+
+

१५ दिनपछि उठाइयो सिंहदरबारको फोहोर 

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० वैशाख ११ गते १७:२८

११ वैशाख,काठमाडौं । सिंहदरबारको फोहोर सोमबारदेखि उठ्न थालेको छ । सर्वोच्च अदालतले शुक्रबार काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि सोमबारदेखि सिंहदरबारको फोहोर उठेको हो ।

मेयर बालेन्द्र साह(बालेन) फोहोर व्यवस्थापन गर्ने कम्पनीलाई फोहोर नउठाउन भनेपछि २६ चैतदेखि सिंहदरबार क्षेत्रको फोहोर उठेको थिएन ।

महानगरपालिकाले सुकुम्बासी बस्ती हटाउन खोज्दा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर साहले बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा सिंहदरबारको फोहोर लैजान नदिने अडान राखेका थिए ।

मेयर साहको अडान कै कारण सिंहदरबार क्षेत्रको फोहोर व्यवस्थापनमा समस्या आएपछि अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध रिट दायर गरेका थिए । उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आदेश प्राप्त भएको मितिले ३ दिनभित्र फोहोर उठाइसक्न महानगरपालिकाका नाममा शुक्रबार आदेश जारी गरेको थियो ।

सिंहदरबारभित्रको फोहोर मैला उठाउने जिम्मा पाएको परिवर्तन सेवा प्रालिका सञ्चालक मित्रप्रसाद घिमिरेले काठमाडौंको मेयर बालेनले फोहोर उठाउनको लागि ल्याण्डफिल साइटमा कुनै अवरोध नहुने जनाएपछि फोहोर लैजान थालेको बताए ।

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा महानगरपालिकाले फोहोर लैजान नदिने भएपछि सिंहदरबार भित्रै फोहोरको व्यवस्थापन समेत सुरु भएको थियो । फोहोर रोकिन थालेपछि कुहिने फोहोर मल र पशुआहार, पुनः प्रयोग गर्नुपर्ने फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्दै आएको छ ।

सिंहदरबारबाट कुहिने र नकुहिने गरी दैनिक ५ टन फोहोर उत्पादन हुँदै आएको छ । ५ टन मध्ये फोहोर वर्गीकरण गरेर ३ टन भन्दा धेरै फोहोरको व्यवस्थापन सिंहदरबारभित्रै भएपनि करिब २ टन फोहोर ल्याण्डफिल साइट लैजान पर्ने फोहोर उत्पादन हुने गर्दछ ।

आदेश अन्य निकायले नि मानोस् : बालेन

सर्वोच्च अदालतले सिंहदरबारको फोहोर उठाउन महानगरपालिकालाई आदेश दिएपछि आदेशको पालना गर्ने भन्दै मेयर साहले सर्वोच्चको आदेश अन्य निकायले पनि पालान गर्नुपर्ने बताएका छन् ।

‘अदालतका फैसला, आदेश र निर्देशनहरु काठमाडौं महानगरले मात्रै होइन, संघीय सरकार लगायत सबैले दृढतापूर्वक पालना गर्न आवश्यक छ,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।

उनले सर्वोच्च अदालतको आदेश लगायत आम महानगरवासीको पक्षमा सम्मानित सर्वोच्च अदालतबाट भएका विभिन्न आदेशहरुको पालना नभएको विषयमा पनि सम्बन्धित सबैले उत्तिकै जिम्मेवारीबोध गर्न जरुरी रहेको बताएका छन् ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?