+
+

वर्ष २०७९ का चर्चित विवाद : मिरुनाको थप्पड काण्डदेखि जी-बबको लफडासम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १८:३०

काठमाडौं । वर्ष २०७९ कोरोना महामारीपछि लयमा फर्किएको वर्षको रुपमा रह्यो । ‘कबड्डी ४’ र ‘छक्कापञ्जा ४’ जस्ता फिल्म ब्लकबस्टर बन्न सके । यीबाहेक केही यस्ता चर्चा र विवादका घटना भए, जसले नेपाली मनोरञ्जन वृत्तलाई तरंगित मात्रै बनाएनन्, वर्षलाई बिर्सनलायक तुल्याए ।

केही यस्ता सेलिब्रिटी विवादका घटना जसलाई नेपाली फिल्म र संगीत क्षेत्रले पछिसम्म सम्झिरहनेछ । यस वर्ष सबैभन्दा चर्चित घटना बन्यो मिरुना मगर प्रकरण । ‘कबड्डी ४’ प्रवर्द्धनका लागि सिभिल मलको एक कफी सपमा पुगेकी मिरुनालाई एक बौद्ध भिक्षुले ब्याड टच गरेको भन्दै विवाद चर्कियो । मिरुनाको उजुरीमा प्रहरीले पक्राउ गरेर ती भिक्षुलाई केही दिन थुन्यो । रिहाइको माग गर्दै कबड्डीको पोस्टर जलाउनेदेखि प्रदर्शनसम्म भए । पछि मागेर सहमति भएपनि विरोध रोकिएन । उजुरी र आरोप चलिरह्यो । सिक्किममा त फिल्मलाई नै प्रतिबन्ध लगाइयो । मिरुना निकै विवादमा तानिइन् ।

हालै अनलाइनखबरसँगको कुराकानीमा मिरुनाले उक्त घटनाबाट आफूले पाठ सिकेको बताएकी छन् ।

यसवर्ष दोस्रो ठूलो विवाद ‘प्रेमगीत ३’ लाई लिएर प्रदीप खड्का र भुवन केसीबीच भएको आरोप-प्रत्यारोप हो । यो विवादमा फिल्म उद्योग नै विभाजित भयो । बोर्ड अध्यक्ष केसीले रात्रि शो बन्द गर्नेदेखि एक साताअघि नै सेन्सर गर्नुपर्ने नियम ल्याएपछि सुरु भएको विवादमा प्रदीपले प्रेसमिटबाटै केसीको राजीनामा मागेपछि विवादमा घिउ थपियो । केसीले हिन्दी संस्करणको प्रेमगीत ३ रिलिज गर्न मात्र दिएनन्, सेन्सर सिफारिसमा ढिलासुस्ती गरिदिए । मन्त्रालयको दबाबमा उनी पछि हट्नुपर्‍यो ।

‘प्रसाद २’ लाई अर्को ठूलो विवाद भयो । कलाकार र निर्माताको आर्थिक लेनदेनको विवाद वरपर फिल्म केन्द्रित रह्यो । अदालतको आदेशपछि फिल्म प्रदर्शन रोकिएको अवस्था छ । कलाकारको विवाद हुँदा विपिन कार्की, नम्रता श्रेष्ठलगायत फिल्म छाडे । पछि निर्माता संघमा भएको सहमतिअनुसार फिल्म छायांकन त भयो तर त्यसपछि पनि विवाद रोकिएन । निर्माताबीचकै विवाद प्रहरीसामु पुगेपछि अहिले निर्माता सुभास थापाविरुद्ध पक्राउ पूर्जी जारी गरेको अवस्था छ ।

अभिनेत्री वर्षा सिवाकोटी पनि चर्चाको केन्द्रमा रहिन् । वैशाख ९ गते अमेरिका निवासी आशिष गेलालसँग विवाह गरेकी वर्षाले नौ महिनापछि डिभोर्स गरिन् । गेलालले हालै अर्को विवाह गरेका छन् भने वर्षा सिंगल नै छिन् । वर्षको उत्तराद्र्धमा भएका दुई ब्रेकअपका घटनाले पनि निकै चर्चा पाए । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँबीचको रोमान्स टुंगियो । कलाकार जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठबीचको ६ वर्षदेखि प्रेम सम्बन्धको अन्त्य भयो । साथै, यही वर्षको सुरुमा नम्रता श्रेष्ठसँग प्रेमीको ब्रेकअप भयो ।

अभिनेता विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’ छाडेका भनिएको घटनाले पनि चर्चा पायो । छायांकन गर्न मुम्बई पुगेका अभिनेता कार्की पटकपटक रित्तै हात घर फर्किए । अन्ततः उनले प्रोजेक्ट नै छाड्नुपर्‍यो । अभिनेत्री वर्षा राउत र पति सञ्जोग कोइरालाबीचको दाम्पत्य जीवनमा आएको भनिएको मनमुटावको घटनाले पनि चर्चा पायो ।

फिल्मबाहेक सांगीतिक क्षेत्र पनि यस वर्ष विवादबाट मुक्त रहेन । र्‍यापर जी-बबले आफ्नै आमाबुबाविरुद्ध जिल्ला प्रशासन काठमाडौंमा उजुरी दर्ता गरे । आफूलाई बाबुआमाले स्वतन्त्रता नदिएकोदेखि पैसा समेत लिने गरेको भन्दै जी-बबले आमाबाबुबाट मुक्त हुनुपर्ने माग राख्दै प्रशासनमा उजुरी दिएका थिए । तर जी-बबलाई साथ दिंदै आएको संस्था एएनटीएफको मध्यस्थतामा जी-बब र उनका बाबुआमाबीच लेनदेनदेखि हेरचाहका कुरामा सम्झौता भयो । जी-बबको प्रेसमिट निकै चर्चित रह्यो ।

र्‍यापर भिटेनले जापानको एक कन्सर्टमा लफडा गर्दै आफ्नै टाउकोमा बोतल फुटाउँदा उनी चर्चित रहे । गायक दुर्गेश थापा टिकटकर हेन्सी ब्रो र अन्य लफडाले विवादमा रहे । यस वर्ष पल शाहको रिहाइ, आकाश श्रेष्ठ र पूजा शर्माका फ्यानबीचको नाराबाजी, नेपहपको श्रीपेचको मुकुटलाई दिएर नेवार समुदायले गरेको विरोध पनि चर्चित घटना हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?