+
+
चितवन-२  :

पहिला प्रश्न गर्ने रवि अहिले जवाफ दिंदै

६ महिना अघि रवि प्रमुख दलहरूमाथि प्रश्नको वर्षा गर्थे । तर, यो उपनिर्वाचनमा उनको शैली फेरिएको छ । अहिले उनी प्रश्न गर्नेभन्दा ज्यादा जवाफ दिनुपर्ने अवस्थामा छन् ।

सुवास पण्डित सुवास पण्डित
२०७९ चैत २९ गते २०:४१

२९ चैत, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार कालिकामा भएको चुनावी सभामा सांसदहरू सोबिता गौतम, विराजभक्त श्रेष्ठ र महामन्त्री मुकुल ढकालले सम्बोधन गरे । उनीहरूले आफ्नो सभापति रवि लामिछानेको तारिफ गर्दै भोट मागे । नेपाली कांग्रेस र नेकपा एमालेको आलोचना गरे ।

अन्तिम वक्ताका रूपमा पार्टी सभापति एवं चितवन–२ का उम्मेदवार रवि लामिछानेले आधा घण्टाभन्दा लामो सम्बोधन गरे । रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको विषयमा स्पष्टीकरण दिए । अरू दलको आलोचना गर्दै उनले भने, ‘आफू कालो भएर, दागैदागले भरिएर थप्ने ठाउँ नभएर हिंडेकाले हामीलाई प्रश्न उठाउँछन् । सेतो कपडामा सानो टिको देख्ने वित्तिकै ऊ हेर भनेर देखाउँछन् र यिनीहरू पनि फटाहा हुन् भनिरहेका छन् ।’

सम्बोधनका क्रममा रविले पटक–पटक आफूले कुनै गलत काम नगरेको स्पष्टीकरण दिए । यदि कसैले आफू वा आफ्नो टिमले गलत गरेको प्रमाण ल्याए जस्तो पनि कारबाही भोग्न तयार रहेको भनेर सभामा उपस्थितहरूको मन जित्न खोजे । अन्तिममा मतदातालाई फकाउन खोज्दै उनले भने, ‘बीच बाटोमा म लर्खराएको बेला पहिला दिएको हो, अब दिन्नँ भन्नुभयो भने मेरा लागि अन्याय होला कि ? ५ वर्ष त मलाई हेर्नुपर्छ होला ।’

तर ६ महिना अघिको अवस्था फरक थियो । रवि प्रमुख दलहरूमाथि निरन्तर प्रश्नको वर्षा गर्थे । मत माग्न युवा मात्रै होइन, महिला र वृद्धवृद्धाहरू स्वतस्फूर्त घण्टी बजाउँदै सडकमा निस्किन्थे । अरू राजनीतिक दल समर्थक, कार्यकर्ता र मतदाता रक्षात्मक मनोविज्ञानमा देखिन्थे ।

यसपटक परिस्थिति फेरिएको छ । अहिले रवि प्रश्न गर्ने भन्दा ज्यादा जवाफ दिनुपर्ने ठाउँमा छन् । आफू अघिल्तिर तेर्सिएका कानुनी, राजनीतिक प्रश्नबारे स्पष्टीकरण दिनुपर्ने बाध्यता उनलाई आइलागेको छ । चुनाव जितेर उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका रविले नागरिकता विवादमा सांसद पद गुमाउनुपर्‍यो । १३ माघमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि पनि उनले गैरसांसदका रूपमा मन्त्री हुन प्रयास गरेको लुकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहमत नभएपछि रास्वपाले सरकार नै छाड्यो ।

तर, त्यसपछि पनि रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्यो । राष्ट्रपति चुनावमा सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई भोट हाल्यो । अनि ६ चैतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दियो । विश्वासको मत दिनु केही घण्टाअघि महान्यायाधिवक्ताको कार्यालयले रविमाथि राहदानी सम्बन्धी मुद्दा नचलाउने निर्णय गरेको थियो ।

यो पृष्ठभूमिका कारण उपचुनावका क्रममा जति पनि सभा–कोणसभा भएका छन्, रविले आफ्नो धेरै समय स्पष्टीकरणमा खर्चिएका छन् । मंगलबार कालिकामा भएको सभामा पनि उनले आफ्नो बचाउमा धेरै समय खर्चिए ।

आइतबार रास्वपाकै सांसद ढाकाकुमार श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न पार्टीमा बुझाउनुपर्ने भन्दै बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भयो । त्यसयता भने रविको धेरै समय यसको स्पष्टीकरणमै बितिरहेको छ । यद्यपि यस सम्बन्धमा रास्वपाले कुनै औपचारिक निर्णय गरिसकेको छैन ।

प्रतिस्पर्धीको साझा निशाना

रविको अवस्था मात्रै फेरिएको छैन, चितवन–२ मा चुनावी प्रतिस्पर्धी पनि फेरिएका छन् । एमालेले रामप्रसाद न्यौपाने र कांग्रेसले जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

२० चैतमा उम्मेदवारी दर्ताको दिन एमालेका न्यौपाने र कांग्रेसका श्रेष्ठबीच निर्वाचन अधिकृतको कार्यालयमा जम्काभेट भएको थियो । न्यौपानेले श्रेष्ठलाई गर्लम्म अँगालो हाले र हार्दिकता देखाए । एकअर्काका प्रतिस्पर्धी भए पनि सँगसँगै जसो विद्यार्थी राजनीति गरेका उनीहरूले चुनावी अभियानका क्रममा एकले अर्काको आलोचना गरेको सुन्न पाइँदैन । दुवैको निशानामा रवि छन् ।

मतदाताका बीचमा जाँदा न्यौपाने र श्रेष्ठले भन्ने साझा विषय भएका छन्— ‘रवि लामिछाने’ । न्यौपाने र श्रेष्ठको साझा कथन के छ भने– रविकै गल्तीका कारणले चितवन–२ मा पुनः उपचुनाव भयो । खारेज भएको नागरिकता बोकेर नेता बन्न आउने व्यक्ति हुन् उनी, फेरि राहदानी मुद्दामा उनी दोषी ठहर हुनसक्छन् । उनलाई चितवनको कुनै माया छैन, यहाँको राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनमा उनको कुनै भूमिका र योगदान छैन ।’

कांग्रेस उम्मेदवार श्रेष्ठले टिकट पाउने निश्चित भएदेखि नै रविमाथि कडा टिप्पणी गर्दै आएका छन् । ‘काण्डैकाण्ड मच्चाउने जनप्रतिनिधि चितवनलाई सुहाउने व्यक्ति हुन सक्दैन’ कांग्रेस उम्मेदवार श्रेष्ठले भने, ‘मंसिरको हावाहुण्डरी शान्त भइसकेको छ, जनताले बुझिसकेका छन् ।’

एमाले उम्मेदवार न्यौपानेले पनि मौका पर्दा रविलाई बाँकी राखेका छैनन् । ‘नागरिकतासमेत बनाउनुपर्छ भनेर नजान्ने तर मैं हुँ जान्ने भनेर चितवनका जनतालाई झुक्याउन आएका छन्’ न्यौपाने भन्छन्, ‘सक्कली रूप जनताले देखिसकेका छन्, उनले विभिन्न काण्ड घटाउने तर दुःख यहाँका जनताले पाउनुपर्ने, यो अब हुन्न ।’

अहिले श्रेष्ठ र न्यौपाने दुवैको रणनीति ‘अघिल्लो पटक रास्वपातिर गएको पार्टीको मत फर्काउने’ छ ।

अघिल्लो पटक पूर्वसांसद उमेश श्रेष्ठलाई टिकट दिंदा आफ्नै पार्टीको भोट समेत जोगाउन नसकेको कांग्रेसको बुझाइ छ । यसपटक जिल्लामा पार्टीको नेतृत्व गरिरहेका श्रेष्ठलाई उम्मेदवार बनाएर उसले कांग्रेसका असन्तुष्ट नेता–कार्यकर्ता फकाइरहेको छ ।

विकास कोइरालामाथि भएको कारबाही फुकुवा गरेको कांग्रेसले पछिल्लो चुनावका बागी भएकाहरूलाई पनि त्यस्तै आश्वासन दिएको छ । त्यसकै प्रभाव हुनसक्छ, पार्टीले टिकट नदिएपछि एमालेको समर्थनमा चितवन–३ मा स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालादेखि अर्का बागी जगन्नाथ पौडेलको पक्षमा उभिएका पूर्वसभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भीमबहादुर श्रेष्ठ, महासमिति सदस्य मीना खरेलले संयुक्त विज्ञप्ति निकालेर श्रेष्ठलाई मत दिन आह्वान गरेका छन् ।

उनीहरू चुनावी अभियानमा समेत हिंड्न थालेका छन् । कांग्रेस चितवनका सभापति राजेश्वर खनाल यसपटकका उम्मेदवार स्थानीय रूपमा भिजेको र युवा भएकोले माहोल फेरिएको बताउँछन् ।

एमालेले पनि यसअघि दुईपटक चुनाव जितेका र ४ मंसिरमा रविसँग पराजित भएका कृष्णभक्त पोखरेलको साटो जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उठाएको छ । स्थानीय एमाले नेताहरूका अनुसार, जनताले पटक–पटक किन एउटै मान्छेलाई मत दिने भनेर कतिपय ठाउँमा प्रश्न उठाएपछि पोखरेलसहितका नेताहरूकै सल्लाहमा न्यौपाने उम्मेदवार भएका हुन् । युवा उम्मेदवार उठाएर युवाहरूको मत आफूतिर तान्ने एमालेको रणनीति देखिन्छ ।

‘मिसन ग्रासरुट’ अभियानमा चितवनमा खटिएका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा पार्टीको समस्या पहिचान भएर उपचार चलिरहेकाले जित निकाल्न समस्या नहुने दाबी गर्छन् ।

राजनीतिभन्दा इमोसन धेरै

अघिल्लो पटक वाचापत्र सार्वजनिक गरेका रविले यसपटक त्यस्तो कुनै प्रतिबद्धता सार्वजनिक गरेका छैनन् । हालसम्मको चुनावी गतिविधि हेर्दा प्रतिस्पर्धी दलहरूको प्रहारको बचाउ कसरी गर्ने भन्नेमा उनी केन्द्रित बनेको देखिन्छ । ठूला दलको प्रहारलाई रविले राजनीतिक रूपमा कम, भावनात्मक रूपमा बढी प्रतिवाद गर्ने गरेका छन् । कतिसम्म भने गढीमाईमा आयोजित सभामा उनले अडियो प्रकरणमा दोषी देखिएर कारबाही गर्न नसके ‘बलि चढाउनु’ सम्म भन्न भ्याए ।

अमेरिकी नागरिकता कायमै राखेर नेपालको पनि राहदानी लिएको विषयमा उनको जवाफ भावनात्मक हुने गरेको छ । सरकारी कार्यालयको कलम कर्मचारीको घर पुग्ने उदाहरण दिंदै उनले भने, ‘९९ प्रतिशत कर्मचारीले सरकारी कार्यालयको कलम घरमा लगेर आफ्ना छोराछोरीलाई लेख्न दिनुहुन्छ । यो सरकारी सम्पत्तिको दुरुपयोग हो कि होइन ? तर, त्यसको मूल्यमा नजानुस् । त्यसरी नै मेरो पनि त्रुटि कत्रो हो हेरौं ।’

चुनावी कार्यक्रमहरूमा उनले अमेरिकाको राम्रो जागिर छाडेर आएको, आफू २/४ करोड त कुल्चिएर हिंड्ने मान्छे भएको, म यो देशका लागि घाँडो भए ठीकै छ भन्ने जस्ता अभिव्यक्ति दिने गरेका छन् ।

कस्तो होला परिणाम

चितवन क्षेत्र नम्बर २ मा इच्छाकामना गाउँपालिकाका ७ वटा वडा, कालिका नगरपालिकाका ११ र भरतपुर महानगरपालिकाका १० वडा पर्दछन् । रविले अघिल्लो पटक भरतपुर र कालिका नगरपालिकामा एकपक्षीय मत पाएका थिए ।

सबभन्दा बढी भरतपुर ४, ५ र ७ बाट मत पाएका थिए । यसपटक कांग्रेस र एमालेका नेताहरू यस क्षेत्रका मतदातालाई आफूतिर फर्काउन प्रयासरत छन् । रवि एकपछि अर्को विवादमा मुछिएकाले उनको क्रेज घट्दो क्रममा रहेको कांग्रेस–एमाले नेताहरूको बुझाइ छ ।

तर, रास्वपाका नेताहरू भने पहिलाको भन्दा ठूलो मतान्तरले रविले चुनाव जित्ने बताउँछन् । रास्वपा चितवन सभापति कृष्णप्रसाद भुसालले अघिल्लो पटकभन्दा १० हजार थप मत ल्याउने दाबी गरे । ठूला दलहरूले केही मत प्रभावित पार्न खोजे पनि आम रूपमा त्यो सम्भव नभएको भन्दै उनले भने, ‘शहर बजार क्षेत्रमा कुनै समस्या छैन, गाउँघरतिर केही भ्रम दिएको पाइएको छ । हाम्रो उत्साह कायमै छ ।’

४ मंसिरको चुनावमा रवि ४९ हजार २६१ मत ल्याएर निर्वाचित भएका थिए । उनले देशमै सबैभन्दा बढी ३४ हजार २८१ मतान्तरमा जित निकालेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ मत पाउँदा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६६७ मत पाएका थिए ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?