+
+

सशस्त्र प्रहरी मुख्यालय पुगे गृहमन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २१ गते १६:५१

२१ चैत, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरी बलको हल्चोकस्थित मुख्यालयमा पुगेर निरीक्षण भ्रमण गरेका छन् । सोही अवसरमा उनले सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत छलफल तथा निर्देशन कार्यक्रमको समापन समेत गरेका छन् ।

श्रेष्ठले सशस्त्र प्रहरी बलले नागरिकको जिउधनको सुरक्षा, सीमा सुरक्षा, राजश्व सुरक्षा, औद्योगिक सुरक्षा कायम गर्न अहोरात्र खटिएर सेवा प्रदान गर्न गरेको कार्य सराहनीय रहेको बताउँदै राज्यले सुम्पिएका जिम्मेवारीहरु साथै भैपरि आउने विषम परिस्थितिहरुमा समेत आफूलाई अब्बल साबित गराएको बताए ।

आफ्नो क्षमता, व्यावसायिकता र उच्च पेशागत दक्षता प्रदर्शन गरी राज्यको अब्बल सुरक्षा निकायको रुपमा आफ्नो पहिचान स्थापित गर्न सफल रहेको भन्दै उनले खुशी व्यक्त गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार श्रेष्ठले प्रधान कार्यालयमा देशभरिका वरिष्ठ अधिकृतहरु भेला गरेर छलफल गर्ने विषय प्रशंसनीय रहेको बताउँदै स्वच्छ, निष्पक्ष र छिटोछरितो सेवा प्रवाहमार्फत मुलुकको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन अझ मिहेनतका साथ कार्यसम्पादन गरी भ्रष्टाचार र आर्थिक अनुशासनका सवालमा कुनै पनि सम्झौता नगरी निर्मम रुपमा प्रस्तुत हुन समेत निर्देशन दिए ।

उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले सशस्त्र प्रहरी बल, नेपालसंग सम्बन्धित कानूनी विषयहरु (ऐन, नियमावली, कार्यविधि, मापदण्ड) लाई बदलिँदो परिवेशमा समसामयिक परिमार्जन, पुनरावलोकन गर्ने र आवश्यकता अनुसार नयाँ कानुन तर्जुमा गर्नुपर्ने बताउँदै संगठनलाई प्रभावकारी ढंग कार्यसम्पादन गर्न पूर्णरुपमा सहयोग हुने बताए ।

मौजुदा दरबन्दी संरचनाको पुनर्संरचना गर्ने गरी संगठन तथा व्यवस्थापन गर्ने कार्यलाई अगाडी बढाउन गृहमन्त्रालयको आवश्यक पहलकदमीमा कुनै कमी नहुने समेत उनले बताए ।

उनले सशस्त्र प्रहरीले न्यून सेवा सुविधा र अपर्याप्त स्रोत साधनका बाबजुद कतिपय ठाउँमा भाडाको घर, अस्थाई संरचनामा बसेर, कतिपय ठाउँमा जीर्ण अवस्थाका आवास तथा भवनहरुबाट नागरिकलाई सेवा र सीमाको सुरक्षा गरिरहेको अवस्था विद्यमान रहेको हुँदा यस्ता समस्याहरु समाधान गरी भौतिक पूर्वाधार निर्माण र संगठनको क्षमता बढाउने विषयमा गृहमन्त्रालयको तर्फबाट आवश्यक सहयोग रहने बताए ।

सशस्त्र प्रहरी बल नेपाललाई सीमाको डेडिकेटेड फोर्स बनाउन अन्तर्राष्ट्रिय मापदण्ड सहितको थप बिओपीहरुको स्थापना, मौजूदा बिओपीहरुको स्तरवृद्धि गर्दै समग्र संगठनलाई नै प्रविधिमैत्री एवं चलायमान बनाउनु पर्ने उल्लेख गर्दै हिमाली क्षेत्रमा खटिने सुरक्षाकर्मीको लागि मापदण्ड अनुसारको पोशाक, सशस्त्र प्रहरी कर्मचारीलाई उपलब्ध हुने रासनको न्यायोचित वितरण तथा अन्य सेवासुविधामा उचित ध्यान दिने बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षा आफैँमा जटिल, संवेदनशील र चुनौतीपूर्ण विषय भएको बताउँदै अन्य सुरक्षा निकायहरुसँग निकट समन्वयका साथ राज्य प्रदत्त कार्यादेशहरुलाई कुशलतापूर्वक बहन गर्न दत्तचित्त रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?