+
+

वीरगञ्ज आईसीपी १८ चैतदेखि निजी क्षेत्रले सञ्चालन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते १९:१०

९ चैत, काठमाडौं । वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) चैत १८ गतेदेखि निजी क्षेत्रले सञ्चालन गर्ने भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले ५ वर्षका लागि आईसीपी सञ्चालन तथा व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएको हो ।

समितिले कैलाश टर्मिनल्स जेभी, काठमाडौंको तर्फबाट टीआरएस हिमालयन लजिपार्क प्रालि नामक कम्पनीसँग ६ चैतमा सम्झौता समेत गरिसकेको छ । उसले १ अर्ब ८० करोड ९० लाख १ हजार २ सय रुपैयाँमा टर्मिनल (सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी र कन्टेनर फ्रेट स्टेसन) हरुको सञ्चालनको ठेक्का सकार गरेको हो ।

२४ चैत २०७४ देखि सञ्चालनमा आएको आईसीपी इन्टरमोडल यातायात विकास समितिले आन्तरिक व्यवस्थापनबाट सञ्चालन तथा व्यवस्थापन गरिरहेको थियो । ११ साउन २०७९ मा समितिले टर्मिनल पट्टाबहालमा दिने सम्बन्धी नियमावली, २०७० बमोजिम अन्तर्राष्ट्रिय स्तरको प्रस्ताव (बोलपत्र) आह्वान गरेको थियो ।

बोलपत्र प्रक्रियामा ५ वटा कम्पिनी सहभागी भएका थिए । जसमा नेपालको विन्दबासिनी लजिस्टिक्स प्रालि र भारतका टिआरएस लिफ्ट एण्ड सिफ्ट सर्भिसेज प्रालि तथा एपीजे सिपिङ लिमिटेड कम्पनीले संयुक्त रुपमा ठेक्का पाएको थियो । यसको नाम भने कैलाश टर्मिनल्स जेभी राखिएको छ ।

करार सम्झौतामा भएका शर्त र सेवाको स्तर अनुसार कम्पनीले आईसीपी सञ्चालन तथा व्यवस्थापन गर्ने समितिका उपनिर्देशक हरेकृष्ण मिश्रले बताए । आईसीपी निजी क्षेत्रबाट सञ्चालन तथा व्यवस्थापन भएपछि व्यापारमा थप चुस्त हुने र लागतको हिसाबले किफायती हुने दाबी समितिको छ ।

कम्पनीले टर्मिनलको सञ्चालन, आयात तथा निर्यातका क्रममा वस्तुहरुको ओसारपसार, भण्डारण, रेखदेख, मर्मत सम्भार, पूर्वाधार निर्माण, टर्मिनलभित्र रहेका मेसिनरी औजार, उपकरण, ढुवानी साधन आदिको व्यवस्थापन गर्नेछ ।

एकै स्थानबाट भन्सार, आप्रवासन, क्वारेन्टाइन, सीमा सुरक्षा जस्ता संस्थाहरु ल्याएर मानवीय तथा मालसामानको अन्तरदेशीय आवत जावतलाई झञ्झटरहित बनाउने उद्देश्यले भारतले नेपाल र आफ्नो भूमिमा समेत आईसीपी निर्माण गरिदिएको छ । नेपालको आधा भन्दा बढी अन्तर्राष्ट्रिय आयात निर्यात कारोबार आईसीपीबाटै हुने गरेको छ ।

२०७४ देखि नै सञ्चालनमा आएको वीरगञ्ज आईसीपी सञ्चालनका लागि २०७५ सालमा पनि टेण्डर आह्वान गरिएको थियो । तर त्यो टेन्डर प्रक्रिया पूरा हुन सकेको थिएन ।

समितिको स्वामित्वमा वीरगञ्ज, विराटनगर, भैरहवा, काकडभित्ता, तातोपानी, चोभार र वीरगञ्जमा सिर्सिया सुक्खा बन्दरगाह र आईसीपी सञ्चालनमा छन् । योसँगै समितिले चोभार सुक्खा बन्दरगाह आफैंले सञ्चालन गर्दै आएको छ । यो पनि निजी क्षेत्रलाई जिम्मा दिने गरी गृहकार्य भइरहेको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?