+
+

के ट्वीटरको समय सकिएकै हो ?

जोए क्लेनम्यान/बीबीसी जोए क्लेनम्यान/बीबीसी
२०८० वैशाख १० गते १८:४३

काठमाडौं । एलन मस्कले पहिलोपटक सार्वजनिक रुपमा ट्वीटर किन्ने इच्छा जाहेर गरेको पनि झण्डै एक वर्ष भएको छ ।

त्यो दिन मेरो यो जागिरको पहिलो दिन थियो । त्यसयता के ट्वीटर असफल हुन थालेको हो ? भनेर मलाई धेरैपटक सोधियो र मैले त्यस्तो होइन भनेर सधैं भन्ने गरेको छु । तर अहिले भने म धेरै कारणले गर्दा ढुुक्क छैन ।

एउटा नयाँ ट्वीटर

पूर्णतर्या नयाँ ट्वीटरको सुरुवातको यो समयमा हामीले के देखिरहेका छौं ? अहिले ट्वीटर अकाउन्टमा तपाईंले जुन निलो टिक देख्नुहुन्छ, त्यो भनेको कुनै अकाउन्टहरु वास्तविक छन् भनेर ट्वीटरले प्रमाणित गरेका अकाउन्ट होइनन् । ती अकाउन्टहरुले मासिक रुपमा शुल्क तिरेर त्यो चिह्न पाएका हुन् ।

हुनत भेरिफिकेसन ब्याज पाउनका लागि रकम भुक्तान गर्ने बेलामा समेत प्रमाणीकरणको प्रक्रिया नहुने होइन, तथापि धेरै नक्कली अकाउन्टहरुले समेत पैसा तिरेर निलो टिको प्राप्त गरेका धेरै उदाहरण छन् ।

यो महिनाको सुरुवाततिर व्यक्तिगत वित्तीय विज्ञ मार्टिन लिविसले आफ्नो नाउँमा खोलिएको एउटा भेरिफाइड अकाउन्ट देखे जसले हजारौं फलोअर्समा क्रिप्टोकरेन्सीको ठगीलाई प्रवद्र्धन गरिरहेको थियो । आफ्नै नामको भेरिफाइड अकाउन्ट उनले खोलेका हैनन्, अरु कसैले चलाएको नक्कली अकाउन्ट हो ।

अहिले धेरैको रोजाइमा पर्ने भन्दा पनि पैसा तिर्नेहरु ट्वीटर प्लाटफर्ममा धेरै देखिन पाउँछन् । यसबाट भविष्यमा ट्वीटरमा कस्तो भिड हुनेछ भन्ने अनुमान गर्न सकिन्छ ।

ट्वीटरले कुनै तथ्यांक सार्वजनिक नगरेको भए पनि एकजना शोधकर्ता विश्लेषकका अनुसार ट्वीटरका कुल ३० करोड प्रयोगकर्तामध्ये सशुल्क सब्सक्रिप्सनवाला प्रयोगकर्ताको संख्या निकै कम छ ।

रहेन समतामूलक प्लाटफर्म

पूरानो संरचनामा महत्वपूर्ण रहेको कुरा अनुसार नै निर्णय गर्नु उपयुक्त हुन्छ भनेर आफूले विश्वास नगर्ने मस्क बताउँछन् । सायद उनको यो तर्क बलियो पनि हुनसक्छ । तर एलन मस्ककै जानकारीमा कतिपयलाई निशुल्क रुपमा ब्लु टिक प्रदान गरिएको छ । अनुसन्धान प्लाटफर्म बिलिङक्याटले पनि निशुल्क रुपमा आफ्नो ट्वीटर अकाउन्टमा ब्लू ब्याज पाएको छ ।

साथै स्टेफेन किङ्ग, ली ब्रोन जेम्स तथा विलियम स्याटनर जस्ता ट्वीटर ब्लू सब्सक्रिप्सनका आलोचक व्यक्तिहरुको ट्वीटरको सब्सक्रिप्सन शुल्क आफैंले तिरिदिएको मस्कले दाबी गरेका छन् ।

ट्वीटरका अनुसार मासिक विज्ञापनमा १ हजार डलर पनि खर्च नगरेका वा ब्लू सब्सक्रिप्सन खरीद नगर्ने कम्पनीहरुले अब ट्वीटरमा विज्ञापन गर्न सक्नेछैनन् । यो भनेको साना व्यवसायका लागि गरिएको एउटा परिवर्तनको उदाहरण हो ।

यसले ट्वीटरको समग्र डिजिटल विज्ञापन आम्दानीमा असर पार्ने देखिन्छ ।

यी सबै तथ्यले के देखाउँछ भने वाक स्वतन्त्रताका कथित मसिहा भनिने एलन मस्कको नेतृत्वमा ट्वीटर अन्ततः सबैले समान हैसियत प्राप्त गर्नसक्ने प्लाटफर्मको रुपमा रहन सकेन ।

निलो टिको गायब

मानिसहरु सामान्यतया कुनै पनि समुदाय छाड्न चाहँदैनन् र ट्वीटर तुलनात्मक रुपमा सानै र अव्यवस्थित रहे पनि प्रभावशाली मानिँदै आएको छ ।

तर यसको सञ्चालन भने खराब तरिकाले हुँदै आयो । यसको वित्तीय अवस्था खराब रहेको मात्र होइन अन्य सोसल मिडिया प्लाटफर्महरुजस्तै यसले पनि भ्रामक सूचना तथा दुर्व्यवहारहरुलाई नियन्त्रण गर्न संघर्ष गरिरहेको थियो । एलन मस्क प्रसस्तै धन तथा फलोअर्स भएका निकै चतूर उद्यमी हुन् । मलाई थाहा छ कि उनी विवादित हुन सक्दछन्, तर पनि उनले दिशा परिवर्तन गर्न सक्दछन् भन्ने लाग्छ ।

ट्वीटरमा भएको पछिल्लो सब्सक्रिप्सन नियमसँगै क्यानेडाली प्रशारण संस्थान र एनपीआर लगायतले ट्वीट गर्न छाडेका छन् । मस्कले ट्वीटर खरीद गरेयता गायक एल्टन जोन, कमेडियन स्टेफेन फ्राइ तथा मोडल गिगी हादिद लगायतका सेलिब्रेटीहरुले आफ्नो ट्वीटर अकाउन्ट बन्द गरिसकेका छन् ।

बीबीसीले पनि आफ्नो ट्वीटर अकाउन्टको भेरिफिकेसनको लागि शुल्क नतिर्ने बताइसकेको छ । जसका कारण उनले समाचार संस्थाको रुपमा आफ्नो ट्वीटर अकाउन्टमा पाएको सुनौलो चिन्ह पनि गुमाइसकेको छ । बीबीसी न्यूजको ट्वीटर अकाउन्टले आधिकारिकताको वैकल्पिक उपायका रुपमा निश्चित पत्रकारहरुलाई फलो गर्न थालेको छ ।

धेरै मानिसहरु आफ्नो ट्वीटर अकाउन्टको ब्लू टिक हराएकोमा अचम्मित छन् । कतिपयले सामाजिक सञ्जालमा ट्वीटरको निलो टिको गुमाएको दिवस मनाइरहेका छन् भने कतिपयले निलो चिह्न विहीन पारिएकोमा हँसिमजाक गरिरहेका छन् ।

यद्यपि धेरै मानिसले आफ्नो ट्वीटरबाट निलो चिह्न गायब भएकोमा दुखी छैनन् । बीबीसीले आफ्नो ट्वीटरको भेरिफिकेसन चिन्ह गायब भएको विषयमा लेखेको थियो, ‘मैले मलाई जे भन्छु, म त्यहीँ हुँ ।’ तथापि पछिल्ला कदमहरुले ट्वीटरलाई कार्य तथा सामाजिक साधन दुबैको रुपमा कुन दिशातर्फ लैजाँदैछ भन्ने कुरा भने सोँचनीय बनेको छ ।

ठ्याक्कै यहीँ समयमा ट्वीटरका संस्थापक ज्याक डोर्सीले ब्लू स्काई नामक आफ्नो नयाँ सोसल नेटवर्क विस्तारै अगाडि बढाउँदैछन्, जुन धेरै हदसम्म ट्वीटर जस्तै डिजाइनको छ ।

अहिलेका लागि ब्लू स्काई निकै सानो छ र कसैले इन्भाइट गरेर मात्रै यसको सदस्य बन्न सकिन्छ । तर पनि यसले सुरुमै ठूलो उत्साह सिर्जना गरेको छ । यो समयमा कुनै नयाँ ‘सानो तर प्रभावशाली’ स्पेस खुल्न सक्दछ, र त्यो मौका ब्लू स्काइले पाउन सक्छ । ट्वीटर बिक्री गरेयता ज्याक डोर्सीले व्यवसाय कसरी हाँक्ने भन्ने एक—दुई कुरा सिकेकै होलान् भन्ने आशा गरौं ।

(बीबीसीका प्रविधि सम्पादक क्लेनम्यानको यो आलेख बीबीसीको अनलाइन संस्करणबाट भावानुवाद गरिएको हो ।) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?