+
+

काठमाडौंमा प्रबल गुरुङको घुमघाम, दक्षिणकाली पुगेर गरे कला अवलोकन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते १२:३८

काठमाडौं । नेपालीमूलका चर्चित अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङ यतिबेला नेपाल घुमघाममा व्यस्त छन् । ओस्कार अवार्ड र न्युयोर्क फेसन विकजस्ता ठूला समारोह सकिएलगत्तै काठमाडौं आइपुगेका प्रबलको यतिबेलाको नेपाल घुमघाम गुपचुपजस्तै छ । अघिल्लोपटकको आगमनजस्तो हल्लाखल्ला पनि छैन ।

आमासहित उनको परिवार बानेश्वरमा बसोबास गर्ने भएकाले पनि उनको आगमन घरायसी हुने भइहाल्यो । यसबाहेक प्रबल यतिबेला विभिन्न मठमन्दिर, पुरातात्विक सम्पदा अवलोकन र घुमघाममा व्यस्त छन् । सोमबार उनी दक्षिणकाली मन्दिरको दर्शनमा पुगेका थिए, जहाँ उनले त्यस क्षेत्रको मन्दिर संरचना, वास्तुकलाको अवलोकन गरे । इन्स्टाग्रामबाट पनि उनले यस्ता कलात्मक तस्वीर सार्वजनिक गरेका छन् ।

यसबाहेक उनी पाटन क्षेत्र पुगे र त्यहाँको अवलोकन गरे । अघिल्लोपटक नेपाल आउँदा उनले पाटन दरबार स्क्वायरमा फेसनबारे भव्य कार्यक्रम गरेका थिए । काठमाडौंमा उनले नेपाली फेसन डिजाइनरसँग पनि भेटघाट गर्दै नेपाली फेसनको विकासबारे छलफल गरेका छन् । प्रबललाई भेटेर आफूलाई प्रेरणा जागेको कुरा अहिलेका चर्चित नेपाली फेसन डिजाइनर आस्तिक शेरचनले उल्लेख गरेका छन् ।

नेपालमा प्रबलले शिक्षा नेपाल लगायत सामाजिक परियोजना पनि सञ्चालन गरेका छन् । प्रबलको नेपाल आगमन खास हुने गर्छ । प्रत्येक पटक नेपाल आउँदा नेपाली कला शैलीबाट प्रभावित भएर उनले न्युयोर्क फेसन विकदेखि मेट गालासम्म डिजाइन गर्ने गरेका छन् । पुरातात्विक सम्पदादेखि मन्दिर क्षेत्रको भ्रमणमा उनले खिचेका तस्वीरले उनका आगामी डिजाइनहरु प्रभावित हुने अपेक्षा गर्न सकिन्छ । उनको विगतको कलेक्सन हेर्दा नेपाली प्राकृतिक, पुरातात्विक सम्पदाबाट उनी प्रभावित देखिन्छन् । यो पक्कै पनि नेपालको लागि फाइदाकै कुरा हो ।

अमेरिकी पूर्वप्रथम महिला मिसेल ओबामा, बेलायती राजकुमारी केट मिडल्टन, कलाकारहरु प्रियंका चोपडा, दीपिका पादुकोण, आलिया भट्टदेखि अमेरिकी सुपरमोडलदेखि अभिनेत्रीले प्रबलको डिजाइन लगाएका छन् । अमेरिकामा हुने एसियाली मूलका बासिन्दामाथिको आक्रमणविरुद्ध प्रबलले आन्दोलनको नेतृत्व समेत गरेका थिए । यसपटकको न्युयोर्क फेसन विकमा प्रबलको डिजाइनमा सिन्दूर लगाएर मोडलहरुले र्‍याम्प नापेका थिए ।

निकट स्रोतका अनुसार प्रबल केही दिनमा न्युयोर्क फर्कने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?