+
+

कोरोना महामारीको अर्को लहरको जोखिम

नेपालमा अहिले नै कोरोना महामारीको अर्को लहर आउँछ कि आउँदैन भन्ने यकिन गर्न आगामी केही हप्ताको तथ्यांक हेर्नुपर्ने विज्ञहरू बताउँछन् । यद्यपि, भारतमा पनि संक्रमित संख्या बढ्दै गएकाले नेपालमा पनि फैलिने उनीहरु अनुमान गर्छन् ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०७९ चैत २३ गते २२:४६

२२ चैत, काठमाडौं । शून्यमा झरेको कोरोना संक्रमितको संख्या दिनमै १०० हाराहारी पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ८५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा संक्रमणदर ६ प्रतिशतभन्दा माथि छ । जबकि २ चैतमा नेपालमा कोरोना संक्रमित नै भेटिएका थिएनन् ।

विज्ञहरूले भने यसलाई कोरोना संक्रमणको अर्को लहरको पूर्व संकेतको रूपमा हेरेका छन् । अहिले कोरोना संक्रमण नयाँ लहरको सुरुवाती चरणमा प्रवेश गरेको संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीले बताए । ‘कोरोनाभाइरसको संक्रमण समुदायस्तरमा तीव्र गतिमा फैलिरहेको छ । ओमिक्रोनको सब–भेरियन्ट एक्सबीबी.१.१६ सबैभन्दा बढी फैलिने भएकाले अबको तीन–चार हप्तामा संक्रमणले उच्चबिन्दु छुने आकलन गर्न सकिन्छ’, डा. अधिकारीले भने ।

अहिले नेपालमा ओमिक्रोनको सब–भेरियन्ट एक्सबीबी.१.१६ सबैभन्दा बढी सक्रिय छ । स्वास्थ्य मन्त्रालयका अनुसार चैत महिनामा संकलन गरिएका २४ वटा नमूनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमूनामा ओमिक्रोन भेरियन्ट एक्सबीबी.१.१६ नै पुष्टि भएको छ ।
एक्सबीबी.१.१६ हालसम्मकै संक्रामक मानिन्छ । जुन तीब्र गतिमा एक व्यक्तिबाट अर्कोमा सर्ने क्षमताको हुन्छ ।

कोरोनाभाइरसको हरेक नयाँ भेरियन्ट बढी संक्रामक हुने र भाइरस फैलिएको बेला त्यसले अरू सबै श्वास–प्रश्वासबाट फैलने जीवाणुलाई विस्थापित गर्दै जाने अर्का संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी बताउँछन् ।

‘अस्पतालमा आएका बिरामीलाई सोध्दा घरमा भएका अन्य व्यक्ति पनि उस्तै लक्षण लिएर बसिरहेको पाइएको छ । त्यसकारण पनि रुघाखोकी हुनेहरू कोरोना संक्रमित नै हुन् भन्ने अनुमान गर्न सकिन्छ’, डा. सुवेदीले अनलाइनखबरसँग भने, ‘अहिले देखिएका पूर्व संकेतहरूले पुनः संक्रमणको लहरतिर उन्मुख भएको आकलन गर्न सकिन्छ ।’

ओमिक्रोनको सब–भेरियन्ट एक्सबीबी.१.१६ बढी संक्रामक रहेका कारण रोग प्रतिरोधात्मक क्षमताले नियन्त्रण गर्न कठिन हुने संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीको तर्क छ । उनका अनुसार नयाँ भेरियन्ट तुलनात्मक रूपमा कम घातक र बढी संक्रामक छ ।

पछिल्लो दिनमा नेपाल–भारतको प्रवेश बिन्दुमा संक्रमितको संख्या बढिरहेका कारण अर्को लहरको जोखिम रहेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास बताउँछन् ।

तर, अब आउने लहरले पार्ने प्रभावको बारेमा अहिले यकिन गर्न नसकिने डा. दासको भनाइ छ । ‘चौथो लहरमा सुरुवाती दिनमा संक्रमण बढेजस्तो भए पनि पछि संक्रमण फैलिन पाएन । जनस्वास्थ्यका मापदण्ड, खोपको पहुँच लगायत विषयले पनि संक्रमण रोक्न मद्दत गर्ने हुँदा अहिले नै लहरको आकलन गर्न सकिंदैन’, उनी भन्छन् ।

नेपालमा अहिले नै कोरोना महामारीको अर्को लहर आउँछ कि आउँदैन भन्ने यकिन गर्न आगामी केही हप्ताको तथ्यांक हेर्नुपर्ने विज्ञहरू बताउँछन् । यद्यपि, भारतमा पनि संक्रमित संख्या बढ्दै गएकाले नेपालमा पनि सहज रूपमा फैलिने उनीहरु अनुमान गर्छन् ।

तीन सातामै १७ गुणा बढ्यो संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गत मंगलबार एन्टिजेन र पीसीआर गरी १ हजार ११७ नमूना परीक्षण गर्दा ८० जनामा संक्रमण पुष्टि भयो । जुन कुल परीक्षणमध्ये ७.१६ प्रतिशत हो । १ चैतमा ९५० नमूना परीक्षणमा ४ जना (०.४२ प्रतिशत) र २ चैतमा १ हजार १०१ नमूना परीक्षणमा शून्य संक्रमण थियो । तीन सातामै कोरोना संक्रमणको दर १७ गुणाले बढेको देखिन्छ ।

साप्ताहिक तथ्यांक विश्लेषण गर्दा नेपालमा कोरोनाभाइरसको संक्रमणदरसँगै सक्रिय संक्रमितको संख्या उकालो लाग्दै गएको छ । ९ चैतमा ३० सक्रिय संक्रमित रहेकोमा बिहीबारसम्म आइपुग्दा ३५८ पुगेको छ ।

ओमिक्रोनको सब–भेरियन्ट एक्सबीबी.१.१६ बढी संक्रामक रहेका कारण रोग प्रतिरोधात्मक क्षमताले नियन्त्रण गर्न कठिन हुने संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीको तर्क छ । उनका अनुसार नयाँ भेरियन्ट तुलनात्मक रूपमा कम घातक र बढी संक्रामक छ ।

‘भारतको तथ्यांक हेर्दा नयाँ भेरियन्टका कारण धेरै संक्रमितलाई गम्भीर बनाएको छैन । अस्पताल भर्ना हुने दर धेरै नै न्यून छ’ डा. अधिकारीले भने, ‘एक्सबीबी.१.१६ डेल्टाभन्दा कम घातक छ । तर, छिटो फैलिने भएका कारण सतर्कता भने अपनाउनुपर्छ ।’

संक्रामक रोग विशेषज्ञ डा. सुवेदी पनि पहिलाका भेरियन्ट झैं एक्सबीबी.१.१६ पनि कडा नहोला भन्ने अनुमान गर्ने आधार रहेको बताउँछन् । कतिपय विज्ञहरू भने खोप लगाएको मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्दै गएकाले पनि संक्रमण फैलिने अनुमान लगाउँछन् । कोरोना विरुद्धको खोपको प्रभावकारिता ६ महिनाबाट क्रमशः घट्दै जाने र पहिला विकसित भएका खोपको प्रभावकारिता नयाँ भेरियन्टका लागि कम हुँदा संक्रमणले तीव्रता लिने देखिन्छ ।

विज्ञका अनुसार मानिसमा भाइरस संक्रमण भएपछि रोग प्रतिरोधात्मक क्षमता बन्छ । तर, भाइरसको नयाँ भेरियन्टले पुरानो भेरियन्टको रोग प्रतिरोधात्मक क्षमता छल्ने सामथ्र्य राख्छ । जसका कारण अर्को लहर देखिन्छ ।

‘अहिले जति नयाँ भेरियन्ट आएका छन् । पहिलाको भन्दा चाँडै सर्ने र खोपको प्रभावकारिता घटाउने खालका छन् । भाइरस पनि स्वरुप चाँडै परिवर्तन गर्ने खालका छन्’ डा. सुवेदीले भने, ‘बढी संक्रमणशील भाइरस भएकाले काठमाडौं लगायत ठूलो जनघनत्व भएका शहरमा चाँडै फैलिन्छ ।’ हरेक ६–७ महिनामा कोरोना महामारीको नयाँ लहर आएको नेपालको अनुभव छ । त्यसैले अहिले नयाँ लहरको नजिक रहेको जनस्वास्थ्यविद्हरूको भनाइ छ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले पछिल्लो दिनमा संक्रमणदर बढ्दै जानु चिन्ताजनक भएको बताउँछन् । ‘दैनिक १–२ जनामा पुष्टि हुने गरेकोमा ६० भन्दा माथि लाग्नु चुनौतीको विषय बनेको छ । भारतबाट नेपाल आउनेहरूका कारण सीमा नाका क्षेत्रमा संक्रमण दर क्रमशः बढ्न थालेको छ । हामीले सीमा नाकामा कडाइ तथा अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएका छौं’, डा. दासले भने ।

नेपालमा अर्को लहर आउन सक्ने आधार के ?

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार (एक्सबीबी.१.१६) ओमिक्रोनको हाइब्रिड भाइरस हो । यो ओमिक्रोन सब–भेरियन्टबाट मिसमास भएर विकसित भएको नयाँ सब–भेरियन्ट हो ।

कोरोना महामारीको पहिलो, दोस्रो, तेस्रो र चौथो लहरलाई विश्लेषण गर्दा भारतमा संक्रमण उच्च बिन्दुमा पुगेको एक महिनामा नेपालमा पनि संक्रमणको नयाँ लहर देखा परेको छ । भारतमा केही दिनदेखि कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहेको छ । यही कारण नेपालमा निकट भविष्यमा संक्रमण फैलिन सक्ने विज्ञहरूको भनाइ छ ।

कोरोना महामारी फैलिन सक्ने आधार

पहिलो : भारतमा संक्रमणले गति लिनु ।
दोस्रो : सीमा नाकामा संक्रमित पुष्टि हुने संख्या बढ्नु ।
तेस्रो : बुस्टर डोज लगाउने संख्या कम ।
चौथो : जनस्वास्थ्यका मापदण्ड पालना नगर्नु ।

धुलिखेल अस्पतालको प्रयोगशाला प्रमुख डा. राजीव श्रेष्ठ ओमिक्रोन सब–भेरियन्ट एक्सबीबी.१.१६ धेरै गुणा रफ्तारमा फैलिने भएकाले संक्रमित संख्या व्यापक बढिरहेको बताउँछन् ।

‘ओमिक्रोन बढी संक्रामक, तर कम घातक भएको कारण पनि मानिस परीक्षणको दायरामा आएका छैनन्’ डा. श्रेष्ठले भने, ‘तर घरमा पाँच जनामा कोरोना लक्षण देखिएको छ भने पनि एक जनालाई परीक्षण गर्दा संक्रमणदर रोक्न ठूलो मद्दत गर्छ ।’

अहिले कोरोना संक्रमण न्यून भएका कारण धेरै जनामा संक्रमण नदेखिएको डा. श्रेष्ठको भनाइ छ । ‘आज ८५ जना बढीमा संक्रमण पुष्टि भएको देखिन्छ । पर्याप्त परीक्षण भएको अवस्थामा यो संख्या दशौं गुणाले बढ्न सक्छ’ उनी भन्छन् ।

लक्षण सुरु भएको दुई–तीन दिनपछि मात्रै पोजेटिभ

पछिल्लो समय कोरोना संक्रमणको लक्षण सुरु भएको दुई–तीन दिनपछि मात्रै पोजेटिभ देखिन थालेको चिकित्सकहरू बताउँछन् । यस्तै, ५–६ दिनमै एन्टिजेन नेगेटिभ पनि देखाउँछ । संक्रामक रोग विशेषज्ञ डा. सुवेदी लक्षण सुरु भएको ४८ घन्टापछि मात्रै एन्टिजेन जाँच गराउन सुझाव दिन्छन् ।

‘धेरै मानिस परीक्षणको दायरामा आएका हुँदैनन् । कोरोना संक्रमण पहिला नै भइसकेको र खोप लगाइसकेकाले पुनः संक्रमण हुँदैन भन्ने खालको आम मानसिकता छ । खोप लगाएको छु भनेर ढुक्क भएर बस्दा झन् संक्रमण तीव्र रूपले फैलिने सम्भावना देखिन्छ’, डा. सुवेदी भन्छन् ।

उनका अनुसार भाइरसले स्वरुप परिवर्तन गर्दै जाँदा पहिला विकसित भएका खोपको प्रभावकारिता कम हुँदै गएको छ । त्यसकारणले अहिले ओमिक्रोनमा बढी प्रभावकारी हुने ‘बाइभ्यालेन्ट’ खोप लगाउन उनी सुझाव दिन्छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार लक्षित जनसंख्याको ३८ प्रतिशतले मात्रै पहिलो बुस्टर डोज लगाएका छन् ।

कोरोना संक्रमण भएका व्यक्तिहरूले संक्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज खोप लगाउन मिल्छ । त्यस्तै, दुई डोज खोप लगाएको तीन महिनापछि बुस्टर डोज लगाउन मिल्छ भने पहिलो बुस्टर लगाएको ६ महिनापछि दोस्रो अर्थात् थप बुस्टर डोज खोप लगाउन मिल्ने मन्त्रालयले जनाएको छ ।

६ महिना वा एक वर्ष अगाडि कोरोना खोपको पूर्ण मात्रा वा बुस्टर डोज लगाएको भनेर ढुक्क भएर बस्दा सिकिस्त हुने सम्भावना हुने उनको भनाइ छ ।

कोरोनाको लहर दोहोरिएसँगै खोप लगाएका मानिस पनि पुनः संक्रमित हुने देखिएको डा. अधिकारी बताउँछन् । ‘खोप लगाउँदा लगाउँदै पनि संक्रमण हुने देखिएको छ । तर, खोप लगाए पनि मानिस गम्भीर हुनबाट बचाउँछ’, उनी भन्छन् ।

‘धेरैजसो नेपाली भेरोसेल तथा एस्ट्राजेनेका खोप लगाएका छन् । जसको प्रभावकारिता पनि कम छ’ डा. सुवेदी थप्छन्, ‘बढी संक्रामक भएकाले खोप लगाउँदै गर्दा पनि संक्रमण हुनसक्छ । त्यसकारण सबैभन्दा उपयुक्त जनस्वास्थ्यको मापदण्डको पालना नै हो ।’

‘फेरि देखियो स्वाद र गन्ध थाहा नपाउने लक्षण’

ओमिक्रोन भन्दा अगाडिको भेरियन्टहरूमा मुख्य लक्षणको रूपमा देखिएको स्वाद र गन्ध हराउने कोरोना संक्रमितमा फेरि देखिन थालेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

ओमिक्रोन सब–भेरियन्ट एक्सबीबी.१.१६ आएसँगै स्वाद र गन्धमा देखिने समस्याले फेरि मुख्य लक्षणको रूपमा फर्किएको उनको भनाइ छ । संक्रमितमा बढी स्वाद र गन्ध थाहा नपाउने, जाडो हुने तर ज्वरो उच्च नदेखिने, आँखाको गेडी दुख्ने, टाउको र शरीर दुख्ने, अत्यधिक थकान महसुस हुने र खोकी लाग्ने लगायत लक्षण देखिन्छन् ।

पटक–पटकको संक्रमण घातक

संक्रामक रोग विशेषज्ञ सुवेदी पटक–पटक कोरोना संक्रमणले मानिसमा दीर्घकालीन समस्या देखिने बताउँछन् ।

उनका अनुसार कोरोनाभाइरसले विभिन्न अंग र रोग प्रतिरोधी प्रणालीमा दूरगामी असर पार्ने धेरै प्रमाण देखिंदैछन् । कोरोना संक्रमण पटक–पटक भएका मानिसमा दिमागको संरचनामा परिवर्तन, मुटुमा समस्या र ६ महिनापछि मृत्यु भएका अध्ययनहरूले देखाएका छन्’ डा. सुवेदी थप्छन्, ‘संक्रमण कुनै पनि उमेरको कसैलाई पनि हुनु राम्रो होइन, बारबार हुनु झन् नराम्रो हो ।’

अहिले सामान्य रुघाखोकी लाग्दा पनि जोखिम समूहमा भएकाहरूले चाहिं डाक्टरको परामर्श लिनुपर्छ । रुघाखोकी वा कोरोना नै हुँदा पनि विशेषगरी भीडभाडमा, अरूसँग निकट दूरीमा बस्नुपर्ने ठाउँमा वा बन्द कोठामा मास्क छोड्नुहुँदैन ।

त्यस्तै साबुनपानीले हात धुने, मास्क सही तरिकाले लगाउने गर्नुपर्छ । जटिल अवस्था नआओस् भनेर ६ महिना अगाडि खोप लगाएका मानिसले अनिवार्य रूपमा बुस्टर डोज लगाउनुपर्छ ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?