+
+

स्ववियु चुनाव हुन नसकेका अधिकांश क्याम्पसमा विद्यार्थी संगठनको ताला

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते ६:०८

९ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका १८ आंगिक क्याम्पसहरुमा स्ववियु निर्वाचन हुन सकेको छैन । तीमध्ये अधिकांश क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरुले ताला लगाएको कारण स्ववियु निर्वाचन अनिश्चित देखिएको छ ।

१३ वटा आंगिक क्याम्पसहरुमा विभिन्न विद्यार्थी संगठनहरुले लगाएको तालाबन्दीको कारण निर्वाचनको प्रकृया अगाडि बढ्न सकेको छैन । ठाकुरराम बहुमुखी क्याम्पस, रामपुर कृषि क्याम्पस, धौलागिरी क्याम्पस, डोटी बहुमुखी क्याम्पस, सिद्धनाथ विज्ञान क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्वभाषा क्याम्पस र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा नेविसंघले ताला लगाएको छ ।

वीरेन्द्र बहुमुखी क्याम्पस, चितवन इ.क्याम्पस र अमृत साइन्स (अस्कल) क्याम्पसमा अखिल (क्रान्तिकारी)ले ताला लगाएको छ । त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुले ताला लगाएको छ भने रत्नराज्य (आरआर) मा अनेरास्ववियूले ताला लगाएको छ ।

बन विज्ञान क्याम्पस पोखरामा चैत १२ गते र आयुर्वेद क्याम्पसमा चैत २१ गते निर्वाचन मिति तोकिएको छ । बाँकी क्याम्पसहरुमा स्ववियु निर्वाचन अनिश्चित देखिएको छ ।

नेपाल कमर्श क्याम्पस मीनभवन क्याम्पस प्रशासनको कारण निर्वाचन स्थगित भएको छ । भने पृथ्वीनारायण क्याम्पस, पोखरा नर्सिङ क्याम्पसको निर्वाचन अदालतको अन्तरिम आदेशका कारण हुन सकेको छैन ।

के भन्छन् विद्यार्थी संगठनका नेताहरु ?

निर्वाचन हुन नसकेका क्याम्पसहरुलाई त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले चैत १२ गतेभित्र सरोकारवाला पक्षसँगको आपसी समझदारीमा निर्वाचन सम्पन्न गराउन निर्देशन दिइसकेको छ । त्रिविको उक्त निर्देशन पश्चात मंगलबार आरआर क्याम्पसले विद्यार्थी संगठनहरुलाई ताला खोलेर छलफलमा आउन अनुरोध गर्दै विज्ञप्ति जारी गरेको छ ।

आन्तरिक विवादका कारण नेविसंघले लगाएको ताला खोलेर निर्वाचन प्रकृया अगाडि बढाउन नेविसंघ केन्द्रले पहल गरिरहेको जनाएको छ । शेखर कोइराला पक्षकी केन्द्रीय नेता प्रेमिका रानाले भनिन्, ‘आन्तरिक विवादको कारण साथीहरुले ताला लगाउनुभएको छ । ताला खोलेर निर्वाचन प्रकृया अगाडि बढाउनको लागि हामीले समन्वय गरिरहेका छौं । अब चाँडै समाधान हुन्छ ।’

क्याम्पसमा तालाबन्दी संस्कृतिको अन्त्य गर्ने भनेर घोषणा पत्र सार्वजनिक गरेका संगठनहरुले नै क्याम्पसमा तालाबन्दी गरेर निर्वाचन प्रकृया अगाडि बढ्न नदिएको र छलफलमा समेत आउन नचाहेको एक प्राध्यापक बताउँछन् । उनले भने, ‘हामीले त यो निर्वाचन चाहेर नै अन्तिम तयारीमा थियौं । तर आफू हार्ने भन्ने भएपछि ताला लगाउने संगठनको कारण सम्भव भएन ।’

अनेरास्ववियुले त्रिचन्द्र क्याम्पसमा ताला लगाएको कारण निर्वाचन प्रकृया अगाडि बढ्न सकेको छैन । तर अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडाल त्रिचन्द्रको समस्या समाधान भइसकेको बताउँछन् । उनले भने, ‘आचार संहिता लागेपछि भर्ना भएको विषयलाई लिएर साथीहरुले ताला लगाउनुभएको छ । त्यो हटाउनासाथ ताला खुल्छ अरु समस्या छैन । निर्वाचन हुनुपर्छ भन्ने पक्षमा अनेरास्ववियु छ ।’

निर्वाचन गराउनका लागि क्याम्पस प्रशासन तथा क्याम्पसका निर्वाचन समितिले अधिकार प्रयोग गरेर निर्वाचन गराउनुपर्ने अखिल क्रान्तिकारीका महासचिव दिपेश पुन बताउँछन् । क्याम्पस प्रशासन तथा विद्यार्थी संगठनहरुको मतभेदको कारण ताला लागेको हुनाले सरोकारवाला पक्षको समझदारीले तालाबन्दी खोल्न र निर्वाचन गराउन अनुरोध गरेको पुनले बताए । उनले भने, ‘ताला लागेको क्याम्पसहरुमा फरक–फरक कारणले ताला लागेको छ । आपसी समझदारीमा ताला खोली क्याम्पस प्रशासन र निर्वाचन समितिले अधिकार प्रयोग गरेर निर्वाचन सम्पन्न गराउनुपर्छ भनेर स्पष्ट भनिसकेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?