+
+

मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो समिति, प्रधानमन्त्रीले भेट्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १४ गते ११:३९

१३ चैत, काठमाडौं । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधि सहितको वार्ता समिति गठन गरेका हुन् ।

समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर दंगाल छन् ।

चार सदस्यीय यो टोलीले मिटर ब्याज पीडितसँग भेट्ने र प्रधानमन्त्री प्रचण्डसँग भेट्ने वातावरण बनाउने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

न्याय माग्दै महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर मिटरब्याज पीडितहरु काठमाडौं आएका छन् । उनीहरु आज बिहान प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै गर्दा प्रहरीले टंगालमा रोकेको थियो । त्यहाँ गृह मन्त्रालय सहसचिव केदारनाथ शर्माले पीडितहरुलाई भेटेर आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए । पीडितका प्रतिनिधिहरुले भने आफूहरुलाई प्रधानमन्त्रीसँग भेटाइदिन आग्रह गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले आजै मिटर ब्याज पीडितसँग भेट्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज दिउँसो बस्ने मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री प्रचण्डले पीडितहरुलाई भेट्ने तयारी गरेका छन् ।

फास्ट ट्र्याकबाट कानुन बनाउने तयारी 

प्रधानमन्त्री प्रचण्डले मिटर ब्याज पीडितहरुको समस्या समाधानका लागि कानुनको मस्यौदा बनाउन पनि निर्देशन दिएका छन् ।

मंगलबार (आज) बस्ने मन्त्रिपरिषद बैठकबाट मिटर ब्याज पीडितको माग सम्बोधन गर्ने गरी कानुनको विधेयकलाई संसदमा दर्ता गर्न सम्बन्धित मन्त्रालयलाई स्विकृति प्रदान गर्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो काम फास्ट ट्र्याकबाट गरिने प्रधानमन्त्रीको सचिवालयका सदस्य शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?