+
+

विश्वमा पेट्रोलियम पदार्थको मूल्य कसले तोक्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २५ गते १८:०२

काठमाडौं । विश्वका सबैभन्दा ठूूला तेल निर्यातक मुलुकहरुमध्येका धेरैले पेट्रोलियम पदार्थको उत्पादनमा कटौती गर्ने निर्णय गरेका छन् र त्योसँगै विश्व बजारमा कच्चा तेलको मूल्य बढेको छ ।

साउदी अरब, इराक तथा अन्य धेरै खाडी देशले दैनिक तेल आपूर्तिमा १० लाख ब्यारेलले कटौती गरेका छन् । त्यस्तै ओपेक प्लसको सदस्य मुलुक रुसले यो वर्षको अन्त्यसम्मका लागि तेल उत्पादनमा दैनिक ५ लाख ब्यारेल कटौती गर्नेछ ।पेट्रोलियम पदार्थका उत्पादक मुलुकहरुको उक्त निर्णयको अमेरिकाले भने आलोचना गरेको छ ।

ओपेक प्लस के हो ?

ओपेक प्लस तेल निर्यातक मुलुकहरुको एक समूह हो । यसले कति कच्चा तेल विश्व बजारमा बिक्री गर्ने भन्ने निर्णय गर्नका लागि नियमित रुपमा बैठक बस्ने गर्दछ । यो समूहको केन्द्रमा १३ वटा सदस्य मुलुक रहेको ओपेक (Organization of the Oil Exporting Countries) रहेको छ । ओपेका मुख्यतः मध्यपूर्व तथा अफ्रिकी मुलुकहरु रहेका छन् । यो समूहको स्थापना पेट्रोलियम पदार्थको विश्वव्यापी आपूर्ति तथा मूल्य निर्धारण गर्ने उद्देश्यले कार्टेलको रुपमा सन् १९६० मा भएको थियो ।

हाल विश्व बजारको कच्चा तेलमध्ये ३० प्रतिशत ओपेक सम्बद्ध मुलुकहरुले उत्पादन गर्ने गर्दछन् । ओपेक भित्र पनि साउदी अरेबिया सबैभन्दा ठूलो तेल उत्पादक हो, जसले दैनिक १ करोड ब्यारेल तेल उत्पादन गर्दछ ।सन् २०१० मा विश्व बजारमा तेलको मूल्यमा तिव्र गिरावट आएको समयमा ओपेक सदस्यहरुले अन्य १० वटा तेल उत्पादक मुलुकहरुसँग हातेमालो गरेर ओपेक प्लसको स्थापना गरे । त्यसमध्येको एक सदस्य मुलुक रुस हो जसले पनि दैनिक १ करोड ब्यारेल तेल उत्पादन गर्ने गर्दछ ।

यसरी ओपेक प्लस सम्बद्ध मुलुकहरुले विश्व बजारको ४० प्रतिशत कच्चा तेल उत्पादन गर्दछन् ।

ओपेक प्लसले बजारमा पेट्रोलियम पदार्थको माग र आपूर्तिको सन्तुलन मिलाउने काम गर्दछ । तेलको माग घटेको बेलामा उसले आपूर्ति पनि घटाएर मूल्य बढाउने गर्दछ । साथै उसले कहिलेकाहीँ बजारमा धेरै तेल पठाएर मूल्य घटाउने पनि गर्दछ ।

ओपेक प्लसले तेल उत्पादनमा किन कटौती गरेको हो ?

यसअघि ओपेक प्लसले गत अक्टोबर २०२२ मा एक निर्णय गर्दै दैनिक २० लाख ब्यारेल कच्चा तेलको उत्पादनमा कटौती गरेको थियो । पछिल्लोपटक उसले दैनिक ११ लाख ६० हजार ब्यारेल तेल उत्पादन कटौती गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तत्कालै ५ प्रतिशतको बढोत्तरी देखिएको छ ।

विश्लेषकहरुका अनुसार ओपेक प्लसको पछिल्लो निर्णय आश्चर्यजनक छ । किनकि साउदी अरबले केही समयअघि मात्रै यो वर्षका लागि आफ्नो कच्चा तेल उत्पादनको कोटा यथावत रहेको बताएको थियो । विश्व बजारमा तेलको माग पूर्वानुमान गरिएको जस्तो नहुने आकलनसँगै ओपेक प्लसले पूर्वसतर्कताका रुपमा पछिल्लो निर्णय गरेको हुनसक्ने अनुमान गरिएको छ ।

कोरोना महामारीसँगै यसअघि सन् २०२० मा ओपेकले तेलको उत्पादनमा दैनिक ९० लाख ब्यारेल कटौति गरेको थियो । महामारीका कारण विश्वभर नै लकडाउन भएर तेलका क्रेताहरु नहुँदा विश्व बजारमा कच्चा तेलको मूल्यमा चरम गिरावट आएको थियो ।

तर युक्रेनमा रुसी आक्रमण सुरु भएसँगै तेलको मूल्यमा वृद्धि भएर प्रति ब्यारेल १३० डलर पुग्यो । यद्यपि गत मार्चमा भने तेलको मूल्य पछिल्लो १५ महिना यताकै कम अर्थात् प्रतिब्यारेल ७० डलरसम्म झरेको छ ।

पछिल्लोपटक तेल उत्पादनमा कटौतीसँगै हुन थालेको यसको मूल्यवृद्धिले विश्वभर नै आम मानिसहरुको दैनिकीमा असर पार्नेछ । अमेरिकाले ओपेक प्लसको पछिल्लो कदमलाई सल्लाह दिन नसकिने खालको रहेको जनाएको छ ।

के हुँदैछ रुसी तेल ?

रुसले युक्रेनमा आक्रमण गरेसँगै युरोपेली मुलुकरुले समुद्रबाट रुसी तेलको आपूर्ति बन्द गरे । अमेरिका र बेलायतले भने रुसी तेलको खरीद पूर्ण रुपमा बन्द गरेका छन् ।

रुसले अहिले चीन र भारतमा बढि कच्चा तेल निर्यात गरिरहेको छ । यी मुलुकहरुले रुस विरुद्धको पश्चिमी नाकाबन्दीमा साथ दिएका छैनन् ।

यद्यपि जी सेभेन सम्बद्ध मुलुकहरुले भने रुसलाई तेल निर्यात गर्दा प्रति ब्यारेल ६० डलर तोकेका छन् । यसबाट रुसको तेलबाट उठ्ने आम्दानीमा कमी आएको छ ।

– बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?