+
+

राष्ट्रिय बुद्धिचाल : तीन खेलाडीलाई संयुक्त अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ६ गते १९:११

६ वैशाख, काठमाडौं । फिडेमास्टर रुपेश जयसवाल, पूर्व नेपाल च्याम्पियन सुरवीर लामा र उदीयमान खेलाडी पुरुषोत्तम सिलवालले २२औं राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपको खुल्लातर्फ समान २ अंकका साथ संयुक्त अग्रता लिएका छन् ।

रुपेशले बुधबार दोस्रो चरणमा केशव श्रेष्ठलाई पराजित गरे । कालो गोटी लिएर सिलिसेन्स ड्राइगन प्रणालीमा खेल सुरु गरेका रुपेश सुरुवातमा रक्षात्मक थिए । ३५औं चालसम्म खेल बराबरी अवस्थामा ल्याउन सकेका उनले ४१औं चालदेखि आफ्नो पकड बनाए । ५४औं चालमा केशवलाई खेल त्याग्न बाध्य तुल्याए ।

सुरवीरले फिडेमास्टर क्षितिज भण्डारीलाई प्रतिस्पर्धात्मक रोमान्चक खेलमा पराजित गरी जितयात्रा कायम राखे । सेतो गोटी लिएर खेलेका सुरवीरले सातौं चालमा सिसिलिएन मार्को प्रणालीतर्फ धकेले । आक्रामक प्रत्याक्रमण भएको खेल ३३औं चालसम्म बराबरी अवस्थामा थियो । ३४औं चालमा क्षितिजको कमजोरीको फाइदा उठाएर अघि बढेका सुरवीरले ५७औं चालमा खेल आफ्नो पक्षमा पारे ।

उदीयमान युवा खेलाडी पुरुषोत्तम सिलवालले कोशी प्रदेश च्याम्पियन झापाका राजन सुवेदीलाई पराजित गरे । सेतो गोटी लिएर खेल सुरु गरेका पुरुषोत्तमले आक्रमक देखिएका राजनलाई केहि समयमै दबावमा राख्न सके । १४औं चालपछि नै राजन खेलमा पछि परिसकेका थिए । ३९औैं चालमा पुरुषोत्तमको जित निश्चित भयो ।

दिव्यांश मल्टी प्रोडक्सनको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा साविक विजेता पुरुषोत्तम चौलागाईं भने लगातार दोस्रो खेलमा असफल रहे । पहिलो चरणमा राजन सुवेदीसँग हारेका उनी दोस्रा चरणमा बुधबार झापाका प्रकाश नेपालसँग पराजित भए । पहिलो चरणमा सुरवीर लामासँग पराजित भएका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ पनि अंकबिहीन छन् ।

राजन सुवेदी, राजन पुरी, प्रकाश नेपाल र क्षितिज भण्डारीले १ अंक जोडेका छन् ।

महिलातर्फ वुमन फिडेमास्टर सुजना लोहनी, रिया श्रेष्ठ, सुशीला गुरुङ र शान्ती धिमाल लगातार दोस्रो चरणमा जित निकाल्दै २ अंकका साथ संयुक्त रुपमा शीर्ष स्थानमा छन् ।

सुजनाले पूजा भण्डारीलाई हराइन भने सुशीलाले साविक विजेता विजेता सिन्दिरा जोशीलाई पन्छाइन् ।

सुजना र पूजाको खेल रोमाञ्चक रह्यो । क्वीन्स ग्याम्विट प्रणालीमा खेल सुरु गरेकी सुजनाले लगातार आक्रमण गरिन् । रक्षात्मक बन्न बाध्य पूजाले ३१औं चरणसम्म आउँदा सुजनालाई कडा टक्कर दिएकी थिइन् । तर, एउटा ठूलो कमजोरीले उनी खेलमा पछि परिन् भने सुजनालाई नतिजा सुम्पन बाध्य रहिन् ।

रियाले पूजा सिंखडालाई पराजित गर्दा शान्ति धिमालले मार्सल तामाङमाथि जित निकालिन् । महिलातर्फ चितवनकी लक्ष्मी कँडेल र पूजा भण्डारीको १–१ अंक छ । प्रतियोगिता वैशाख १० गतेसम्म चल्नेछ ।

नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालयमा जारी प्रतियोगितामा बिहीवार तेस्रो र चौथो चरणका खेलहरु हुनेछन् ।

प्रतियोगितामा महिला र खुलातर्फको विजेताले यसै महिना बंगलादेशमा आयोजना हुने फिडे जोनल ३.२ बुद्धिचाल प्रतियोगिता तथा आगामी जुन ५–१५ सम्म काजाकस्तानमा आयोजना हुने एसियन कन्टिनेन्टल प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । उनीहरुले सन् २०२४ मा हंगेरीमा हुने ४५औं चेस ओलम्पियाडमा पनि सहभागिता सुरक्षित गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?