+
+

रविको प्रश्न : चुनावको मुखमा अडियो किन बाहिर ल्याइयो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते १४:१२

२७ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनको ठीक अघि आफ्ना पार्टीका सांसदको पैसा लेनदेनको अडियो सार्वजनिक गरिएकाेमा असन्तुष्टि जनाएका छन् । उनले अडियो सार्वजनिक गर्नु शंकास्पद भएको पनि बताएका छन् ।

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न सभापति रवि लामिछानेको टिमका व्यक्तिलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईसँग सहयोग माग गरेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

‘यो यतिबेला अडियो किन ल्याइयो ? अरु दलमा जस्तो भ्रष्टाचारीलाई पूजा गर्ने बचाउने हाम्रो दलमा चलन छैन’ चितवनमा भएको चुनावी कार्यक्रममा लामिछानेले  भने, ‘निर्वाचन आयोग, अदालतबाट नसकेपछि चुनावकै मुखमा यस्ता कुरा आउनुलाई मैले अन्यथा लिएको छैन । जसले गल्ती गरेपनि कारबाही गर्न सक्ने छाती लिएर हिंडेको छु ।’

अडियोमा आफ्नो वरपर रहेका व्यक्तिलाई पनि मुछिएको उल्लेख गर्दै उनले तिनलाई कारबाही गर्न अख्तियारमा निवेदन दिने बताए । ‘मेरै वरपर लागेका मान्छेलाई आरोप लागेको छ । अख्तियारमा म आजै निवेदन दिन्छु ।’ पार्टीमा रहेर भ्रष्टाचार गर्नेलाई कठालो समातेर जनताको माझमा पुर्‍याउने क्षमता आफूहरुसँग रहेको लामिछानेले बताए ।

विश्वासका आधारमा पार्टीमा कैयौं व्यक्तिहरु जोडिएको र कतिपयको पृष्ठभूमि थाहा नभएको लामिछानेले बताए । ‘कसको के छ, विगतमा थाहा थिएन, आउन सक्ला । आएको खण्डमा कारबाही गर्दै अघि जाने हो’ लामिछानेले भने, ‘अरु पनि केही छन् भने अहिले नै आउन्, चुनावकै अघिल्लो दिन आउन् । चुनावकै दिन आउन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?