+
+

चित्रकलामा देवता बन्दाका दु:ख (तस्वीर)

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०८० वैशाख ८ गते १८:४४

काठमाडौं । काठमाडौंको सिद्धार्थ आर्ट ग्यालरीमा अहिले एक महिने परम्परागत तथा आधुनिक चित्रकला प्रदर्शनी भइरहेको छ । बुधबारदेखि जारी प्रदर्शनीमा अवलोकनका लागि पुगेकाहरुलाई त्यहाँ राखिएका चित्रले लोभ्याउँछन् ।

चित्रकला सेक्सनको ढोकाबाट छिर्ने बित्तिकै दर्शक एकछिन त्यहीं अडिन्छन् । जसै भित्तामा राखिएका चित्रमा उनीहरुको आँखा पुग्छ, मुखबाट निस्कन्छ, ‘वाह’ । अर्थात् उनीहरुलाई त्यहाँ राखिएका कला लोभलाग्दो लाग्छ ।

ढोकाबाट छिर्ने बित्तिकै ठूलो आयात आकारको रंगीन र श्यामश्वेत (कालो सेतो) चित्र देखिन्छ । यसको तल लेखिएको छ, ‘गड लस्ट चाइल्स हुड (भगवानले बाल्यकाल गुमाए) ।’ त्यस चित्रमा बीचमा रंगीन देवता छ र दायाँबायाँ श्यामश्वेत रंगमा दुई जना बालक हात समाएर बसेमा छन् । भक्तपुरका चित्रकार बालकृष्ण वनमालाले तयार पारेको चित्र हो यो ।

उक्त चित्रबारे वनमाला प्रष्ट पार्छन्, ‘यी भक्तपुरमा करिब ११ महिना हुने नवदुर्गा जात्राका पात्र हुन् । बीचको श्वेत भैरव र सिमदुम । जुन जात्रा बिहानदेखि बेलुकासम्म हुन्छ । भक्तपुरको टोलटोलमा र काठमाडौं, काभ्रेका विभिन्न स्थानमा हुन्छ । यसैलाई चित्रमा उतार्ने कोसिस गरेको हुँ ।’

झण्डै एक वर्ष चल्ने यो जात्रामा देवगण बनेका बच्चाहरु स्कुल जान नपाउने उल्लेख छ । स्कुल जान नपाउने भएपछि उनीहरुको एक वर्षको पढाइ नै खेर जान्छ । ‘चित्रमा उनीहरुको भविष्य ओझेलमा परेको देखाउन खोजिएको हो,’ वनमाला भन्छन् ।

चित्रमा पछाडिपट्टि तीन जनाको छाया कालो राख्नुको अर्थ देवगण बनेका तीन जनाकै बुढेसकाल अन्धकारमय हुने देखाएको उनी बताउँछन् । वनमालाका चित्रजस्तै भाव बोक्ने अरु थुप्रै चित्र त्यहाँ राखिएका छन् । त्यसमा आधुनिक चित्रकला पनि समावेश छन् ।

सिद्धार्थ आर्ट ग्यालरीकी संस्थापक संगीता थापा भक्तपुरका चित्रकारहरुले तयार पारेको चित्रहरुले गहिरो अर्थ बोकेको बताउँछिन् ।

प्रदर्शनीमा आशा, क्रान्ति, प्रेम, खुसी, तनाव, आत्मसन्तुष्टि झल्काउने चित्रहरु राखिएका छन् । भक्तपुरका डिभोटी आर्टिस्ट सर्कल र ख्वपः पौभा च्वमी पुचःले तयार पारेका चित्रहरुको प्रदर्शनी आगामी जेठ ५ गतेसम्म चल्नेछ । प्रदर्शनीमा ५० परम्परागत र २१ वटा आधुनिक चित्र राखिएका छन् ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
रेणु त्वानाबासु

अनलाइनखबरकी संवाददाता त्वानाबासु समाज र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?