२५ वैशाख, जनकपुरधाम । सर्लाहीको बागमती नगरपालिकाको कर्महियामा सुकुमवासीहरूले प्रदर्शन गरेका छन् । भूमि अधिकार मञ्च तथा अखिल नेपाल सुकुमवासी महासंघको आयोजनामा त्यहाँ प्रदर्शन भएको हो ।
प्रदर्शनमा डोजर आतंक बन्द गर, आवासको हक प्रदान गर, हामीलाई यस्तो सरकार चाहिँदैनसहितका नारा लागेका थिए ।
अखिल नेपाल सुकुमवासी महासंघका अनुसार सर्लाहीको बागमती नगरपालिकामा मात्रै करिब ९ हजारको संख्यामा भूमिहीन सुकुमवासी छन् ।
प्रदर्शनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए । उनले प्रदर्शनपछिको कोणसभालाई सम्बोधन समेत गरे । सम्बोधन क्रममा नेता श्रेष्ठले सरकारले सुकुमवासीलाई मान्छेलाई जस्तो पनि व्यवहार नगरेको टिप्पणी गरे ।

‘सुकुमवासी मान्छे होइनन्, नागरिक होइनन् भन्ने सरकारलाई सुकुमवासी पनि भन्नसक्नुपर्छ– तिमी पनि सरकार होइनौं,’ उनले भने । नेपाली नागरिकलाई संविधानले आवासको हक दिएको बताउँदै उनले सुकुमवासी बसिरहेको ठाउँबाट हटाउने काम गैरकानुनी रहेको जिकिर गरे ।
नेता श्रेष्ठले सरकारविरुद्ध प्रतिरोध अभियान चलाउन पनि सबै सुकुमवासीसँग आग्रह गरे । सत्य र न्याय तत्काल कमजोर देखिएपनि अन्तमा सत्यकै विजय हुने भन्दै उनले ढाढस दिए ।
‘सबैजसो निरंकुश सत्ता निर्वाचनबाटै उदाउँछन्, तमाम विश्वव्यापी दृष्टान्तले त्यो देखाउँछ,’ उनले भने, ‘जनविश्वासलाई अवमूल्यन गरेर अगाडि बढ्ने निरंकुश सत्ता आधुनिक विश्वले स्वीकार गर्दैन ।’
राज्यलाई अत्यन्तै आवश्यक परेको अवस्थाबाहेक सुकुमवासी जहाँ बसेका छन् त्यहीको लालपूर्जा दिनुपर्ने उनले बताए । ‘राज्यको भूमि सुकुमवासीको पनि भूमि हो, आफुले खनीखोस्री गरेको, परिश्रम गरेको ठाउँ नै उनीहरूलाई दिनुपर्छ’, श्रेष्ठले भने ।
प्रतिक्रिया 4