+
+

महासंघको टोलीले भेट्यो अर्थमन्त्री, तरलता प्रवाह गरी ब्याजदर घटाउन माग

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १४:१७

१९ चैत, काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी टोलीले भेट गरी अर्थतन्त्रको अवस्थाबारे ब्रिफ्रिङ गरेको छ । आइतबार बिहान अर्थ मन्त्रालयमा भएको भेटमा अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिंगो निजी क्षेत्रका तर्फबाट अर्थतन्त्रको अवस्थाबारे ब्रिफ्रिङ गरेका थिए ।

भेटवार्तामा अध्यक्ष गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनु पर्ने सुझाव दिएका छन् । यसका लागि केन्द्रीय बैंक र सरकारले संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने उनको सुझाव थियो ।

सहकारी र लघुवित्तमा तरलता बढाउने गरी काम अघि बढाउन पनि उनले जोड दिए । सरकारी खर्च निक्कै सुस्त रहेको भन्दै त्यसलाई बढाउन पनि गोल्छाले सुझाव दिए । अहिले करिब २४ प्रतिशत मात्र रहेको सरकारी खर्चलाई विस्तार गर्न उनको आग्रह थियो ।

अहिले सरकारसँग राजस्व कम उठेको छ, चालु खर्च धान्न मुस्किल पर्न थालेको अवस्था
छ । यसका लागि बाहिरी ऋण उठाएर भएपनि खर्च गर्नुपर्ने उनको सुुझाव थियो । यसरी लिएको ऋण, विकास खर्च गर्नलाई मात्र प्रयोग गर्नुपर्ने उनले बताए । नवनियुक्त अर्थमन्त्रीसँगको भेटमा अध्यक्षले राज्यसंयन्त्र पूर्ण रुपमा प्रयोग गरेर सीमाबाट हुने अवैध आयात रोक्नुपर्ने र त्यसले राजस्व वृद्धिमा समेत सहयोग पुर्‍याउने सुझाव उनको छ ।

अध्यक्ष गोल्छाले विदेशबाट पैसा भित्र्याउन दाताहरुसँग पहल गर्नुपर्ने बताउँदै स्थानीय दाताहरुसँग पनि सम्मेलन गर्न आग्रह गरे । निजी क्षेत्रको मनोबल उकास्ने खालका सन्देश प्रवाह गर्न अध्यक्षको जोड थियो । राजस्व उठाउने बहानामा निजी क्षेत्रलाई त्रसित पार्न नहुने भन्दै मनोबल उच्च बनाएर अगाडि बढ्ने वातावरण तयार पार्नु पर्ने उनको सुझाव थियो ।

नवनियुक्त अर्थमन्त्री डा. महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिवद्धता रहेको बताए । उनले यसमा निजी क्षेत्रका छाता संस्थाको सुझाव र सहकार्यबाट आफू अगाडि बढ्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?