+
+

कञ्चनपुरमा एमाले र एकीकृत समाजवादीका नेताको संयुक्त भेलालाई भीम रावलको सम्बोधन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते १८:१४

१२ चैत, धनगढी। नेकपा एमालेका नेता भीम रावलले कञ्चनपुरमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुसँग भेटघाट गरेका छन् । आइतबार महेन्द्रनगरको सिद्धार्थ होटलमा दुवै पार्टीका कार्यकर्ताहरुसँग भेटघाट गरेका हुन् ।

रावलले नेता कार्यकर्ताबाट भेटघाट र छलफल गरौं भनेर आग्रह भएकाले संविधान निर्माण र राष्ट्रिय राजनीतिको वर्तमान अवस्थाबारे चर्चा गरेको बताए । उनले संविधान निर्माणको उद्देश्य एकातिर छाडेर कार्यान्वयन अर्कै ढंगले भइरहेको बताए ।

‘३४ अर्ब रुपैयाँ खर्चिदै दुई–दुई पटक संविधानसभाको चुनाव गरी ८ वर्ष समय लगाएर संविधान बनायौं । संविधान के उद्देश्यले निर्माण गरेका थियौं तर अहिलेको कार्यान्वयनको अवस्था के छ ?’, रावलले भने, ‘राजनीतिक दल र सरकारबाटै संविधान मिच्ने काम भइरहेका छन् । यसमा हामी सबै गम्भीर बन्नुपर्नेछ ।’

सरकारले गरेको एमसीसी सम्झौता र पश्चिम सेती परियोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिएको प्रसंग उठाएका रावलले बढ्दो आर्थिक संकटले मुलुक दलाल पुँजीवादीको हातमा गइसकेको टिप्पणी गरे ।

‘संविधान निर्माण गर्दा हामीले असमान सन्धि, सम्झौता नगर्ने, विगतमा भएकाको हकमा पुनरावलोकन गर्ने भन्यौं’, उनले भने, ‘तर अहिले संविधान पटक पटक मिच्ने काम भएको छ । संविधान विपरीत एमसीसी सम्झौता जस्ता थुप्रै सम्झौता गरिएका छन् ।’

रावलले पार्टीभित्रका र अन्य शुभेच्छुकले बोलाएपछि कञ्चनपुर आइपुगेको तर्क पेश गरेका थिए । ‘कञ्चनपुरका साथीहरुसँग भेटघाट गरौं । इच्छुक साथीहरुसँग छलफल पनि गरौँ, अहिले राष्ट्रिय राजनीति पनि धेरै तरल र तरंगित भएको छ । यस्तो अवस्थामा साथीहरुका कुरा सुनौं भनेर म यहाँ उपस्थित भएको हुँ,’ उनले भनेका छन् ।

एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य भोजराज जोशीले पार्टी कार्यालयमै भेटघाट गर्दा पनि हुने टिप्पणी गरेका थिए । तर रावलले विगतमा पनि आफू होटलमा कार्यक्रम र भेटघाट गर्दै आएकाले अन्यथा लिन नहुने बताए ।

बैठकमा एमालेका केन्द्रीय परिषद् सल्लाहकार र जिल्ला कमिटी सदस्य सहभागी थिए भने एकीकृत समाजवादीका कञ्चनपुर इन्चार्ज लालबहादुर खड्का, सहइन्चार्ज तथा प्रदेशसभा सदस्य प्रकाश रावल लगायत सहभागी गिए ।

एमाले सुदूरपश्चिमका एक नेताले रावल पार्टीमै भएपनि पछिल्लो समय उनले गरिरहेका गतिविधि स्वीकार्य नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?