+
+

बैंकको अन्धाधुन्ध लगानीमा राष्ट्र बैंकले आँखा चिम्लिंदा समस्या आयो : उमेशलाल श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते १८:३५
उमेशलाल श्रेष्ठ/फाइल तस्वीर

९ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सबल रुपमा नियमन गर्न नसक्दा समस्या उत्पन्न भएको नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले बताएका छन् ।

‘बैंकको कर्जा अर्थतन्त्रमा योगदान पुर्‍याउने खास खासमा क्षेत्रमा प्राथमिकताका आधारमा प्रबाह हुनुपर्छ,’ नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पाँचौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले भने, ‘तर कोराना समयमा कर्जा प्रबाह नहुँदा बैंकले उद्योगी व्यवसायीलाई विना योजना सस्तो ब्याजदरमा ऋण दियो तर तत्कालीन समयमा हचुवाको भरमा लिएको ऋण सदुपयोग नहुँदा अहिले समस्या देखिएको छ ।’

विशेषगरी नियामक निकाय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कामलाई नियमन नगर्दा अहिले समस्या निम्तिएको उनको भनाइ छ । ‘राष्ट्र बैंक नियामक निकाय भएपछि बैंक तथा वित्तीय संस्थाले के-कस्ता क्षेत्रमा कर्जा प्रबाह गरिरहेका छन् भनेर नियमन गर्नुपर्दथ्यो,’ उनले भने, ‘कोभिड-१९ को समयमा बैंकमा निक्षेप थुप्रिंदा बैंकका कर्मचारीले घरघरमा पुगेर कर्जा दिए तर त्यो कर्जा केका लागि दिइयो भनेर कसैले अनुगमन गरेनन् ।’

कोरोनापछि बैंकले गरेको लगानीका सही सदुपयोग नहुँदा देशमा उद्योग कलकारखाना धरासायी बन्न पुगेको उनले बताए ।

‘नेपाल राष्ट्र बैंकको अकर्मण्यता र सरकारको अदूरदृष्टिको मार अहिले उद्योगी व्यवसायीले भोग्नु परेको छ,’  उनले भने, ‘हामीले कृषि क्षेत्रलाई उकास्न सहुलियतपूर्ण कर्जा दियौं तर त्यसको अर्थतन्त्रमा के-कति योगदान भयो ? यस विषयमा सरकारले अध्ययन अनुसन्धान गर्नुपर्छ कि पर्दैन ?

समयको माग र साथीहरुको आग्रह अनुसार पुनः महासंघको वरिष्ठ उपाध्यक्ष दावेदारी गरेर चुनावी मैदानमा आएको भन्दै सहयोग गर्न उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?