 
																			८ चैत, काठमाडौं । नेपालले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन आग्रह गरेको छ ।
भारत भ्रमणमा रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भारतीय समकक्षीसँगको द्विपक्षीय बैठकमा भारत सरकारलाई यस्तो आग्रह गरेकी हुन् ।
‘नेपाल र भारतबीच टेलिफोन दरमा ठूलो असमानता छ, भारतमा बसोबास गर्ने नेपालीहरूले नेपालमा टेलिफोन गर्दा अत्यधिक शुल्क लाग्ने गरेको गुनासो गर्ने गरेका छन्’ मन्त्री सचिवालयका अनुसार नयाँ दिल्लीमा बुधवार भएको बैठकमा उनले भनेकी छन्, ‘देशबीच रहेको टर्मिनल चार्जमा पुनरावलोकन गरी सुलभ महसूल दरमा सेवा उपलब्ध गराउनुपर्ने देख्दछु ।’
नेपाल र भारत नजिकका छिमेकी भएकाले दूरसञ्चार सेवामा बेलाबखत अन्तरदेशीय अवरोध हुने र कतिपय अवस्थामा नेपालको भित्री भागसम्म पनि भारतीय मोबाइल सेवा उपलब्ध हुने गरेकाप्रति समेत मन्त्री शर्माले भारत सरकारको ध्यानाकर्षण गराएकी छन् ।
साइबर सुरक्षाबारे चासो
मन्त्रीको सचिवालयका अनुसार भारतीय समकक्षीसँगको भेटमा सूचना प्रविधि र साइबर सुरक्षाको विषय समेत छलफल भएको छ ।
सूचना प्रविधिको विकाससँगै जोखिम पनि बढ्दै गएको र साइबर सुरक्षा प्रमुख चुनौतीको रूपमा देखा पर्न थालेकाले मिलेर अगाडि बढ्न आवश्यक रहेको बताएकी छन् ।
आपसी सूचना, अनुभव र अभ्यास आदानप्रदान गर्ने र दिगो संयन्त्र तयार गरी क्षमता विकास गर्दै साइबर सुरक्षालाई मजबुत बनाउन आवश्यक रहेकामा मन्त्री शर्माले जोड दिएकी छन् ।
‘भारतमा नेपाली च्यानल प्रसारण हुन सकोस्’
सञ्चार मन्त्री शर्माले भारतीय टेलिभिजन च्यानलहरू नेपालमा सहजै प्रसारण हुने तर नेपाली च्यानलहरू भने भारतमा प्रसारण हुन कठिन रहेको समेत द्विपक्षीय भेटमा उठाएकी छन् ।
भारतमा नेपालीभाषीको ठूलो संख्या रहेकोे उल्लेख गर्दै उनले समकक्षीसँगको भेटवार्तामा भारतमा नेपाली च्यानलहरूको सहज प्रसारण हुने वातावरण मिलाइदिन विशेष आग्रह गरेकी छन् ।
‘विशेषतः नेपाली च्यानल भारतमा डाउनलिङ्क गर्दा अत्यधिक शुल्क लाग्ने गरेकाले यो सम्भव नभएको हुँदा यसमा भारतीय सरकारबाटै विशेष निर्देश गर्न म आग्रह गर्दछु’ मन्त्रीको सचिवालयका अनुसार शर्माले भनेकी छन् ।
प्राकृतिक सौन्दर्य र साँस्कृतिक रुपमा नेपाल चलचित्र छायाङ्कनका लागि उपयुक्त स्थल रहेको भन्दै मन्त्री शर्माले यसतर्फ भारतीय लगानीकर्ताहरुलाई जानकारी हुन आवश्यक रहेको बताएकी छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4