+
+

म राम्रो निर्देशक होइन तर राम्रो कथा भन्न सक्छु : उपेन्द्र सुब्बा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते १४:५४

काठमाडौं । अहिलेसम्मकै धेरै कमाउने ब्लकबस्टर फिल्म ‘कबड्डी’ श्रृंखलाका निर्देशक रामबाबु गुरुङ र पटकथा लेखक उपेन्द्र सुब्बाले आगामी एक फिल्मका लागि सहकार्य गरेका छन् । वैशाख १ गते रिलिजको तयारीमा रहेको ‘जारी’मा गुरुङ निर्माता र सुब्बा लेखक तथा निर्देशकको रुपमा छन् ।

लिम्बू समुदायमा रहेको जारी प्रथाको कथावस्तुमार्फत वैवाहिक सम्बन्ध, महिला स्वतन्त्रता र दाम्पत्य जीवनको आयामलाई चित्रण गर्ने यो फिल्मको मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । पत्रकार सम्मेलनमा फिल्मका निर्माता, कलाकार र निर्देशकले फिल्मलाई लिएर प्रश्नहरुको सामना गरे ।

कविको रुपमा काम गर्दागर्दा थाकेर आफू फिल्ममार्फत कथा भन्ने ठाउँमा आइपुगेको सुब्बाले बताए । ‘कवि बन्दाबन्दै थाकेर अहिले फिल्ममा छु । म राम्रो निर्देशक त होइन तर राम्रो कथा भन्न आएको छु,’ सुब्बाले भने, ‘निर्देशकको भारी बोक्ने रहर थिएन ।’

नेपालको पूर्वदेखि पश्चिमसम्मकै भूगोल र समुदायमा जारी प्रथा कायम रहेको भन्दै निर्देशक सुब्बाले समुदायले यो प्रथालाई कसरी लिन्छ भन्ने महत्वपूर्ण हुने बताए । फिल्म ‘जारी’मा लिम्बू समुदायमा रहेको जारी प्रथा र यसका सकारात्मक पक्षलाई चित्रण गरिएको उनले बताए ।

‘प्राकृतिक रुपमै जीवनसाथी छनोट गर्ने महिलाको अधिकारलाई पनि हामीले यहाँ देखाएका छौं । लिम्बू समुदायभित्र जारी प्रथाका सकारात्मक पक्ष छन् । हामीले यसमा त्यसलाई भन्ने प्रयास गरेका छौं,’ सुब्बाले भने ।

अभिनेता दयाहाङ राईले यस फिल्ममार्फत आफूले जारी प्रथालाई सहज रुपले बुझ्ने मौका पाएको बताए । ‘मलाई एकदमै मन परेको कथा हो । मलाई आशा छ, दर्शकले पनि यसलाई रुचाउनुहुन्छ,’ उनले भने ।

वैशाख १ मा जारीसहित दयाहाङका दुई फिल्म प्रदर्शन हुँदैछन् । बिहेपास र जारी एकैदिन रिलिज हुने भएपछि दयाहाङको धपेडी बढेको छ । शुक्रबारदेखि नयाँ फिल्म ‘नांगो गाउँ’को छायांकनमा उनी ब्यस्त हुनेछन् । ‘यसलाई धपेडीभन्दा पनि नियमित प्रक्रियाको रुपमा बुझ्नुपर्छ,’ उनी ‘डिप्लोम्याटिक’ सुनिए ।

अभिनेत्री मिरुना मगरले आफ्नी आमा लिम्बू भएकाले लिम्बू समुदायप्रति लगाव रहेको बताइन् । फिल्म जारीको कथावस्तुलाई सबैले महसुस गर्ने भन्दै मिरुनाले आफू जन्मिएको भन्दा अगाडिको कथावस्तुमा फिल्म बनेको बताइन् । ‘जारी प्रथालाई कुप्रथाभन्दा पनि यसभित्र महिला स्वतन्त्रताको कुरा पनि छन्,’ सकारात्मक पक्ष केलाउँदै उनले भनिन् ।

‘कबड्डी ४’पछि रामबाबु, उपेन्द्र, मिरुना र दयाहाङबीच सहकार्य भएको हो ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?