+
+

राष्ट्रिय बुद्धिचाल : रुपेश र सुजनालाई एकल अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ७ गते २०:०१

७ वैशाख, काठमाडौं । खुलातर्फ शीर्ष वरीयताका फिडेमास्टर रुपेश जैशवाल र महिलातर्फ सुजना लोहनीले काठमाडौंमा जारी राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपको तेस्रो दिन एकल अग्रता बनाउन सफल भएका छन् ।

होटल ले हिमालयमा जारी प्रतियोगितामा बिहीबार तेस्रो र चौथो चरणको प्रतिस्पर्धा भएको थियो । रुपेश र सुजना चौथो चरणसम्म अपराजित छन् ।

बिहीबारको पहिलो खेलमा रुपेशले साविक विजेता पुरुषोत्तम चौलागाईंलाई पराजित गरे । चौथो चरणमा उच्च लयमा रहेका युवा खेलाडी पुरुषोत्तम सिलवाललाई हराए ।

तेस्रो चरणमा कालो गोटी लिएर सिसिलिएन प्रणालीमा सुरु गर्ने प्रयास गरेका पुरुषोत्तमको खेल रुपेशले पेड्रोफ डिफेन्स प्रणालीमा मोडे । सुरुवाती दुई चरणमा पराजित भएर दवावमा रहेको पुरुषोत्तमले ३३औं चालसम्म पुग्दा एक सिपाही गुमाउन पुगे । त्यसपछि खेलमा रुपेशको पकड रह्यो । उनले ५३औं चालमा खेल जिते ।

चौथो चरणमा रुपेशले युवा खेलाडी पुरुषोत्तम सिलवाललाई ६३औं चालमा पराजित गरे । अघिल्ला तीन चरणमा जित हासिल गरेका पुरुषोत्तमले रुपेशलाई ४३औं चालसम्म बराबरीको अवस्थामा राखेका थिए । ४४चौं चालमा गरेको गल्तीको फाइदा उठाउँदै रुपेशले जित हासिल गरे ।

पूर्व नेपाल च्याम्पियन सुरवीर लामा, फिडेमास्टर क्षितिज भण्डारी र पुरुषोत्तम सिलवाल समान ३ अंकसहित संयुक्त रुपमा दोस्रो रेटिङमा छन् । विहीबारको खेल फिडेमास्टर क्षितिज भण्डारीका लागि सुखद रह्यो । अघिल्लो दिन पराजित रहेका उनले तेस्रो चरणमा पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठ र चौथो चरणमा राजीव कार्कीलाई पराजित गरेका थिए ।

दिव्यांश मल्टी प्रोडक्सनको प्रमुख प्रायोजन तथा नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजभेन्टको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा राजन सुवेदी र राजन पुरी २.५ अंकका साथ संयुक्त रुपमा तेस्रो पोजिसनमा छन् ।

महिलातर्फ वुमन्स फिडेमास्टर सुजना लोहनीले तेस्रो दिनसम्म एकल अग्रता बनाएकी छन् । अपराजित यात्रालाई कायम राख्ने क्रममा सुजनाले विहीबार तेस्रो चरणमा लक्ष्मी कँडेल र चौथो चरणमा युवा खेलाडी रिया श्रेष्ठमाथि जित रचिन् । सुजनाले लक्ष्मीमाथि ७१औं चाल र रियामाथि ५७औं चालमा जित हासिल गरेकी हुन् ।

सुशीला गुरुङ र रिया श्रेष्ठ ३ अंकका साथ सुजनालाई पछ्याइरहेका छन् । शान्ति धिमाल, लक्ष्मी श्रेष्ठ र पूजा भण्डारीको समान २ अंक छ । खुला र महिलातर्फ समान १० खेलाडीको सहभागिता रहेको प्रतियोगिता राउण्ड रोविन प्रणालीमा सञ्चालन भइरहेको छ । शुक्रबार पाँचौं र छैटौं चरणका खेलहरु हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?