+
+

मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाउने निश्चित

अब बन्नेछ कांग्रेस–माओवादीको गठबन्धन सरकार

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ९ गते ७:३९

९ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् । गत चैत १० गते अधिकारी नेतृत्वको सरकारमा सहभागी भएका माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिँदै समर्थन पनि फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिनका लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने छ । ‘११ बजे कार्यव्यवस्थाको बैठकले कार्यसूची तय गर्छ । आज मुख्यमन्त्रीले विश्वासको मत लिनेमात्र कार्यसूची तय गर्ने तयारी छ,’ प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपसचिव प्रेम सुवेदीले भने ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार टिकाइराख्नका लागि मुख्यमन्त्री अधिकारीले ३१ सांसदको समर्थन जुटाउनुपर्छ । तर उनले विश्वासको मत नपाउने निश्चित छ । किनभने उनको साथमा एमालेका २२ र राप्रपाका दुई सांसद मात्र छन् ।

एमाले, माओवादी र राप्रपाको समर्थनमा गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारी १०५ औं दिनपछि सत्ता छोड्नुपर्ने अवस्थामा आइपुगेका छन् ।

माओवादीका दुई मन्त्री हरिबहादुर चुमान र रेशमबहादुर जुग्जालीले राजीनामा दिएर समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका अधिकारीलाई सरकार छाड्न दाबाव परेको थियो । तर उनले संसद फेस गर्ने तर डराएर नभाग्ने बताउँदै आएका थिए ।

अब कांग्रेस–माओवादीको आलोपालो सरकार

सभामुख बाहेक ७ सदस्यीय माओवादी र २७ सदस्य रहेको कांग्रेस मिल्दा सरकार बनाउन सहज बहुमत पुग्छ । यसमा मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेका राजीव गुरूङ (दीपक मनाङे) पनि एकीकृत समाजवादीबाट थपिँदा गठबन्धनतर्फ ३५ सदस्य पुग्छ । अब कांग्रेस–माओवादीको आलोपालो सरकार गण्डकीमा बन्ने छ ।

नेपाली कांग्रेसका सुरेन्द्र पाण्डेलाई चुनावताकै माओवादी अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री बनाउने वचन दिएका थिए । तर, माओवादी संसदीय दलका नेता चुमानले अघिल्लो कार्यकालदेखि नै मुख्यमन्त्रीको दाबी गरेका थिए । तर, पाउने सम्भावना कम थियो ।

तनहुँ–१ को उपचुनावमा दाबी गरेर पनि कांग्रेसका गोविन्द भट्टराईले टिकट पाएकाले उनलाई जिताउन माओवादीले शीर्ष तहमै गरेको सौदाबाजीपछि गण्डकी सरकारमा आलोपालो पक्का भएको नेताहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?