+
+

१९ घण्टामा १९९ किलोमिटर दौडिएका अमृत

दिल्लीबाट दौडेर काठमाडौं

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ७ गते १६:००

७ चैत, पोखरा । गत १८ फागुन (२ मार्च) मा नयाँदिल्लीदेखि लगातार १० दिन खाली खुट्टा दौडेर जाजरकोटका अमृत बस्नेतले काठमाडौं आइपुगे । ‘इन्डो नेपाल जिटुजी रन–२०२३ रन फर इन्डो नेपाल फ्रेन्डसीप’ इभेन्टमा दौडिएका उनले १९ घण्टामा १ सय ९९ किलोमिटरसम्म दूरी पार गरे ।

‘दौडिन थालेको २०१५ बाट नै हो । मोस्टली मैले ट्रेल, अल्ट्रा रनिङ नै गर्छु । मेरो जीवनकै सबैभन्दा बढी राम्रो गरेको भनेको १९ घन्टामा १९९ किलोमिटर हो,’ पोखरामा भेटिएका अमृतले सुनाए, ‘त्यो नै मेरो गाह्रो र धेरै दूरीको थियो रनिङमा । अरुबेला १५४, १७० किलोमिटर हान्थें ।’

अहिले अमृत गोरखपुरदेखि काठमाडौंसम्मको ११ सय किलोमिटर दूरी खाली खुट्टा दौडिने तयारीमा छन् । तर, यसपटक उनी एक्लै होइन, भारत कन्याकुमारीका बिशाखकृष्ण स्वामी साथी पाएका छन् । स्वामीसँग चन्ढीगढ दौडका बेला भेट भएको उनले सुनाए ।

अमृत बस्नेत (बाँया) र उनका साथी स्वामी ।

‘गोरखपुरबाट मार्च २५ मा स्टार्ट गरेर पोखरा आउने तयारीमा छ । २२ दिन भनेका छौं । प्रत्येक दिन ५० किलोमिटरमात्रै दौडिन्छौं’ बस्नेतले भने ।

बस्नेतले त्यसबाहेक अन्नपूर्ण सय किलोमिटर २ पटक, सिन्धुपाल्चोकमा ६० किलोमिटर । नेपालगञ्ज म्याराथन पनि दौडिसकेका छन् । सधैं प्रतियोगितामा मात्रै दौडिरहेका उनलाई त्यसभन्दा फरक गर्न मन लागेकाले आफू खाली खुट्टै लामो दौड सुरु गरेको उनी सुनाउँछन् ।

‘अहिलेसम्म प्रतियोगिता २५ भन्दा बढी नै दौडिसकेछु । प्रतियोगिताभन्दा केही नयाँ गरम् न त भनेर सबै दाइहरुसँग सल्लाह गरें, सस्केस पनि भएँ’, बस्नेतले सुनाए, ‘अरु जुत्ता लगाएर दौडिरहेका हुन्छन् । तर, म खाली खुट्टा दौडिएँ । अरुभन्दा बेग्लै गरौं भनेर नै हो ।’

धावक मीरा राईले दिएको घडी उपहार

बस्नेतको हातबाट अहिले एउटा घडी हट्दैन । उनका अनुसार देख्दा सामान्य भए पनि उक्त घडीको नेपाली बजार मूल्य करिब १ लाख २० हजार छ । घडीले जिपिएस ट्र्याक गर्ने हुँदा धावकलाई सजिलो हुन्छ ।

उक्त घडी धावक मीरा राईले काठमाडौंमा उपहार दिएको अमृत सुनाउँछन् । ‘मीरा दिदीसँग पहिल्यैदेखि राम्रो चिनजान छ । काठमाडौं ठमेलमा भेट भाकोबेला मैले जीपीएसवाला घडी आवश्यक छ । तर, मसँग छैन भनें’, उनले सुनाए, ‘त्यसपछि कोहीसँग भन्या छ कि नाइँ भनेर सोध्नुभयो । मैले सबैलाई भनेको छु, तर, तपाईंजस्तो सबैसँग छैन भनेर भनें ।’

बस्नेतले थपे, ‘साँझ म्यासेज गरेर भोलि बिहान गोकर्ण आइपुग भन्नुभयो । उहाँको त ३, ४ वटा छ । त्यसपछि लैजाऊ तर, आफ्नो ज्यानभन्दा बढी केयर गर भन्नुभयो । नेपाली रनरले यो अफोर्ड गर्नै सक्दैन ।’

नेपालसहित भारतका विभिन्न ठाउँमा दौडिसकेका बस्नेत आफूलाई भारतीय राजमार्गका प्रहरीभन्दा नेपाली राजमार्गका प्रहरीले बढी दुख दिने गरेको अनुभव सुनाउँछन् । भारतीय प्रहरीले दौडिरहेको देखे सहयोग गर्ने गरेको बताए ।

‘नेपालमा त सोधपुछको नाममा साह्रै दुख दिन्छन्, एक पटक चितवनमा सबै कपडा फुकालेर चेकिङ गरे । आधा घन्टासम्म रोके’, उनले भने, ‘त्यतिबेला साह्रै दुख लाग्यो ।’ अब मुम्बई काठमाडौं, मनालीलगायत लामो रुटको दौडको तयारी रहेको उनले सुनाए ।

नेपालगञ्जमा १२ कक्षा सकेर उच्च शिक्षाका लागि काठमाडौं जाँदै गर्दा बस्नेतले कुनै दिन दौडमै करिअर बनाउँछु भन्ने सोचेकै थिएनन् । सानातिना दौडमा भाग लिए पनि म्याराथन, ट्रेल दौडमा उनको उतिसारो रुचि थिएन ।

तर ०७३ मा काठमाडौं गएपछि भने सबै फेरियो । बस्नेतका दाइ दौड, साइकलिङ गर्थे । सुरुमा दाइले आफूसँगै उनलाई दौडाउन थाले, खेल खेलाउन थाले । विस्तारै त्यसमा रुचि बस्दै गयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?