News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री मिरुना मगरले फिल्म ‘ऊनको स्वीटर’ बाट सर्वोत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार जितेपछि सामाजिक सञ्जालमार्फत कृतज्ञता व्यक्त गरेकी छन् ।
- यस वर्षको सर्वोत्कृष्ट निर्देशकको पुरस्कार नवीन चौहानले र उत्कृष्ट फिल्मको पुरस्कार ‘ऊनको स्वीटर’ ले प्राप्त गरेको छ ।
- पुरस्कार पाएपछि भावुक बनेकी मगरले लेखेकी छन्, "आज मेरो हृदय खुसीले भरिएको छ, तर परिवार यो क्षणमा सँगै नभएको महसुस पनि भइरहेको छ ।"
काठमाडौं । सर्वोत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार जितेपछि अभिनेत्री मिरुना मगरले भावुक प्रतिक्रिया व्यक्त गरेकी छन् । फिल्म ‘ऊनको स्वीटर’ का लागि उक्त सम्मान प्राप्त गरेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो अभिनय यात्राको स्मरण गर्दै कृतज्ञता व्यक्त गरेकी हुन् ।
मगरले सन् २०१८ मा अभिनय यात्रा सुरु गर्दा आजको यो क्षणले यति धेरै अर्थ राख्छ भनेर आफूले कल्पना समेत नगरेको बताएकी छन् । ‘ऊनको स्वीटर’का लागि प्राप्त सर्वोत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार आफ्नो जीवनको अविस्मरणीय उपलब्धि भएको उनको भनाइ छ ।
उनले अभिनय यात्राले आफूलाई केवल करिअर मात्र नभई जीवनका अनेक अनुभव दिएको बताएकी छन् । यो यात्राले आफूलाई चुनौती दिएको, नम्र बनाएको, सिकाएको र निरन्तर अघि बढ्न प्रेरित गरेको उनको भनाइ छ ।
मगरले ‘ऊनको स्वीटर’ का निर्देशक नवीन चौहानलाई पनि बधाई दिँदै उनको दूरदृष्टि र विश्वासकै कारण अर्थपूर्ण सिर्जना सम्भव भएको उल्लेख गरेकी छन् । चौहानले पनि यस वर्षको सर्वोत्कृष्ट निर्देशक पुरस्कार प्राप्त गरेका छन् । साथै, ‘ऊनको स्वीटर’ ले वर्षकै उत्कृष्ट फिल्मको पुरस्कार समेत जितेकाले यो उपलब्धि अझ विशेष बनेको उनले बताएकी छन् ।

दर्शकको निरन्तर साथ र समर्थनप्रति धन्यवाद व्यक्त गर्दै मगरले आफ्नो सफलताको यात्रामा योगदान पुर्याउने सबैप्रति आभार प्रकट गरेकी छन् ।
यद्यपि, पुरस्कार प्राप्तिको खुसीबीच परिवारलाई सम्झँदा मन केही भावुक बनेको उनले उल्लेख गरेकी छन् । आफ्ना प्रियजनबाट टाढा रहेर जीवन र करिअर निर्माण गर्नु गौरवको विषय भए पनि त्यसमा चुनौती र अभाव दुवै रहेको उनको भनाइ छ । ‘आज मेरो हृदय खुसीले भरिएको छ, तर परिवार यो क्षणमा सँगै नभएको महसुस पनि भइरहेको छ,’ उनले लेखेकी छन् ।
प्रतिक्रिया 4