+
+

परिणिती चोपडाले सांसद राघव चड्ढासँग विवाह गर्न लागेकी हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते १६:५३

काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडा यतिबेला करिअरमा व्यस्त छिन् । पछिल्लो पटक सुरज बडजात्याको ‘उचाइ’ मा देखिएकी उनी हालै मुम्बईको एक रेस्टुरेन्टमा आम आदमी पार्टीका सांसद राघव चड्ढासँग एक पटक होइन, दुई पटक देखिएपछि चर्चामा छिन् ।

बुधबार उनीहरु सेतो पहिरनमा डिनरको लागि बाहिर निस्किएका थिए । भोलिपल्ट फेरि एउटै गाडीमा खाजा खान निस्किएको भेटिएपछि अफवाह चल्न थाले । लण्डनमा सँगै पढेपछि यी दुईलाई असल साथीका रूपमा चिनिन्थ्यो । यद्यपि, यी दुईले डेटिङको हल्लामा टिप्पणी गरेनन् । निकट स्रोतका अनुसार यी दुईजना प्रेम सम्बन्धमा छन् ।

टाइम्स अफ इण्डियाले स्रोतलाई उद्धृत गर्दै राघव र परिणितीको परिवार एकअर्कासँग भेटिरहेको खुलासा गरेको छ । दुवैले एकअर्कालाई लामो समयदेखि चिनेका, साझा चासो र सबै कुरा उनीहरूको पक्षमा भएकाले परिवारले विवाहको बारेमा छलफल सुरु गरेका छन् । विवाहको चर्चा चलेपछि उनीहरु डिनरमा गएका थिए । यसको औपचारिक घोषणा चाँडै हुने स्रोतले जनाएको छ । यसबारे परिवारबीच वार्ता चलिरहेको छ, तर राघव र परिणितीको व्यस्तताका कारण मिति तय गर्न मुश्किल भइरहेको छ ।

राघव दिल्ली फर्किएपछि, यी युवा राजनीतिज्ञले परिणितीसँगको सम्बन्धलाई लिएर मिडियाबाट प्रश्नहरूको सामना गरिरहेका छन् । उनको तिखो जवाफले नेटिजेन्सको ध्यान खिच्यो । जब उनलाई परिणितीसँगको विवाहको हल्ला सत्य हो भनेर सोधिएको थियो, राघवले जवाफ दिए, ‘तपाई मलाई परिणिती होइन राजनीतिबारे कुरा सोध्नुस् ।’

भारतीय सञ्चारमाध्यमहरुले परिणिती र राघवले आन्तरिक रुपमा विवाहको तयारी गरिरहेको खबर प्रकाशित गरेका छन् । परिणिती इम्तियाज अलीको आगामी फिल्म ‘चमकिला’मा दिलजीत दोसाँझसँग देखिनेछिन् । अभिनेत्रीले हालै सुटिङ पूरा गरेकी छन् र सेटबाट तस्वीर सेयर गरेकी छिन् । यो फिल्म इम्तियाज अलीसँग उनको पहिलो सहकार्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?