+
+

किन बढ्यो कोरोना संक्रमितको संख्या ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते २०:०८

१५ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १ हजार ३३० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्ला महिनाहरुमा शून्यदेखि १० भन्दा कम रहेको कोरोना संक्रमितको संख्या पछिल्लो एक साता उकालो लागेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार ९ चैतमा १७ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसपछि क्रमशः २, ३, १६, ६९, २४ र ३४ (आज) जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अधिकांश संक्रमित भारतबाट स्थलमार्गबाट नेपाल प्रवेश गरेका वा उनीहरुको सम्पर्कमा रहेकाहरु छन् । भारतमा अहिले ओमिक्रोनको दुई भेरिएन्ट मिलेर बनेको नयाँ भेरियन्ट एक्सबीबी.१.१६ (ह्द्यद्य।ज्ञ।ज्ञट) का कारण संक्रमण बढेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का डा. अभियान गौतम भन्छन्, ‘भारतबाट आउने आगन्तुक, जो नेपालीहरु नै हुन् । लामो समय भारतमा बसेर घर फर्किने क्रममा स्थल नाकहरुमा परीक्षण गर्दा भेटिएका हुन् ।’

यद्यपि नेपालमा भेटिएको कोरोना भाइरस कुन भेरिएन्ट हो भन्ने यकिन भइसकेको छैन ।
एक्सबीबी.१ भेरियन्ट भने पहिल्यै भेटिएको थियो । पछिल्लो पटक गरिएको जिन सिक्वेन्सिङमा भने बीए.५.२ भेरियन्ट भेटिएको थियो । सीमा नाकामा परीक्षण गर्दा संक्रमण भेटिएकाहरुको स्वाब जिन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ, केही दिनमा रिपोर्ट आउनेछ ।

डा. गौतमका अनुसार अहिले भारतमा फैलिएको नयाँ भेरियन्ट एक्सबीबी.१.१६ संक्रामक बढी हो, तर भ्याक्सिन नलगाएका तथा रोग प्रतिरोधतात्मक क्षमता कम भएकाहरुका लागि यो भेरियन्ट घातक पनि हुनसक्छ ।

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्राकम रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पछिल्लो समय नेपालमा संक्रमण बढ्नुका तीन कारण हुन सक्ने बताउँछन् । पहिलो कारण छिमेकी मुलुक भारतमा भेटिएको नयाँ भेरिएन्ट एक्सबीबी.१.१६ हुनसक्छ । दोस्रो कारण नेपालमै घुमिरहेका भेरियन्टहरुबाट नयाँ भेरियन्ट विकसित भएका पनि हुन सक्छ भने तेस्रो कारण अन्य मुलुकबाट आउने मानिसहरुबाट पनि संक्रमण बढेको हुन सक्छ ।

परीक्षण गर्नुस्, बुस्टर लगाउनुस्

चिकित्सकहरुका अनुसार अहिले समुदायमा कोरोनासँगै इन्फ्लुइन्जा पनि सँगसँगै आएको छ ।

कतिपय चाहिँ मौसम परिर्वतनसँगै रुघाखोकी भनेर घरमै बस्ने गरेका छन् भने कतिपयले परीक्षण गर्ने गरेका छन् । ‘परीक्षण नगर्दा आफूलाई जोखिममा राख्ने मात्र होइन, अरुलाई पनि सार्ने सम्भावना हुन्छ’, डा. गौतम भन्छन्, ‘रुघाखोकी र ज्वरो पनि छ भने परीक्षण गर्नु उपयुक्त हुन्छ ।’

साथै खोप लगाउन समेत उनले आग्रह गरे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० देखि १५ प्रतिशत नागरिकले अझै एक डोज पनि खोप नलगाएको अनुमान छ ।

बुस्टर लगाउनु पर्नेको संख्या पनि उल्लेख्य छ । डा. गौतमका अनुसार प्राइमरी खोपको दोस्रो डोज लगाएको ३ महिनाभित्र पहिलो बुस्टर डोज लगाउनुपर्छ भने पहिलो बुस्टर डोज लगाएको ६ महिनापछि दोस्रो बुस्टर लगाउनु उपयुक्त हुन्छ ।

प्राइमरी खोपमा पहिलो र दोस्रो दुवै डोज एउटै भ्याक्सिन लगाउनु उपयुक्त हुन्छ । नेपालमा अहिले पहिलो र दोस्रो डोजका रुपमा भेरोसेल भ्याक्सिन लगाउने गरिएको छ ।

बुस्टर डोजका लागि फाइजरको भ्याक्सिन छ । ‘पहिलो र दोस्रो डोजका रुपमा कोभिसिल्ड, एस्ट्राजेनेका वा जुनसुकै भ्याक्सिन लगाएको भए पनि बुस्टरका रुपमा फाइजरको भ्याक्सिन लगाउन सकिन्छ’ ईडीसीडीका डा. गौतम भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?