+
+

मुक्तिकोट गाउँका कुपोषित आमा र बच्चालाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ८ गते १९:४६

८ चैत, बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ मुक्तिकोट गाउँका १७ जना कुपोषित आमा र बच्चालाई सहयोग गरिएको छ ।

नगद रकम र बच्चालाई लुगा सहयोग गरिएको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् ।

मुक्तिकोट गाउँकी रेली बिकले ‘बाख्राको दुध खुवाएर ४ सन्तान हुर्काएँ ४ बचाउन सकिनँ’ भनेको समाचार अनलाइखबरमा सार्वजनिक भएपछि मुक्तिकोट गाउँका कुपोषित आमालाई सहयोग भएको हो ।

एनआरएन युकेले १ लाख ५७ हजार, हङकङबाट निलु अन्छाम्बु लिम्बुबाट १० हजार, भैरहवाबाट राजु घिमिरे र संगीता घिमिरेले १५ हजार सहयोग गरेका छन् ।

त्यस्तै आशिर्मा गौतम र आशीर्वाद गौतमले १७ जना आमाका १९ जना बच्चालाई लुगाकपडा सहयोग गरेका छन् ।

रेली बिकको परिवारलाई ५३ हजार, १४ जना आमालाई ७ हजार ३ सयका दरले र दुई जना आमालाई ८ हजार ३ सय नगद सहयोग गरेको गाउँपालिकाले जनाएको छ । उनी कुपोषणको कहरमा रहेको जानकारी पाएपछि एनआरएन युकेले सहयोग गरेको उपाध्यक्ष शकुन्तला गुरुङ्गले बताइन् ।

एनआरएन युकेले कार्यक्रममा लाग्ने खाजा खर्च तथा खादा मालाको खर्च बचाएर अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विकट बाजुराका दुर्गम गाउँका कुपोषित आमा र बच्चालाई सहयोग गरेको अध्यक्ष सुनिलबाबु खड्काले बताएका छन् ।

समाचारले दुर्गममा कुपोषणको दयनीय अवस्था देखाएपछि थोरै भए पनि सहयोग गरेको बताइन् । मुक्तिकोट आधारभूत स्वास्थ्य चौकीले दिएको तथ्यांक अनुसार कुपोषित आमा र बच्चालाई सहयोग गरेको नागरिक अगुवा पदमबहादुर सिंहले बताएका छन् ।

विकको कुपोषणका कारणले दुध नआउने भएपछि उनको डेढ वर्षको छोरा कुपोषणको कहरमा रहेको थियो । सहयोग पाएपछि खुशी हुँदै बिकले सहयोग मिल्दा कुपोषित बच्चा र आफूलाई पोषण किनेर खान सहयोग जुटेको बताइन् । मुक्तिकोट गाउँमा मात्र कुपोषणबाट धेरै आमा र बच्चा प्रभावित छन् ।

कुपोषणका कारणले बच्चाको मृत्यु

बुधवार मात्र जिल्ला अस्पताल बाजुरामा ५ महिनाको बच्चा कुपोषणका कारणले मृत्यु भएको थियो । बूढीनन्दा नगरपालिका ६ बस्ने रमिता नेपालीको ५ महिनाको छोरा जनम नेपालीको कुपोषणका कारणले मृत्यु भएको अस्पताल बाजुरामा कार्यरत पोषण कार्यक्रम संयोजक निर्मला सुनारले बताइन् ।

स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोट गाउँमा वैशाख यता ५ जना बालबालिकाको मृत्यु भएको छ । बाजुरामा वर्षेनि रेकर्डमा नआएका धेरै बालबालिका कुपोषणका कारणले मृत्यु हुने गरेका छन् ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले भर्खर मात्र गरेको कुपोषणको ‘स्मार्ट सर्भे’मा बाजुरामा कुपोषणको दर उच्च रहेको देखाएको छ । बाजुराका ९ स्थानीय तहका ६९ वडा मध्ये २७ वडाका घरघरमा पुगेर ५ वर्ष मुनिका बालबालिकामा सर्भे गरिएको थियो । सर्भेक्षणमा पुड्कोपन ४८.८ प्रतिशत, ख्याउटेपन ८.६ प्रतिशत र कमतौल ३०.६ प्रतिशत देखिएको थियो । तथ्याङ्कका अनुसार बाजुरामा ४८ प्रतिशत कुपोषण रहेको देखाएको छ ।

यो दरले बाजुराका बालबालिकामा कुपोषणको दर निकै उच्च रहेको देखाएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताएका छन् । बाजुरामा आमा र बच्चाको मृत्यु उच्च रहे पनि जिल्लास्थित स्वास्थ्य संस्थामा यो विवरण उपलब्ध हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?