+
+

कर्णालीमा कांग्रेससँग नै सहकार्य हुन्छ, केन्द्रले छिट्टै निर्णय गर्छ : शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते ११:२०

२४ चैत, सुर्खेत । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेश सरकारबारे केन्द्रीय गठबन्धनले छिट्टै निर्णय लिने बताएका छन् ।

शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता शर्माले प्रदेशमा देखिएका उल्झन केन्द्रीय गठबन्धनले सुल्झाउने र कर्णाली प्रदेश सरकारमा कांग्रेससँग नै सहकार्य हुने बताए ।

मन्त्रिपरिषद पुनर्गठनबारे नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीसँग पनि छलफल गरेको शर्माले बताए । ‘केन्द्रको गठबन्धन अनुसार नै कर्णाली सरकारलाई नयाँ दिशा दिनुपर्ने आवश्यकता छ,’ शर्माले भने, ‘मैले आज बिहान मात्रै जीवनबहादुर शाही जीसँग पनि मिटिङ गरेँ । प्रारम्भिक छलफलमा छिट्टै नयाँ स्वरूप दिने गरी सहमति भएको छ ।’

पुस १० को सहमति अनुसार कर्णालीमा अहिले पनि एमाले–माओवादी गठबन्धनको सरकार छ । गत साता मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदा एमालेले शर्माको पक्षमा भोट हालेको थियो ।

निर्वाचन अघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्रीका लागि कांग्रेसलाई बचन दिएको भन्नेबारे पत्रकारको प्रश्नमा नेता शर्माले कर्णालीमा माओवादी नेतृत्वकै सरकारले निरन्तरता पाउने बताए । ‘कर्णालीको सन्दर्भमा हाम्रै सरकार हुन्छ । गठबन्धनका अन्य दलहरू सरकारमा सहभागी हुन्छन् । यसको निर्णय केन्द्रीय गठबन्धनले नै गर्छ’ शर्माले भने ।

नेता शर्माले माओवादीकै एजेण्डामा देश अघि बढे पनि पार्टी कमजोर हुनुलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । ‘मैले यो पटक भोट माग्दा नै पार्टी संगठनको काममा लाग्ने र मन्त्री नबन्ने वाचा गरेको छु । अब पार्टी संगठन निर्माणमा लाग्छु,’ शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?