+
+

ठेक्काको म्याद सकिंदा पनि आएन भरतपुर सिटी हलको फाइनल डिजाइन !

सुवास पण्डित सुवास पण्डित
२०७९ चैत १८ गते ८:२३

१८ चैत, चितवन । नेपालको भौतिक पूर्वाधारको कामको गति र प्रकृति कस्तो हुन्छ भन्ने कुरा हेर्न चितवनको भरतपुरमा बन्दै गरेको सिटी हललाई हेरे पुग्छ ।

सिटी हलको ठेक्काको म्याद सकिंदासम्म सहरी विकास तथा भवन निर्माण विभागले हलको फाइनल डिजाइन गरेर दिएको छैन ।

विद्युत खानेपानी र रुख कटानको काम अर्थात साइट क्लियर नगरीकन सडकको ठेक्का सडक विभागले लगाउँदै आएको पाइन्छ भने सहरी विकास तथा भवन निर्माण विभागले अन्तिम डिजाइनविनै भवनहरुको ठेक्का आह्वान गरेर ठेक्का सम्झौता गर्छ ।

चितवनको भरतपुरमा निर्माण भैरहेको सिटी हलको ठेक्का सम्झौता अवधि (२७ महिना) गत फागुनमा सकियो तर निर्माणको जिम्मा लिएको इण्डो सगुन रौताहा जेभी रूपन्देहीले अहिलेसम्म अन्तिम डिजाइन नपाउँदा थप काम कसरी अगाडि बढाउने भनेर अन्योलमा परेको छ ।

ठेक्का सम्झौताका बेलामा नै दिनुपर्ने अन्तिम डिजाइन सम्झौता अवधि सकिंदासम्म नपाएको गुनासो निर्माण कम्पनीको छ ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १० मा बाइपास सडकसँग जोडिएको जिल्ला समवन्य समिति पछाडि रहेको चार बिगाहा चार कठ्ठा जग्गामा निर्माणाधीन सिटीहलको लागत ७७ करोड ७७ लाख छ । समय थपिँदा मूल्यमा पनि भेरिएन हुने देखिएको छ

निर्माण कम्पनीका इन्जिनियर प्रविन गुरागाईंका अनुसार ठेक्का अवधि सकिन भन्दा ८/१० दिन अगाडि मात्रै सघन शहरी तथा भवन निर्माण आयोजनाले सव डिजाइन दिएको छ अझै फाइनल डिजाइन दिएको छैन ।

‘डिजाइन नै फाइनल नभई कसरी काम गर्ने, बीचमा यतिकै काम होल्ड गरेर बसियो, अहिले पनि फाइनल डिजाइन आउनै बाँकी छ,’ इन्जिनियर गुरागाईले गुनासो गर्दै भने, ‘समयमा नै काम सकेन भनेर आलोचना र गाली खाने काम त हाम्रै हुन्छ ।’

सिटी हलको अहिलेसम्म करीव ५० प्रतिशत काम सकिएको छ । अझै आधा काम बाँकी नै छ । ठेकेदार कम्पनीले ठेक्काको म्याद १ वर्ष थप्न पत्र लेखेको छ तर म्याद थपको काम बाँकी नै छ । सिटी हलमा बन्ने ३ वटा गेटको डिजाइन पनि आएको छैन ।

निर्माण कम्पनीले हलको बाहिरी कम्पाउण्डको पर्खाल मात्रै लगाएर काम रोकिरहेको छ । इन्जिनियर गुरागाईका अनुसार मुख्य रुपमा भवनको ट्रसको डिजाइन नआएर काम नहुँदासम्म भित्री भागको काम पनि गर्न मिल्दैन ।

ट्रसको डिजाइन आएपछि भारतमा सोही अनुसारको अर्डर दिएर बनाएर ल्याउनुपर्ने हुँदा त्यसले पनि समय लिन्छ । ‘नेपालमा त्यो ट्रस बन्दैन, भारतमा नै अर्डर गरेर बनाउने र ल्याएर फिट गर्ने हो,’ इन्जिनियर गुरागाईले भने, ‘ट्रस नहालेसम्म भित्री काम गर्न समस्या हुन्छ ।’

आयोजनाले मेकानिकल, इलेक्टि्रकल र प्लम्विङ्गको डिजाइन ढिला गरी उपलब्ध गराएकोले अब बल्ल काम सुरु गर्ने तयारी कम्पनीको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले सवै डिजाइन फाइनल गरेर दिएको दाबी गरे । ‘काममा केही ढिला भएको हो, तर हामीले दिनुपर्ने सबै डिजाइनहरु दिएका छौं,’ अर्यालले भने, ‘अब काम रोकिने स्थिति आउँदैन ।’

भरतपुर महानगरपालिकाको वडा नम्बर १० मा बाइपास सडकसँग जोडिएको जिल्ला समवन्य समिति पछाडि रहेको चार बिगाहा चार कठ्ठा जग्गामा निर्माणाधीन सिटीहलको लागत ७७ करोड ७७ लाख छ । समय थपिँदा मूल्यमा पनि भेरिएन हुने देखिएको छ ।

सभागृहमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधा हुनेछ भने तीन सय क्षमताको कन्फरेन्स हल, विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष रहने छ ।

चारवटा भर्‍याङ,आकर्षक स्टेज, रिहर्सल कक्ष पनि रहनेछ । मुख्य ‘ब्लक’ सात हजार वर्गमिटरमा हुनेछ । सिटी हलमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्याण्ड, बगैँचा हुनेछ ।

सवारी पार्किङका लागि २५७ गाडी र ३१७ मोटरसाइकल एवम् साइकल अट्ने पार्किङ स्थल छुट्टाइएको छ । २०७७ माघ १७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सिटी हलको शिलान्यास गरेका थिए ।

सभागृह बनेसँगै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ठूलादेखि सानासम्मका कार्यक्रम सिटीहलमा गर्न सकिने छ । आधुनिक र व्यवस्थित सिटी हलको अभावमा ठूला कार्यक्रम गर्न हुँदै आएको समस्याको समाधान हुने विश्वास गरिएको छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?