+
+

राप्ती गाउँपालिकामा तिलगंगा आँखा उपचार केन्द्रको सेवा सुरु, ३१४ जनाको नि:शुल्क शल्यक्रिया

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते १२:२५

२१ चैत, दाङ । काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा दाङको राप्ती गाउँपालिकामा स्थापना गरिएको आँखा उपचार केन्द्र सन्चालनमा आएको छ । राप्ती गाउँपालिकाको सिसहनियाँमा स्थापना गरिएको ‘तिलगंगा सर्जिकल आँखा केन्द्र’ले मोतीबिन्दुको निःशुल्क सल्यक्रिया गरेर सेवा सुरु गरेको हो ।

दाङको राप्ती गाउँपालिकामा तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा आँखा उपचार केन्द्र स्थापना गर्ने सम्झौता गत कात्तिक १६ गते भएको थियो । सम्झौता पत्रमा तिलगंगा आँखा प्रतिष्ठानको कार्यकारी निर्देशक एवम् वरिष्ठ आँखा रोग विशेषज्ञ डा. रिता गुरुङ र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले हस्ताक्षर गरेका थिए । सोही सम्झौता अनुसार राप्ती गाउँपालिकाको सिसहनियाँ स्वास्थ्य चौकी रहेको स्थानमा आँखा उपचार केन्द्र सन्चालनमा ल्याइएको हो ।

‘आँखाका बिरामीहरुको अपरेसनबाटै हामीले सेवा सुरु गरेका छौं,’ गाउँपालिका अध्यक्ष विष्टले भने, ‘त्यसअघि राप्ती गाउँपालिकाका नौ वटै वडा र छिमेकी गढवा गाउँपालिकामा पनि शिविर सन्चालन गरेर स्क्रिनिङ गरेका थियौं ।’

आँखा शिविरबाट २ हजार २८० जनाले सेवा लिएकामध्ये ३१४ जनाको मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामी फेला परेका थिए । ती ३१४ जनामध्ये आइतबार र सोमबार मात्रै १४० जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया भएको छ । बाँकीको शल्यक्रिया गर्ने क्रम जारी छ । ‘हामीले आँखाका बिरामीहरुलाई निःशुल्क सेवा दिइरहेका छौं,’ उनले भने ।

आँखा उपचार केन्द्रबाट राप्ती गाउँपालिकाका साथै छिमेकी गढवा गाउँपालिका र लमही नगरपालिकाका बासिन्दाले समेत सेवा लिएको गाउँपालिका अध्यक्ष विष्टले जानकारी दिए ।

अस्पतालका लागि गाउँपालिकाले भवन र जग्गा उपलब्ध गराएको छ भने तिलगंगा आँखा प्रतिष्ठानले उपचारका लागि आवश्यक उपकरण र प्राविधिक जनशक्ति उपलब्ध गराएको छ । एक वर्षसम्म प्रतिष्ठानले आफ्नै जनशक्तिबाट सेवा दिनेछ र उनीहरुलाई तलबसमेत खुवाउने छ । एक वर्षपछि भने आँखा उपचार केन्द्रमा प्रयोग भएको उपकरण पालिकालाई नै हस्तान्तरण गर्ने छ । साथै त्यहाँको जनशक्ति व्यवस्थापन, उनीहरुको पारिश्रमिक लगायत सबै जिम्मा पालिकाको हुने सम्झौता पत्रमा उल्लेख छ । सम्झौतामा लेखिएअनुसार आँखा सम्बन्धी प्रवर्द्धनात्मक, प्रतिरोधात्मक र अनुसन्धानमुलक कार्यक्रम पनि सन्चालन हुने छ ।

राप्ती गाउँपालिका अध्यक्ष विष्टले तत्कालका लागि अहिले सिसहनियाँ स्वास्थ्य चौकी रहेको भवनमा आँखा उपचार केन्द्र स्थापना गरिए पनि भविष्यमा प्रदेशस्तरकै सुविधा सम्पन्न आँखा अस्पताल स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिए ।

तिलगंगा आँखा प्रतिष्ठानले स्थानीय पालिकाहरुसँगको सहकार्यमा विभिन्न पालिकामा आँखा उपचार केन्द्र स्थापना गर्दै आएको छ । यस्ता उपचार केन्द्र देशका विभिन्न ३२ स्थानमा खोलिसकिएको तिलगंगा आँखा प्रतिष्ठानका डा. मोहन श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?