+
+
Shares

एप्सटीन काण्डमा मस्कको नाम पनि जोडियो, के छ कागजातमा ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ११ गते ८:०५

११ असोज, काठमाडौं । अमेरिकी यौन अभियुक्त जेफ्री एप्सटीनको सम्पत्तिसँग जोडिएका नयाँ कागजातहरू सार्वजनिक भएका छन् । यी कागजातहरूमा सन् २००७ मा दोषी ठहर भइसकेपछि पनि एप्सटीन धेरै ठूला नेता र उद्योगपतिहरूसँग सम्पर्कमा रहेका तथ्य खुलासा भएका छन् ।

यी नामहरूमा टेस्लाका मालिक इलोन मस्क, पेपालका सह-संस्थापक पीटर थिल र ट्रम्पका सहयोगी स्टीव बैनन समावेश छन्।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार, अमेरिकी हाउस ओभरसाइट एन्ड गभर्नमेन्ट रिफर्म कमिटीलाई कुल ८,५४४ कागजातहरू हस्तान्तरण गरिएको छ। यसमा दैनिक तालिका, उडान विवरण, पैसाको रेकर्ड र फोन सन्देशहरू समावेश छन्।

कागजातअनुसार, डिसेम्बर २०१४ मा मस्कले एप्सटीनको निजी टापुको यात्रा गर्ने योजना बनाएका थिए। एउटा नोटमा लेखिएको छ, ‘के यो अझै निश्चित छ?’

यस्तै, सन् २०१७ मा पीटर थिलसँग दिवाभोज र सन् २०१९ मा स्टीव बैननसँग बिहानको खाजाको विषय पनि उल्लेख छ। यो भेट एप्सटीन पक्राउ पर्नुभन्दा केही महिनाअघिको भएको बताइएको छ।

रेकर्डहरूमा प्रिन्स एन्ड्र्यूसँग जोडिएको मसाज भुक्तानीको पनि उल्लेख छ। साथै, सन् २००० देखिको उडान विवरणहरूमा एप्सटीन, गिसलेन म्याक्सवेल, प्रिन्स एन्ड्र्यू र अन्य व्यक्तिहरूको यात्राको विवरण दर्ता छ।

ती कागजातहरूले एप्सटीन सन् २००७ को विवादास्पद ‘प्लीडील’ (अभियोजन सम्झौता) पछि पनि शक्तिसम्पन्न र धनी व्यक्तिहरूसँग नजिकको सम्बन्धमा थिए भन्ने देखाउँछ । एप्सटीनमाथि दर्जनौं नाबालिग केटीहरूको यौन शोषणको आरोप लागेको थियो, तर २००७ मा फ्लोरिडामा भएको एक अभियोजन सम्झौता अन्तर्गत उनले वेश्यावृत्तिसँग सम्बन्धित एउटा मात्र आरोप स्वीकार गरेका थिए ।

उनलाई १३ महिनाको जेल सजाय भयो । यद्यपि, उनलाई दिनमा काम गर्ने पाउने सुविधासहित उक्त सजाय सुनाइएको थियो । साथै, उनीमाथि लागेका बाँकी गम्भीर आरोपहरू हटाइएका थिए। यो सम्झौतामा उनका सम्भावित सहयोगी वा ठूला नेटवर्कको अनुसन्धान नगरिने पनि तय भएको थियो।

यसैबीच, रिपब्लिकन नेताहरूले डेमोक्र्याटहरूले राजनीतिक फाइदा लिनका लागि छनोट गरिएका कागजातहरू मात्र सार्वजनिक गरेका आरोप लगाएका छन् ।

पीडितहरूको सुरक्षाका लागि धेरै कागजातहरू अहिले पनि सिल गरिएका छन्। आउने हप्ताहरूमा थप खुलासाहरू हुन सक्ने बताइएको छ ।

एप्सटीनले सन् २०१९ को अन्त्यमा जेलभित्रै आत्महत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?