+
+

सांसद ढाकाकुमार श्रेष्ठलाई निष्कासन गर्ने रास्वपाको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते २०:०३

२९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ ।

बुधबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको हो । यससँगै रास्वपाले उनको स्थानमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ ।

श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । पुस अन्त्यमा भएको उक्त सम्वादमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि कोर टिमलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए ।

यो अडियो सार्वजनिक भएपछि रास्वपाले पार्टीको अनुशासन समितिले छानबिन थालेको थियो । बुधबार केन्द्रीय समितिको बैठकमा समेत उनलाई बोलाएर सोधिएको थियो । बैठकमा श्रेष्ठले अडियो आफ्नो होइन भनेको सभापति रविले बताए । उनले अगाडि भने, ‘पार्टीले गरेको छानबिनमा त्यो अडियो उहाँकै हो, त्यसमा पैसा मागिएको छ । सांसदले त्यसरी माग्नु कारबाहीका लागि यथेष्ट छ ।’

लेनदेन भएको नदेखिए पनि पैसा मागेको अडियो उहाँकै भएकाले कारबाही गरेको सभापति लामिछानेले बताए । यद्यपि पार्टीको विधान अनुसार श्रेष्ठले पुनरावेदन भने गर्नसक्ने उनले बताए ।

कोर टिमबारे के भने ?

सार्वजनिक भएको अडियो संवादमा सांसद श्रेष्ठले सभापति रवि लामिछानेको कोर टिमले पैसा मागेको भनेका थिए ।

श्रेष्ठले निरन्तर बोली फेरेको र अहिले बार्गेनिङमा उत्रिएको आरोप समेत सभापति रविले लगाए । ‘कोर टिम नै मैले बुझेको छैन, पार्टी स्थापनाको कोर टिम भनेको हो कि मेरो सचिवालय भनेको हो कि ? त्यो स्पष्ट छैन’, उनले भने ।


श्रेष्ठले कोर टिम सार्वजनिक गरे के हुन्छ भन्ने प्रश्नमा रविले तथ्यसहित आए कारबाही गर्ने बताए । ‘उहाँले नाम लिनेवित्तिकै कारबाही गर्नुपर्छ भन्ने भएन । किनकि उहाँ एक लेभलले बार्गेनिङको तहमा आउनुभएको छ’ उनले भने, ‘म सकिएँ भने पार्टीलाई पनि छोड्दिनँ, जसलाई भने पनि हुन्छ भन्नुभएको छ ।’

यो प्रकरणमा आफूहरु धन्यवादको पात्र भएको, तर उनले नदेखेको, नभनेको कोर टिमको खोजी हुनसक्ने भन्दै उनले असन्तुष्टि जनाए । पुराना दलहरुमा पनि यस्तो विवाद आएको, तर कारबाही नभएको स्मरण गरेका उनले अघि भने, ‘यति छिटो हामीले कारबाही गरेका छौं, यसको त तारिफ गर्नुपर्ने हो कि ?’

ढाकाकुमार श्रेष्ठबारे पहिले पनि प्रश्न उठेको थियो, त्यसबेला किन कारबाही भएन भन्ने प्रश्नमा रास्वपा सभापति रविले विवाद आउनेवित्तिकै कारबाही गर्ने भन्ने नहुने बताए । उनले अघि भने, यो पटक डाइरेक्ट अडियो नै आयो ।’

ढाकाको सांसद पद के हुन्छ ? 

ढाकाकुमारलाई कारबाही गरेको रास्वपाले उनको स्थाामा विन्दवासिनी कंसाकारलाई संसदमा पठाउने निर्णय गरेको छ । तर समानुपातिक सांसदलाई हटाउने प्रक्रिया सहज नभएको निर्वाचन आयोगका अधिकारीहरु बताउँछन् ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार तीन अवस्थामा दल त्याग गरेको मानिन्छ । दलको सदस्यबाट लिखित राजीनामा दिएमा, अर्को दलको सदस्यमा लिएमा वा अर्को दल गठन गरेमा मात्र दल त्याग गरेको मानिनेछ ।

यसरी दल त्याग गरेको अवस्थामा पनि सम्बन्धित दलले सभामुखलाई सूचना दिनुपर्नेछ । यस्तो सूचना सभामुखले सदनलाई जानकारी गराएपछि बल्ल स्थान हुनेछ र नयाँ संसद चयन प्रक्रिया सुरु हुनेछ ।

ढाकाप्रसादको हकमा उनले दल त्याग गरेको, अर्को दलमा गएको वा नयाँ दल खोलेको तीनवटै अवस्था छैन । अब उनलाई निष्कासन गर्ने रास्वपाको निर्णयलाई सभामुखले कसरी लिन्छन् ? उनी अदालत जान्छन् कि जाँदैनन् ? जस्ता विषयमा भरपर्ने एक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?