+
+

८ महिनादेखि त्रिवि सेवा आयोग अध्यक्षविहीन

नुनुता राई नुनुता राई
२०७९ चैत १८ गते १९:५९

१८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोग ८ महिनादेखि अध्यक्षविहीन छ । गत साउन १८ मा प्रा.डा. लालुप्रसाद पौडेलको पदावधि सकिएपछि आयोगले अर्को अध्यक्ष पाउन सकेको छैन ।

अध्यक्ष नियुक्त हुन नसक्दा लेक्चरर तथा प्राध्यापकहरुको परीक्षा सञ्चालन हुन सकेको छैन भने नयाँ विज्ञापन खोल्न पनि ढिलाइ भइरहेको त्रिवि सेवा आयोग प्रमुख केदारनाथ ढकाल बताउँछन् ।

करिब २ हजार ५०० कर्मचारीको विज्ञापन गर्न नपाउँदा काममा समेत प्रभाव पर्न थालेको प्रमुख ढकाल बताउँछन् । उनी भन्छन् ‘करिब पच्चिस सय कर्मचारीको दरबन्दी रिक्त छ । त्यसले दैनिक काममा प्रभाव पर्न थालेको गुनासो आउन थालेको छ । अध्यक्ष नभई हुने कुरा आउँदैन ।’

करिब त्यहि संख्यामा नयाँ शिक्षकहरुको पनि विज्ञापन गर्नुपर्ने तर अध्यक्ष नियुक्त हुन नसक्दा यी सबै कामहरु रोकिएको उनले बताए । राजनीतिक भागबन्डा नमिल्दा लामो समयदेखि आयोग अध्यक्ष बिहिन बन्नुपरेको एक कर्मचारी बताउँछन् ।

पौडेलको कार्यकाल सकिएपछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले विवादित व्यक्तिलाई आयोगको अध्यक्ष बनाउन खोजेको भन्दै विरोध भएपछि खुला विज्ञापनमार्फत नियुक्त गर्ने निर्णय अनुसार तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेल संयोजकत्वमा सिफारिस समिति बनेको थियो । उक्त सिफारिस समितिले सेवा आयोग अध्यक्षका लागि गरेको खुला दरखास्त आह्वानमा ३६ जनाको आवेदन परेको जनाएको थियो । तर आवेदन लिएपछिको प्रकृया भने अघि बढ्न सकेन ।

कुलपतिले शिक्षामन्त्रीको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने र समितिले सिफारिस गरेको आधारमा नियुक्त गर्ने व्यवस्था छ । कुलपति फेरिएपछि नयाँ शिक्षामन्त्री नियुक्त भएको केही दिनमा नै फेरि रिक्त हुन गयो । आयोगमा अध्यक्ष नियुक्तिको लागि अहिले नयाँ केही नभएको शिक्षा सचिव रामकृष्ण सुवेदीले जानकारी दिए । उनी भन्छन् ‘अब नयाँ कुलपति हुनुहुन्छ । तर आयोगमा अध्यक्ष नियुक्तिको लागि प्रकृया अगाडी बढेको छैन । अहिलेसम्म नयाँ केही भएको छैन ।’

नयाँ सरकार बनेसँगै गठबन्धन पनि फेरियो । एमाले माओवादीको सरकारले पनि आयोगको अध्यक्षको लागि चासो देखाएन । त्यसपछि नयाँ गठबन्धनको सरकार छ । अहिलेको सरकारले पनि आयोगमा अध्यक्ष नियुक्तिको लागि चासो देखाएको छैन । अध्यक्ष नहुँदा भइरहेको समस्याबारे त्रिवि कार्यकारी परिषद तथा कुलपतिलाई जानकारी गराएपनि प्रकृया अगाडी नबढेको सेवा आयोग प्रमुख ढकाल बताउँछन् । त्रिवि सुधार गर्नको लागि भन्दा पनि मेरो भागमा के भन्ने मानसिकता बोकेका व्यक्तिहरु सरकारको नेतृत्वमा भएकोले नियुक्तिमा ढिलाइ भइरहेको एक कर्मचारी बताउँछन् । उनी भन्छन् ‘विश्वविद्यालयको अवस्थाप्रति उनीहरुलाई चासो छैन । यस्ता भ्रष्टहरु सरकारको नेतृत्वमा भइन्जेल त्रिविको मात्रै होइन सबै निकायको हालत हुने यस्तै हो ।’

‘अब शिक्षा मन्त्रालयले मन्त्री पाएको छ । कुलपति तथा शिक्षामन्त्रीले विशेष प्राथमिकता दिनुहुन्छ भन्ने अपेक्षा गरेको छु ।’

त्रिवि सेवा आयोगले ८ महिना लाग्दा पनि अध्यक्ष नपाउँदा पनि प्राध्यापकहरुको विभिन्न संघसंगठन, कर्मचारी संघसंगठनहरु समेत मौन हुनु आश्चर्यजनक भएको उनी बताउँछन् । ‘पर्याप्त कर्मचारी नहुँदा काम सहजरुपमा भईरहेको छैन, दुई हजार भन्दा बढी विभिन्न तहका शिक्षक पदहरु रिक्त छन् । यस्तो हुँदा उनीहरुको पनि जिम्मेवारी हुनुपर्ने हो ।’ उनी अगाडी थप्छन् ‘तर राजनीति गर्न बनेको संघसंगठनले संस्थाको भलाई नसोच्ने रहेछ ।’

तर त्रिभुवन युनिभर्सिटी टिचर एसोसियसन (टुटा)का अध्यक्ष प्रा.डा.बसन्त अधिकारीले भने सबैले दवाव दिएकै कारण पूर्व प्रधानमन्त्रीले सिफारिस समिति गठन गरेको बताउँछन् । अहिले सिफारिस गर्ने सहकुलपति नै नहुँदा दवाव दिन जाने आधार नभएको उनको भनाई छ । त्रिवि सेवा आयोगमा लामो समयसम्म अध्यक्ष नियुक्ति नहुँदा विश्वविद्यालय झन खस्कँदै गएको बताउँछन् । उनी भन्छन्, ‘८ महिना भयो अध्यक्षविहीन भएको । शिक्षक, कर्मचारी दैनिक अवकास हुने तर नयाँ विज्ञापन नहुँदा सबैतिरको कामकाजमा प्रभाव परिरहेको छ जसले त्रिवि झन खस्काउँदै लगिरहेको छ ।’ अध्यक्ष नियुक्ति धेरै ढिला भइसकेकोले सरकारले अघिल्लै सिफारिस समितिले लिएको आवेदनबाट नियुक्ति दिने प्रकृया अगाडी बढाउनुपर्ने बताउँछन् ।

नवनिर्वाचित स्ववियु सभापति श्यामराज ओझा योग्यता, क्षमताको आधारमा त्रिवि सेवा आयोगको अध्यक्ष छिटो नियुक्ति हुनुपर्छ भनेर झकझकाइरहे पनि प्रकृया अघि नबढेको बताउँछन् । उनी भन्छन् ‘कुलपति तथा अब आउने शिक्षामन्त्रीले पहिलो प्राथमिकतामा राखेर काम गर्नुहुन्छ होला भन्ने अपेक्षा छ । हाम्रो पदस्थापन भइसकेपछि कार्ययोजनाको रुपमा योग्य व्यक्ति छिटो भन्दा छिटो नियुक्तिका लागि अझ सशक्त रुपमा दबाव दिन्छौं ।’

त्रिविका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटा अध्यक्ष नहुँदा स्थगित भएका शिक्षक तथा कर्मचारीको परीक्षा रोकिनुका साथै नयाँ विज्ञापनको सबै काम रोकिएको बताउँछन् । अध्यक्ष नियुक्तिका लागि कुलपति (प्रधानमन्त्री) लाई पटक पटक अनुरोध गरेको उनी बताउँछन्, ‘नयाँ कुलपति आउनुभएपछि शुरुमा नै जानकारी गराएका थिएँ । बीचमा केही दिनका लागि शिक्षामन्त्री आउनुहुँदा दुबैजनालाई सेवा आयोगमा चाँडो अध्यक्ष नियुक्ति गर्न अनुरोध गरेको थिएँ । शिक्षामन्त्री खाली भएपछि पनि एक पटक कुलपति ज्यूलाई जानकारी गराएको थिएँ ।’

शुक्रबार मात्र शिक्षा मन्त्रालयले मन्त्री पाएकोले अब कुलपति तथा शिक्षामन्त्रीले विशेष प्राथमिकताका साथ त्रिवि सेवाको अध्यक्ष नियुक्तिका लागि प्रकृया अघि बढाउने अपेक्षा उनले गरे । ‘अब शिक्षा मन्त्रालयले मन्त्री पाएको छ । कुलपति तथा शिक्षामन्त्रीले विशेष प्राथमिकता दिनुहुन्छ भन्ने अपेक्षा गरेको छु ।’

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?