+
+

बुद्धिचाल महासंघले फरक शैलीमा राष्ट्रिय च्याम्पियनसिप गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १७:२९

३ वैशाख, काठमाडौं । नेपाल बुद्धिचाल महासंघले नयाँ शैलीमा राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्न लागेको छ । च्याम्पियनमध्येको च्याम्पियनबीच प्रतिस्पर्धा हुने यो प्रतियोगिता वैशाख ५ देखि १० गतेसम्म काठमाडौंमा हुनेछ ।

यसअघिका २१ संस्करणमा संघले खुल्ला प्रतिस्पर्धात्मक फर्म्याटटलाई राष्ट्रिय च्याम्पियनसिपका रुपमा आयोजना गर्दै आएको थियो । यसपल्ट भने राष्ट्रिय बी च्याम्पियनसिप आयोजना गरी राष्ट्रिय च्याम्पियनसिपका लागि खेलाडी छनोट गरिएको हो ।

दुई महिनाअघि भक्तपुरमा आयोजित राष्ट्रिय बी च्याम्पियनसिपबाट छानिएका ८ जना, फिडे रेटिङका आधारमा उच्च वरियताका १ जना र राष्ट्रिय च्याम्पियनसिपका साविक विजेतासमेत १० जनाबीच राउण्ड रोविन प्रणालीमा प्रतिस्पर्धा हुनेछ ।

यसपल्ट उच्च वरीयतामा रहेका विवेक थिङ, साविक विजेता पुरुषोत्तम चौलागाईं र बी च्याम्पियनसिपबाट छानिएका फिडेमास्टर रुपेश जैसवाल, फिडेमास्टर क्षितिज भण्डारी, क्याण्डिडेटमास्टर केशव श्रेष्ठ, सुरवीर लामा, प्रकाशचन्द्र नेपाल, राजन सुवेदी, पुरुषोत्तम सिलवाल र राजीव कार्कीले प्रतिस्पर्धा गर्नेछन् । बैकल्पिक खेलाडीका रुपमा राजन पुरी र सजिन महर्जन छन् ।

१० जनाको सूचीमा परेका खेलाडी प्रतियोगिताका लागि अनुपस्थित रहे वैकल्पिक सूचीमा रहेका खेलाडीले अवसर पाउनेछन् । यसपल्ट विवेक थिङ देशबाहिर रहेका कारण उनको उपस्थित हुने छैन । उनको स्थानमा राजन पुरीले खेल्नेछन् ।

सातौं महिला राष्ट्रिय च्याम्पियनसिपतर्फ वर्तमान च्याम्पियन फिडेमास्टर सुजना लोहनीसहित राष्ट्रिय बी च्याम्पियनसिपबाट छानिएका सिन्दिरा जोशी, कृतिसरा अधिकारी, पुनम प्रसाईं, खुश्बु थापा, शान्ति धिमाल, पूजा भण्डारी, विनिता कपाली, रिया श्रेष्ठ र मार्सल तामाङले प्रतिस्पर्धा गर्नेछन् । लक्ष्मी कँडेल र सुशीला गुरुङ बैकल्पिक खेलाडीका रुपमा छन् ।

प्रतियोगिताको विजेताले आगामी १ मे देखि ११ सम्म बंगलादेशमा आयोजना हुने फिडे जोनल ३.२ चेस च्याम्पियनसिप तथा काजाकस्तानको आस्थानामा ५–१५ जुनसम्म एसियन कन्टिनेन्टलमा सहभागी हुन पाउनेछन् । उनीहरु सन् २०२४ मा हंगेरीको बुढापेस्टमा हुने ४५ औं चेस ओलम्पियाडका लागिसमेत सहभागिता निश्चित गर्नेछन् ।

प्रतियोगिताका बाँकी खेलाडीले राष्ट्रिय बी च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । नेपाल बुद्धिचाल महासंघले लुम्बिनी इभेन्ट म्यानेजमेन्टसँगको सहकार्यमा आयोजना गर्न लागेको प्रतियोगिताका लागि साढे ९ लाख अनुमानित खर्च हुनेछ ।

नियमित कार्यक्रमअनुसार बुद्धिचाल महासंघको यो २३औं राष्ट्रिय च्याम्पियनसिप हुनुपर्ने थियो । तर, नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भएको प्रतियोगितामा संघसँग आधिकारिक समन्वय नगरेका कारण राष्ट्रिय च्याम्पियनसिपमा समावेश नगरिएको महासंघले जनाएको छ ।

पाँचौं राष्ट्रिय खेलकुदयता राष्ट्रिय खेलकुदमा समावेश भएको बुद्धिचालले त्यसयता आठौं राष्ट्रिय खेलकुदसम्म भएका प्रतियोगितालाई राष्ट्रिय च्याम्पियनसिपको मान्यता दिएको थियो ।

अध्यक्ष विदुरप्रसाद गौतमले राष्ट्रिय च्याम्पियनसिपका विजेता महिला र पुरुष खेलाडीले मात्र महासंघको निर्वाचनमा मताधिकार पाउने प्रष्ट पारे । बुद्धिचाल महासंघको विधानअनुसार वर्तमान राष्ट्रिय च्याम्पियन पुरुष र महिला खेलाडीलाई पनि मताधिकारको व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?