+
+

अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार गीतकार किरण खरेललाई

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १२:०३
गीतकार किरण खरेल । फाइल तस्वीर

काठमाडौं । अम्बर गुरुङ राष्ट्रिय संगीत पुस्कार गीतकार किरण खरेललाई अर्पण गरिने भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको स्मृति एवं सम्मानमा यो पुरस्कार स्थापना भएको हो ।

पोखरेली युवा सांस्कृतिक परिवारद्वारा स्थापित उक्त पुरस्कार पहिलोपटक खरेललाई प्रदान गर्न लागिएको हो । नेपाली गीत संगीतका धरोहर, नेपाली राष्ट्रगानका संगीतकार, अम्बर गुरुङ राष्ट्रिय संगीत कोषको स्थापना गरिएको छ । यही कोषबाट नेपाली सांगीतिक क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई पुरस्कार समर्पण गर्ने प्रावधानअनुसार परिवारले योजना बनाएको संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले बताए ।

संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली संगीतको विकासमा उत्प्रेरणात्मक योगदान पुगोस् भन्ने अभिप्रायले स्थापित अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार संस्थाद्वारा पहिलोपटक नेपाली गीत लेखनको क्षेत्रमा छ दशकभन्दा बढी समयदेखि अनवरत रुपले साधनारत ज्येष्ठ गीतकार खरेललाई समर्पण गरिने जानकारी गराउँछौं ।’

अध्यक्ष पौडेलका अनुसार गुरुङ राष्ट्रिय पुरस्कारको राशी दुई लाख रुपैयाँ नगद र सम्मानपत्र हुनेछ । पुरस्कार प्रत्येक दुई वर्षमा समर्पण गरिनेछ । पुरस्कार वितरण समारोह आगामी वैशाख १६ गते पोखरामा गरिने भएको छ । ‘करिब पाँच दशकदेखि नेपाली साहित्य, संगीत र कला क्षेत्रमा क्रियाशील यस संस्थाद्वारा स्थापित महत्त्वपूर्ण पुरस्कारद्वारा नेपाली संगीतकर्मी एवं संगीतप्रेमी समस्त महानुभावहरूले खुसी र गर्वबोध गर्नेछन् भन्ने हामीले अपेक्षा गरेका छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

वि. सं. १९९५ मा काभ्रेको खरेल थोकमा जन्मिएका खरेल नेपाली गीत संगीत क्षेत्रका सदावहार सर्जक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?