News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले कास्की क्षेत्र नम्बर १ मा लेखक गनेस पौडेल र क्षेत्र नम्बर २ मा पत्रकार उत्तमप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ।
- कास्की क्षेत्र नम्बर ३ मा रास्वपा सभापति यदु अधिकारी र विना गुरुङमध्ये एक जनालाई टिकट दिने तयारी भइरहेको नेताहरूले बताएका छन्।
- कास्की क्षेत्र नम्बर २ मा रास्वपा सभापति रवि लामिछानेको निकट पात्र पत्रकार उत्तमप्रसाद पौडेलले टिकट पाएका छन् र यस क्षेत्रलाई देशकै महत्वपूर्ण मानिन्छ।
५ माघ, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीले कास्कीका ३ वटा क्षेत्रमध्ये २ वटामा उम्मेदवार टुंगो लगाएको छ । कास्की क्षेत्र नम्बर १ मा लेखक गनेस पौडेल र क्षेत्र नम्बर २ मा पत्रकार उत्तमप्रसाद पौडेलको नाम टुंगो लागेको छ ।
क्षेत्र नम्बर ३ मा रास्वपा कास्कीका सभापति तथा व्यवसायी यदु अधिकारी र विना गुरुङमध्ये एक जनालाई टिकट दिने गरी अन्तिम तयारी भएको नेताहरूले बताएका छन् ।
कास्की क्षेत्र नम्बर १ मा बालेन समूहबाट रास्वपाको केन्द्रीय सदस्य गनेसलाई उम्मेदवार बनाएको हो ।
यसअघि ३० वैशाख २०७९ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पौडेल अटेरी अभियान चलाउँदै लौरो चुनाव चिह्न लिएर पोखराको मेयरमा प्रतिस्पर्धा गरेका थिए । उनले ३ हजार ३० मत प्राप्त गरेका थिए ।
बालेनसँग निकट रहेका लेखक पौडेल यसपटक संसद् छिर्ने दाउसहित रास्वपाबाट प्रतिस्पर्धामा उत्रिएका हुन् । कास्की क्षेत्र नम्बर १ मा यसअघि एमालेका मनबहादुर गुरुङ विजयी भएका थिए ।
कास्की १ मा एमालेले कास्की अध्यक्ष बैनबहादुर अधिकारीलाई उठाएको छ भने नेकपाबाट केन्द्रीय सदस्य राजकाजी गुरुङ करणले टिकट हात पारेका छन् । कांग्रेसको उम्मेदवार टुंगो लगाउनै बाँकी छ ।
यसपटक कास्कीमा रास्वपाले चुनावी माहोल बनाएको छ । बालेनको साथ र रास्वपाले ल्याउन खोजिरहेको लहरको बलमा पौडेल यसपटक संसद छिर्ने दाउमा छन् । लेखक गनेश पोखरा १४ चाउथेका रैथाने हुन् । उनको ‘पैताला’ उपन्यास प्रकाशित छ भने ‘मुसा मानुस’ नामको किताब अनुवाद गरेका छन् ।
कास्की १ बाट यसअघिका समानुपातिक सांसद शिव नेपाली, यसअघिका उम्मेदवार राजु राइलगायतका आकांक्षी थिए । लेखक गनेसले बालेनको कोटाबाट टिकट ल्याएका हुन् ।
कास्की क्षेत्र नम्बर २ मा रास्वपा सभापति रवि लामिछानेको निकट पात्र पत्रकार उत्तमले टिकट हात पारेका छन् । रविसँगै न्युज २४ हुँदै ग्यालेक्सी टेलिभिजनमा गण्डकीबाट काम गरेका पौडेल पत्रकारिता छाडेर रास्वपा प्रवेश गरेका थिए ।
नेपाली कांग्रेस पृष्ठभूमिका उत्तम कास्की २ बाट संसद छिर्ने होडमा चुनावी मैदानमा उत्रिएका छन् । कास्की–२ लाई देशकै महत्वपूर्ण क्षेत्रका रूपमा हेरिने गरेको छ ।
एमाले नेता रवीन्द्र अधिकारीले ह्याट्रिक मारेको क्षेत्रमा उनको निधनपछि भएको उपनिर्वाचन र २०७९ को निर्वाचनमा एमालेबाट विद्या भट्टराईले लगातार जित हासिल गरेकी थिइन् । यसअघि यो क्षेत्रमा रास्वपा दोस्रो र कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनका उम्मेदवार तेस्रो भएका थिए ।
यसपटक नेकपाबाट किरण थापा आमोदले टिकट पाएका छन् भने एमालेले पूर्वमेयर तथा गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापालाई टिकट दिएको छ । कांग्रेसले उम्मेदवार टुंग्याउन बाँकी छ ।
अघिल्लो चुनावमै लोकप्रिय मत ल्याएको रास्वपाको जगमा उत्तम सांसद हुने दाउमा छन् । यो क्षेत्रमा रास्वपाबाट यसअघिका उम्मेदवार माधव कँडेल, अशोक खड्का, योगेन्द्र केसीलगायतका आकांक्षी थिए ।
कास्की क्षेत्र नम्बर ३ मा कास्की सभापति तथा व्यवसायी यदु अधिकारी, विना गुरुङ, योगराज पौडेल, नवीन त्रिपाठीलगायत आकांक्षी छन् । यदुले टिकट पाउने सम्भावना रहे पनि बिनाको नाममा पनि छलफल भइरहेको बुझिएको छ ।
प्रतिक्रिया 4