+
+

विद्यार्थी नभएपछि केही शैक्षिक कार्यक्रम बन्द गर्दै केयू

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते २०:२२

२७ चैत, काठमाडौं । विद्यार्थी अभावका कारण काठमाडौँ विश्वविद्यालयले केही शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी गरेको छ । यद्यपि निर्णय नभइसकेकाले कुन कुन कार्यक्रम बन्द गर्ने भन्ने केयूले खुलाएको छैन ।

सोमबार काठमाडौँ विश्वविद्यालय र शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) को सहकार्यमा आयोजित कार्यक्रममा केयू उपकुलपति प्रा. डा. थापाले विद्यार्थी कम भएका कार्यक्रम स्थगित गर्ने जानकारी दिए ।

‘हामी विद्यार्थी ल्याउने बहानामा लोकप्रिय कार्यक्रम जथाभावी विस्तार गर्दै लाने पक्षमा छैनौं । तर विद्यार्थी कम भएका शैक्षिक कार्यक्रम भने फेजआउट गर्दै लान्छौं’ उनले भने ।

विश्वविद्यालयका अनुसार २०० भन्दा बढी शैक्षिक कार्यक्रममा कुल कोटाको ३० प्रतिशत खाली छ । ‘विद्यार्थी संख्या घट्नुका ठ्याक्कै कारण भन्न सकिने अवस्था छैन तर राज्यले प्रोत्साहन गर्ने भन्दा पनि नियन्त्रण गर्नमा मात्रै केन्द्रित हुनु पनि एक कारण हो’, उपकुलपति थापाले भने ।

केयुका अनुसार बीएमएस शैक्षिक कार्यक्रमको लागि तोकिएको ३० सिटमध्ये २२ सिटमा भर्ना भएका छन् भने ८ सिट रिक्त छ । बीवाइएसडब्लुको २४ मध्ये २२ सिट रिक्त छ । एमएमएसमा २० मध्ये १२ सिट रिक्त छ ।

बीए बुद्धिस्ट स्टडिजमा ३० मध्ये चार सिटमात्र पूरा भएको छ । पीजीडी इन लिडरसिप एण्ड म्यानेजमेन्टमा ३० मध्ये १६ सिट रिक्त छ । एक वर्षे एमएड इन इएलटीमा १५ मध्ये १२ सिट खाली छ ।

बीबीए (एनसीएम) मा १२० मध्ये ७८ सिटमात्र भरिएको छ । बीबीआईएसको ४० मध्ये २६ सिटमा भर्ना भएका छन् । त्यस्तै बीएस्सी मिडवाइफरीमा २० मध्ये १३ सिट रिक्त छ । बीएस्सी नर्सिङ (सीओएमएस)मा ४० मध्ये १७ सिट रिक्त छ । बीएस्सी नर्सिङ (एनजीएमसी) मा २० मध्ये १८ सिट रिक्त छ । बीडीएस तथा एमबीबीएसमा पनि यस्तै अवस्था छ ।

नेपालमा गुणस्तरीय शैक्षिक कार्यक्रमहरु हुँदा हुँदै पनि पर्याप्त प्रचार प्रसार नहुँदा विद्यार्थीहरु तिनै शैक्षिक कार्यक्रम अध्ययन गर्न विदेशिने क्रम बढेको केयू भर्ना निर्देशनालयका सहनिर्देशक ब्रजेश मिश्रले बताए ।

‘यहाँ गुणस्तरीय शैक्षिक कार्यक्रमहरु छन् । तर पर्याप्त प्रचार प्रसार नहुँदा विद्यार्थीहरु बञ्चित भइरहनु र तिनै विषयमा बैदेशिक अध्ययनमा गइरहनु दुखद यथार्थ हो’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?