+
+

२ वैशाखमा दरवारमार्गमा ‘एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डे’ सडक महोत्सव आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २४ गते १९:१०

काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा २ वैशाखमा काठमाडौंको दरवारमार्गमा ‘एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डे : १६ औं दरवारमार्ग सडक महोत्सव’ आयोजना हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) ले एनसेलसँग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना हुन लागेको हो ।

लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्नका लागि यो महोत्सव आयोजना हुन लागेको आयोजकले जनाएको छ । आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने महोत्सवको मूल उद्देश्य रहेको छ । काठमाडौं महानगरपालिका भित्रको सांस्कृतिक प्रवर्द्धन एवं संरक्षणमा समेत यो महोत्सव सहयोगी हुनेछ ।

काठमाडौं उपत्यका भित्रका संस्कृति झल्कने प्रस्तुतिका साथ महोत्सवको औपचारिक शुभारम्भ शनिबार बिहान ११ः३० बजे हुनेछ । राति ८ः३० बजेसम्म सञ्चालन हुने महोत्सवमा चर्चित गायकगायिका, कलाकार तथा सांगितिक समूहहरुको प्रस्तुति हुनेछन् ।

महोत्सवमा कलाकारहरु दिपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, कुटुम्ब, पहेलो बत्ति मुनि, त्रिशाला गुरुङ, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टस् लगायतको प्रस्तुति रहनेछन् ।

महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरु र महिला उद्यमीसहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रर्दशनीमा रहनेछन् ।

विभिन्न नेपाली खानाका परिकारहरु र स्वदेशी उत्पादनहरुको विषेश प्रदर्शन/प्रस्तुतिका स्टलहरु, बालबालिकाका लागि छुट्टै किडस् जोन महोत्सवको विशेष आकर्षणहरु हुनेछन् ।

महोत्सवमा भिडिओ गेमका पारखीहरुका लागि अनलाइन गेमिङ प्रतियोगिता पनि हुनेछ । दरवारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकबाट उत्तरतर्फ नारायणहिटी संग्राहालयको गेट अगाडिसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ ।

महोत्सवको संरक्षकमा काठमाडौं महानगरपालिका, मुख्य प्रायोजनमा एनसेल, सह–प्रायोजकमा कार्लबर्ग, वेभरेज पार्टनरमा डाबर नेपाल, सहयोगी संस्था नेपाल पर्यटन बोर्ड र अन्यमा कुनु नेपाल, एनडीज् आइसक्रिम र केएफसी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?