News Summary
Generated by OK AI. Editorially reviewed.- सोशल मिडिया प्लेटफर्म एक्सका मालिक एलन मस्कले क्रिएटरहरूको भुक्तानी युट्युबभन्दा बढी गर्ने संकेत दिएका छन्।
सोशल मिडिया प्लेटफर्म एक्सका मालिक एलन मस्कले फेरि एकपटक टेक जगतमा हलचल मच्चाएका छन् ।
एक्सले निकट भविष्यमा नै कन्टेन्ट क्रिएटरहरूलाई दिइने भुक्तानीमा व्यापक वृद्धि गर्नसक्ने र त्यो परिमाण युट्युबको भन्दा पनि बढी हुन सक्ने मस्कले संकेत गरेका छन् ।
इन्टरनेटमा लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएमएस) र कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रभाव तीव्र रूपमा बढिरहेको समयमा एलन मस्कको यस्तो निर्णय आएको हो । क्रिएटर्सलाई उचित पारिश्रमिक नदिने प्लेटफर्महरू भविष्यमा अप्रासंगिक हुँदै जाने मस्कको दाबी छ।
हालै एक प्रयोगकर्ताले एक्समा गरेको पोस्टको जवाफमा मस्कले क्रिएटरहरूको भुक्तानी दर बढाउने कुरामा सहमति जनाए ।
एकजना प्रयोगकर्ताले लेखेका थिए- अब केवल भुक्तानी दिने प्लेटफर्महरू मात्र टिक्नेछन्, किनकि एआई मोडेलहरूले इन्टरनेटको बाँकी सामग्री ‘निल्दै’ छन्।
त्यसको जवाफ दिँदै मस्कले लेखे- ठीक छ, त्यसो गरौँ । तर सिस्टमसँग कुनै पनि प्रकारको धोखाधडी हुन नदिन कडा नियम लागू गरिनेछ ।
मस्कको नयाँ योजना के हो ?
वास्तवमा एलन मस्कको योजना सरल तर प्रभावकारी देखिन्छ । त्यो हो, क्रिएटर्सलाई बढी आम्दानी तर कडा नियमन ।
यद्यपि एक्सले अहिले पनि विज्ञापनबाट आएको आम्दानी क्रिएटर्ससँग बाँड्दै आएको छ । तर अब उसले यस मोडललाई विस्तार गर्दै युट्युबसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने तयारीमा छ।
तर यसो गर्दा धेरै कमाउने लोभले बोट्स र नक्कली एङ्गेजमेन्ट बढाउन सक्ने चिन्ता उनमा छ। त्यसैले इन्टरनेट प्रणालीमा यस्तो गलत कार्य गर्नेमाथि कडा कारबाही गरिनुपर्नेमा मस्क अडिग छन् ।
मस्कले क्रिएटर्सको भुक्तानी बढाउने संकेत गरेपनि यस्तो वृद्धिबाट केवल प्रिमियम प्लस सब्सक्रिप्सन लिने क्रिएटर्सलाई मात्र लाभ मिल्ने बताइएको छ ।
सोसल मिडिया प्लेटफर्म एक्सका प्रोडक्ट हेड निकिता बियरले मस्कको भनाइलाई पुष्टि गर्दै उनको टोलीले एक्समा हुने धोखाधडीलाई ९९ प्रतिशतसम्म रोक्न सक्ने नयाँ प्रणाली विकास गरिरहेको जानकारी दिएका छन् ।
यसले ओरिजिनल र गुणस्तरीय कन्टेन्ट बनाउने क्रिएटर्सले मात्र लाभ पाउने कुरालाई सुनिश्चित गर्ने उनको भनाइ छ ।
स्मरण रहोस् भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युब लामो समयदेखि क्रिएटर्सका लागि सबैभन्दा ठूलो आम्दानीको स्रोत रहँदै आएको छ । यदि एलन मस्कले भुक्तानी बढाउने योजना कार्यान्वयन गरेमा एक्स प्लेटफर्म क्रिएटर्सका लागि उच्च आम्दानीको श्रोत बन्नेछ । साथै यसले एक्सलाई भिडियो हेर्नका लागि रोजाइमा पर्ने अनि ‘क्रिएटर-केन्द्रित’ प्लेटफर्मको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्लेषण गरिएको छ ।
एजेन्सी
प्रतिक्रिया 4