![](https://www.onlinekhabar.com/wp-content/uploads/2023/04/communist-2.jpg)
९ वैशाख, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा काठमाडौंमा एक कार्यक्रम आयोजना गरेको छ ।
खुलामञ्चमा आयोजित कार्यक्रममा नेकपा एमालेबाहेक अरु कम्युनिस्ट पार्टीका नेताहरु पनि सहभागी भएका थिए । नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष कृष्णबहादुर महरा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई उक्त कार्यक्रममा सहभागी थिए । उक्त कार्यक्रममा नेकपा एमालेका नेताहरु भने सहभागी भएनन् ।
महासचिव विप्लवले वर्तमान राज्य व्यवस्था असफल भइसकेको दाबी गरे । देशलाई स्वाधीन बनाउन र नागरिकलाई मालिक बनाउनका लागि वैज्ञानिक समाजवादको विकल्प नभएकाले त्यसका लागि बहस सुरु गर्नुपर्नेमा पनि उनले जोड दिए ।
जनताको शासन सत्ता ल्याउनका लागि आफ्नो पार्टीले अन्य कम्युनिष्ट पार्टीहरुसँग खुला बहस गर्न चाहेको महासचिव विप्लवको बताए ।
‘आजको संसदीय व्यवस्था असफल भयो । सफल छैन । नेपाली जनतालाई यति धेरै निराश, यति धेरै लज्जित यो व्यवस्थाले बनाइराखेको छ । त्यसैले हामीले यो बाट अगाडि बढाउनका लागि नयाँ आधारमा बहस खोजौं । छलफल गरौं । हाम्रो यो दृष्टिकोण हो । जनतालाई स्वाधीन बनाउन छ भने जनताको सत्ता बाहेक अरुबाट सम्भव छैन’ उनले भने ।
महासचिव विप्लवले नेपालमा बैदेशिक रोजगारी भित्र्याएर नेपाली जनतालाई पराधीन बनाउने कामको सुरुवात कांग्रेसले गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
हेर्नुहोस् तस्वीरहरु
तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर ।
प्रतिक्रिया 4