+
+

धरहराको निर्माण सुस्त, चढ्न पाइने दिन अनिश्चित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते २०:०३
फाइल तस्वीर

१५ चैत, काठमाडौं । नयाँ धरहरा निर्माण गरिरहेको रमण कन्स्ट्रक्सनले एक वर्ष म्याद थपको प्रस्ताव गरेको छ । लक्ष्यअनुसार काम नसकिएपछि रमण कन्स्ट्रक्सनले एक वर्षको म्याद थप्न प्रस्ताव गरेको हो ।

विभागका पुनर्निर्माण इकाइ प्रमुख प्रभाकरलाल कर्णका अनुसार कम्पनीले आगामी असारसम्म म्याद पाउँदैछ । ‘असारसम्म काम सकिने निश्चित छैन, अहिले काम सुस्त गतिमा भइरहेको छ,’ उनले भने, ‘हामीले जोडबल गरेका छौं, तर ठेकदारले आर्थिक मन्दी लगायतका कारण देखाएर गति बढाएको छैन ।’

११ वैशाख २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले करिब ४२ प्रतिशत काम सकिंदाकै अवस्थामा धरहराको उद्घाटन गरेका थिए । अझै पनि धरहराको टावर र त्यसमुनि बनेको पार्किङको फिनिसिङ भइसकेको छैन ।

धरहराको पुनर्निर्माण काम गत पुसभित्र सक्ने योजना थियो । तर, धेरै काम बाँकी रहेकाले असारसम्म म्याद दिइएको छ ।

‘असारसम्म सर्वसाधारणलाई धरहरा चढ्नका लागि खुला गर्न सक्छौं,’ कर्णले भने, ‘कहिलेसम्म धरहरा निर्माणको सबै काम सकिन्छ भन्ने यकिन छैन ।’

आगामी ११ वैशाखदेखि धरहरा चढ्नका खुला गर्ने योजना भएपनि ठेकेदारले समयमै काम नगर्दा समस्या भएको पुनर्निर्माण इकाइ प्रमुख कर्णले बताए ।

गत वर्ष काम नसकिंदै हतार–हतार लिफ्ट जोडेर उद्घाटन गर्दा धरहराको भर्‍याङ नै बनिसकेको थिएन । अहिले पनि प्रविधि जडानसम्बन्धी काम चलिरहेको छ । संग्रहालय निर्माणको काम अझै धेरै बाँकी छ ।

सुन्धाराको पुनर्निर्माण भइसकेको छैन । बगैंचा निर्माण गरेर पार्क पनि बनाउन बाँकी नै छ । सजावटका अनेक कार्यहरु पनि गर्नुपर्नेछ । भत्किएको पुरानो धरहरालाई प्रवलीकरण गर्न नै बाँकी छ ।

विभागले सबै काम सकेपछि सम्पूर्ण संरचना काठमाडौं महानगरपालिकाको जिम्मा लगाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?