+
+

संसदीय सुनुवाइ समितिमा ७ दलका सांसद मात्र रहने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते १७:०६

२२ चैत, काठमाडौं । संसदीय सुनुवाइ समितिमा ७ वटा राजनीतिक दलका सांसद मात्र रहने भएका छन् । १५ सदस्यीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रिय सभाका ३ सदस्य रहने व्यवस्था संघीय संसद संयुक्त कार्यसम्पादन नियमावलीमा छ ।

दलहरुका बीचमा भएको अनौपचारिक सहमतिअनुसार सिट संख्याका आधारमा दलबाट प्रतिनिधित्व गर्ने सांसद संख्या तय गरिएको हो । संघीय संसद सचिवालयका एक अधिकारीका अनुसार हाल प्रतिनिधिसभामा २७२ सांसद छन् ।

२७२ सांसदबाट १२ जना छनोट गर्दा सरदर २२.६६ प्रतिनिधिसभा सदस्य बराबर एक जना सदस्य सुनुवाइ समितिमा चयन हुन्छन् । जस अनुसार प्रतिनिधिसभामा ८८ सदस्य रहेको कांग्रेसबाट चार जना सदस्य सुनुवाइ समितिमा रहनेछन् ।

प्रतिनिधिसभामा ७८ सांसद रहेको एमालेले तीन सदस्य पाउँछ । त्यस्तै ३२ सिट रहेको माओवादी केन्द्र र १९ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), १४ सिट रहेको राप्रपा र १२ सिट रहेको जसपाले एक/एक सदस्य पाउनेछन् ।

यस अनुसार सुनुवाइ समितिमा रहने ११ सदस्य तय हुन्छ । बाँकी १ सिट एकीकृत समाजवादीलाई दिने अनौपचारिक सहमति दलहरुका बीचमा भएको हो । एकीकृत समाजवादीको उपस्थिति प्रतिनिधिसभामा ०.४ प्रतिशत छ ।

एकीकृत समाजवादीले प्रतिनिधिसभामा ०.४ प्रतिशत उपस्थितिका आधारमा एक सदस्य पाउने तर, ३.४ प्रतिशत हुँदा आफूले चार सदस्य किन नपाउने भन्ने एमाले सांसदहरुको प्रश्न छ । तथापि, एकीकृत समाजवादीलाई एक सदस्य दिने विषयमा ठूलो मतभेद नरहेको एमालेकै सांसदहरुले पनि स्वीकार गरेका छन् ।

दलीय उपस्थितिका आधारमा राष्ट्रिय सभाबाट पनि यी बाहेक अन्य दलबाट सुनुवाइ समितिमा प्रतिनिधित्व हुनसक्ने अवस्था नरहेको संघीय संसद सचिवालयका कर्मचारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?