर अनुसन्धान अगाडि बढाएको हो ।
स्वीप अपरेसनमा वडा प्रहरी कार्यालय बैदाम, वडा प्रहरी कार्यालय रामबजार, वडा प्रहरी कार्यालय बगर, इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी परिचालन गरिएको थियो । प्रहरीले नागरिकमा शान्ति सुरक्षाको महसुस गराउन र आपराधिक घटना हुन नदिन यो अभियान चलाएको प्रहरीको भनाइ छ ।
निर्दोष पनि समातिन सक्ने भन्दै नागरिक समाजले प्रहरीलाई गरायो सचेत
स्वीप अपरेसनका नाममा गल्ती नगरे पनि खाएर बसिरहेका, सडकमा हिँडिरहेका वा कुनै रिसिइबीको आधारमा पनि मानिसहरु समातिने, दु:ख पाउने हुनसक्ने भएकाले सचेत रहन नागरिक समाजले प्रहरीलाई आग्रह गरेको छ । प्रहरीसँग मिलेर लेकसाइड क्षेत्रमा नागरिक समाजले जनचेतनामुलक कार्यक्रमसमेत गरेका थिए ।
कास्की प्रहरी प्रमुख एसपी कार्कीले मानिसहरु नियम र कानुनको परिधिभित्र रहेर मनोरञ्जन गर्न, खानपिन गर्न, हिँडडुल गर्न पाउने अधिकार कुण्ठित हुन नदिने तर समाजमा अशान्ति र आतंक सिर्जना गर्ने, गुण्डागर्दी गर्ने, लागु औषधको प्रयोग र बिक्री गर्नेबिरुद्ध खरो उत्रिने कार्कीको भनाइ छ ।
जेनजी आन्दोलनपछि समाजमा देखिएको त्रास अझै साम्य भइनसकेको अवस्थामा प्रहरी उच्च मनोबलका साथ शान्ति सुरक्षामा खटिरहेको छ भन्ने सन्देश जानुपर्ने र नागरिकले साथसमेत दिनुपर्ने एसपी कार्कीले बताए ।
प्रतिक्रिया 4