+
+

सिसा, प्लास्टिक मिसिएको खानेकुराले सडक कुकुरको बिजोग

कपिल अछामी, पशु चिकित्सक कपिल अछामी, पशु चिकित्सक
२०७९ चैत ९ गते १२:५७

सडकका कुकुरहरु दिनदिनै खानाको लागि भौतारिरहेका हुन्छन् । त्यसैले उनीहरुले कुनैपनि खानेकुरा देख्नासाथ हतारिएर खान्छन् । अरुले खाइदिन्छन्, खोसिदिन्छन् भन्ने भय हुन्छ र जतिसक्दो चाँडो खान थाल्छन् ।

यस्तो अवस्थामा त्यो खानेकुरा कस्तो हो भनेर उनीहरुले हेरिरहन पनि भ्याउँदैनन् । तपाईं आफैं मनन गर्नुहोस् त, हामी पनि चार–पाँच दिनसम्म भोकभोकै छौं भने खानेकुरा देख्नासाथ कसरी झम्टिएर खान थाल्छौं होला ।

यसरी हतारिएर खाएको बेला त्यहाँ प्लास्टिक हुन सक्छ, सिसाको टुक्रा हुन सक्छ, फलाम हुन सक्छ । उनीहरुले खानासँगै यी सबैकुरा निल्न पुग्छन्, जसले गर्दा पीडादायी रोगहरुले ग्रस्त बनाउँछ ।

खानामा मिसिएका सिसा, ब्लेड, प्लास्टिक, फलाम, ढुंगा र काठ आदिले कुकुरलाई पेटमा मात्र नभई शरीरको विभिन्न अंगमा पीडा दिन्छ । जस्तै ब्लेड तथा सिसाले मुखमा घाउ हुने, प्लास्टिक, रड र काठ पेटभित्र जाँदा र नपचेर बान्ता हुने जस्ता समस्या देखा पर्छन् ।

त्यस्तै आन्द्रामा घाउ हुने, कब्जियत हुने, झाडापखाला लाग्ने जस्ता समस्याले कुकुर दिन प्रतिदिन दुब्लाउँदै जाने त्यसपछि मृत्युसम्म भएका छन् । कुकुरलाई टिटानस समेत हुने जोखिम हुन्छ ।

भरपेट खान नपाउँदा कुपोषणले ग्रस्त

अधिकांश सडक कुकुरले भरपेट खान पाएका हुँदैनन् । राम्रो खानपानको अभावमा उनीहरु अनेक रोगसँग जुधिरहेका हुन्छन् । पेटको जुका, कलेजोको रोग, रगतमा संक्रमण, मिर्गौलामा समस्या हुन सक्छ । बाहिरबाट हेर्दा ठीकठाक देखेपनि भित्रभित्रै उनीहरु पीडाले छटपटाइरहेका हुन्छन् ।

कुहिएको खानाले भोक मेटाउँछन्

सडक कुकुरहरु फोहोरको थुप्रोमा खानेकुरा खोजेर बाँच्नुपर्ने बाध्यतामा हुन्छन् । मान्छेले बासी भएर, कुहिएर, बिग्रिएर फ्याँकेका खाना नै उनीहरुको आहार हुन्छ । त्यो खाना पनि झिंगा भन्किएको, ढुसी परेको, कीरा परिसकेको हुन्छ । यस्तो खाना खाएपछि पेट त दुख्ने नै भयो आमाशय वा पेटमा घाउ हुन्छ ।

भोक र रोगसँग जुध्दै

सडक कुकुरहरु एकातिर भोकसँग भने अर्कोतिर रोगसँग जुधिरहेका हुन्छन् । उनीहरुलाई डिस्टेम्पर भाइरस, पार्वो भाइरस जस्ता रोगले सताइरहेको हुन्छ । पार्वो भाइरसले पेट र आन्द्रामा असर गर्छ । यस्तो समस्या भएपछि कुकुरले खाना खान सक्दैन । पखाला लाग्ने, बान्ता हुने समस्या हुन्छ ।

डिस्टेम्पर भाइरसले नसामा असर गरेको हुन्छ । यो हेर्दा रेविज लागेजस्तो देखिने, ज्वरो आउने, हल्लिएर हिंड्ने जस्ता लक्षण देखा पर्दछन् ।  यी रोगहरु हावापानीबाट सर्ने गर्छ ।

मान्छेकै कारण मर्छन् सडक कुकुर

खासमा भन्ने हो भने मान्छेकै गल्तीले धेरैजसो सडक कुकुरले अकालमा ज्यान गुमाउँछन् । मान्छेले फोहोरमा मिसाएका खानेकुरा खाएर उनीहरु पेटको रोगी बन्छन् । सिसा, ब्लेड जस्ता खानेकुराले उनीहरुको आन्द्रामा घाउ बनाइदिन्छ ।

त्यसैगरी धेरैजसो सडक कुकुर मोटरसाइकल तथा गाडीले कुल्चिएर अंगभंग भएको वा मरेको पाइन्छ । त्यससँगै क्यान्सर, रेबिजले गर्दा सडक कुकुरको मृत्यु हुन्छ । उनीहरुले आफ्नो पूर्ण जीवन पनि बाँच्नै पाउँदैनन् ।

के गर्ने त ?

सक्छौं भने माया गरौं, सक्दैनौं भने उनीहरुलाई पीडामा पनि नपारौं । जुठो, बासी खानेकुरामा सिसा, ब्लेड, फलाम, काठ मिसाएर नफ्याकौं । उनीहरु पनि हामी जस्तै प्राणी हुन् । उनीहरुलाई पनि पीडा हुन्छ, दुख्छ ।

मान्छेले पो आफूलाई बिमार भएको कुरा भन्न सक्छ । उपचार गराउन सक्छ । स्याहारसुसार गराउन सक्छ । त्यो निरीह प्राणीले कसलाई भन्ने, कसरी आफ्नो दुःख पार लगाउने ? क्षण–क्षणमा कष्ट खेप्नुपर्ने बाध्यता हुन्छ ।

त्यसैले सकिन्छ भने एक–दुई गाँस छाडेर पनि त्यस्ता कुकुरका लागि खानेकुरा दिऔं । दुई गाँस छाड्दैमा हामीलाई केही हुने होइन । बरु अझ स्वस्थ भइन्छ । एक जनाले मात्र सबै कुकुर पाल्ने वा व्यवस्थापन गर्ने सम्भव हुँदैन । तर सबै मिलेर आ–आफ्नो टोलको, घर अगाडिको कुकुरलाई एक–दुई गाँस मात्र खाना दिने हो भने धेरै राहत मिल्छ ।

त्यसैगरी सरकारले वा सम्बन्धित निकायले पनि समय–समयमा खोप लगाइदिने, परिवार नियोजन गरिदिने, बिरामी भएमा उपचार गरिदिने गर्नुपर्छ । यो उनीहरुको दायित्व पनि हो ।

(अछामी भक्तपुरस्थित सूर्यविनायक भेटनरी सेन्टरका सञ्चालक समेत हुन् । उनीसँग रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?