+
+
टिप्पणी :

रास्वपाको शक्ति बढ्दा कांग्रेसमा भय

कांग्रेस परित्याग गरेर एमाले वा माओवादी प्रवेश गर्न वैचारिक रूपमा पनि सहज थिएन । तर, वैकल्पिक लोकतान्त्रिक पार्टीको रूपमा रास्वपाको उदयले अब कांग्रेस कार्यकर्ताका लागि एउटा विकल्प उपलब्ध हुने अवस्था बनेको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८० वैशाख १२ गते २१:२५
स्वर्णिम वाग्लेलाई पार्टीको ब्याज लगाइदिँदै रास्वपा महामन्त्री मुकुल ढकाल, साथमा रवि लामिछानेलगायत । फाइल तस्वीर

१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा आफ्नो दलका मतदाता दुई प्रकृतिका रहेको विश्लेषण गर्छन् ।

पहिलो, पार्टीका विभिन्न संरचनामा संगठित सदस्य । कांग्रेसलाई मत दिने दोस्रो प्रकृतिका मतदाता बारे उनी भन्छन्, ‘जो कांग्रेसमा संगठित छैनन् तर, आफूलाई ‘डेमोक्रयाट’ भन्न रुचाउँछन्, उनीहरूको मत जोगाउनु हाम्रा लागि चुनौती हो ।’

थापाले अनलाइनखबरसँग भने अनुसार, पहिलो प्रकृतिका मतदाताले स्वाभाविक रूपमा कांग्रेसलाई मत खसाउँछन् । तर, कांग्रेसले प्राप्त गरेको पछिल्लो दुई निर्वाचनको परिणाम हेर्दा उसले दोस्रो प्रकृतिका मतदाता बचाउन सकेको छैन ।

पछिल्ला दुई महाधिवेशनको तुलना गर्दा कांग्रेसको क्रियाशील सदस्यताको संख्या झण्डै दोब्बर बढेको छ । यसरी सक्रिय कार्यकर्ताको संख्या बढे पनि उसको मत भने घट्दो छ । क्रियाशील सदस्य वृद्धि हुँदा समानुपातिकको मत घटेको तथ्यांकले देखाउँछ ।

१३ औं महाधिवेशनमा क्रियाशील सदस्यता संख्या ४ लाख ७० हजार थियो । २०७४ सालमा भएको निर्वाचनमा कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत समानुपातिकतर्फ पाएको थियो ।

जबकि १४ औं महाधिवेशनमा आइपुग्दा क्रियाशील सदस्य संख्यामा उल्लेख्य वृद्धि भयो । पार्टी सदस्यको संख्या थप्न सकेको कांग्रेसले समानुपातिकतर्फ मत भने बढाउन सकेन । १४ औं महाधिवेशनका लागि आठ लाख ५२ हजार ७१२ जना क्रियाशील सदस्यता हुँदा नयाँ चार लाख ४३ हजार ६७८ जना थपिएका थिए ।

क्रियाशील सदस्यको तीव्र वृद्धि हुँदा गत निर्वाचनमा समानुपातिकतर्फ भने उसले २७ लाख १५ हजार २२५ मत मात्रै प्राप्त गरेको थियो । पाँच वर्षको अन्तरमा क्रियाशील सदस्यता सङ्ख्या बढ्दा उसको लोकप्रिय मत भने घटेको छ । २०७४ सालमा भन्दा २०७९ मंसिरमा भएको निर्वाचनमा कांग्रेसले चार लाख १३ हजार १६४ कम मत पाएको छ ।

त्यसो त कांग्रेसले प्रत्यक्षमा पनि आफ्नो मत बचाउन सकेको छैन । तनहुँ–१ को उपनिर्वाचनको मतपरिणाम विश्लेषण गर्दा कांग्रेसले प्रत्यक्षतर्फको मत पनि जोगाउन सकेन । ६ महिनाको अवधिमा आफ्नो पकड भनेकै क्षेत्र कांग्रेसले उल्लेख्य मत गुमायो ।

कांग्रेसभित्र आफ्नो विकल्पको रूपमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी बनिदेला कि भन्ने डर उब्जिएको छ । वैकल्पिक लोकतान्त्रिक शक्तिका रूपमा रास्वपाको उदय भए पार्टीको शक्ति खस्किन सक्ने नेताहरूको बुझाइ छ । कांग्रेस परित्याग गरेर एमाले वा माओवादी केन्द्र प्रवेश गर्न असहज हुने हिजोको अवस्थामा परिवर्तन भएर नेता कार्यकर्ताका लागि रास्वपा एउटा लोकतान्त्रिक विकल्प हुनसक्ने आंकलन नेताहरूको छ ।

त्यसैले रास्वपालाई तनहुँमा रोक्ने भरमग्दुर प्रयत्नमा थियो कांग्रेस । उपनिर्वाचन भएका तीनमध्ये कांग्रेसले प्रतिष्ठाको लडाईं तनहुँ–१ लाई बनाएको थियो । तनहुँ–१ लाई कांग्रेसले पहिलो प्राथमिकतामा राख्नुमा मूलतः तीन कारण थिए ।

पहिलो, राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएको क्षेत्र जोगाउनु । दोस्रो, कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भएका डा. स्वर्णिम वाग्लेसँग बदला लिनु । तेस्रो, वाग्ले निर्वाचित हुँदा कांग्रेस परित्याग गरेर लाग्न सक्ने लर्को रोक्नु र रास्वपालाई वैकल्पिक दलमा स्थापित हुन नदिनु ।

स्वर्णिमको बर्हिगमनलाई कांग्रेसले ‘धोका’ को रूपमा बुझेको छ । महामन्त्री गगन थापा निकट रहेर काम गरेका उनले अकस्मात पार्टी परित्याग गर्दा थापा पनि आश्चर्यमा परेका थिए । सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाप्रति आक्रोश व्यक्त गर्दै उनी कांग्रेसबाट बाहिरिएका थिए ।

तर, छ हजार ४१३ क्रियाशील सदस्य रहेको तनहुँ–१ मा कांग्रेसले ‘शर्मनाक’ हार व्यहोर्नुपरेको छ । रास्वपाका उम्मेदवार रोक्न जोडतोडले नेताहरू सक्रिय भएको यो क्षेत्रमा समेत पौडेलको विरासत कांग्रेसले जोगाउन सकेन ।

रवि लामिछानेको नेतृत्वमा रहेको रास्वपाले मूलधारमा सर्वाधिक क्षति आफ्नो दललाई पुर्‍याउने कांग्रेस नेताहरूको बुझाइ छ । पार्टीप्रतिको वितृष्णा पैदा भएका निष्ठाको राजनीति गर्नेहरू, वर्षौं अवसरबाट वञ्चित नेता कार्यकर्ताका लागि विकल्पको दल रास्वपा हुनसक्ने सम्भावना छ । स्वर्णिमको बहिर्गमनले यसलाई थप बलियो बनाएको छ ।

तनहुँमा दुईपटक जिल्ला सचिव बनेका विश्व बास्तोला कांग्रेस परित्याग गरेर रास्वपाको प्रचार संयोजक भएर खटिए । तनहुँका बौद्धिक व्यक्तित्व डा. शेषनारायण न्यौपाने कांग्रेस परित्याग गरेर स्वर्णिमको चुनावी प्रचारमा लागे ।

तनहुँमा नेता कार्यकर्ता कांग्रेसबाट बाहिरिँदै गर्दा त्यसको असर अन्य जिल्लामा समेत पुगिसकेको छ । नवलपुरका सचिव करुणा सागर सुवेदीले दुई साताअघि कांग्रेसबाट राजीनामा दिए । स्थानीय तहको चुनावको घोषणापत्र तयारी समितिको सदस्य रहेकी शिलशिला आचार्यले स्वर्णिमसँगै कांग्रेस छोडिन् ।

निर्वाचित भएपछि कांग्रेसका नेता कार्यकर्ता तान्न स्वर्णिमलाई नैतिक बल थपिन्छ र कांग्रेसले व्यहोर्नुपर्ने क्षतिको अनुपात बढेर जानेछ । ‘स्वर्णिम पराजित हुँदा कांग्रेसका नेता कार्यकर्तालाई रास्वपामा आमन्त्रण गर्न उनीसँग नैतिक बल कमजोर हुने थियो,’ कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘निर्वाचित हुँदा कांग्रेसमा रहेका क्षमतावान् र अवसरबाट वञ्चितहरूलाई तान्न उनी उच्च मनोबलका साथ लाग्न सक्छन् ।’

स्वर्णिम बाहिरिँदा स्वाभाविक रूपमा पार्टीलाई क्षति पुगेको कांग्रेस नेता गुरुराज घिमिरे स्विर्काछन् । ‘नागरिकले पत्याएको र क्षमतावान व्यक्ति हुन् । योग्यता र क्षमता भएका हरेक व्यक्तिमा महत्वकांक्षा भइहाल्छ,’ घिमिरे भन्छन्, ‘उनी जस्तै क्षमतावान व्यक्ति धेरै कम छन् । उनले जनता माझ देखिनेगरि आफ्नो क्षमता प्रदर्शन गर्न खोजेका हुन् ।’

‘धोका दिए’

स्वर्णिमको बर्हिगमनलाई कांग्रेसले ‘धोका’ को रूपमा बुझेको छ । महामन्त्री गगन थापा निकट रहेर काम गरेका उनले अकस्मात पार्टी परित्याग गर्दा थापा पनि आश्चर्यमा परेका थिए । सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाप्रति आक्रोश व्यक्त गर्दै उनी कांग्रेसबाट बाहिरिएका थिए ।

यसलाई पार्टीभित्र स्वर्णिमलाई भूमिका दिलाउन प्रयास गरिरहेका थापाले धोकाका रूपमा बुझेका छन् । ‘काठमाडौं–४ उहाँ (स्वर्णिम) लाई छोड्न महामन्त्री तयार हुनुभएको हो । घोषणापत्र तयारी समितिमा ल्याउन महामन्त्रीकै बल हो,’ गगन निकट एक नेता भन्छन्, ‘उहाँ अवसरवादी देखिनुभयो ।’ अवसरवादको अन्त्यका लागि पनि महामन्त्रीद्वय तनहुँ–१ मा खटिएको कांग्रेस नेताहरूको विश्लेषण छ ।

उनलाई संसदमा आउन रोक्न सत्ता गठबन्धनले भरमग्दुर प्रयास गरे पनि असफल रह्यो । वर्तमान र भुतपूर्व गरेर ४ प्रधानमन्त्री तनहुँ पुगे । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा ४ दिन तनहुँमै बसे । कांग्रेसका शीर्ष नेता, केन्द्रीय सदस्य, भ्रातृ संस्थाका वर्तमान र पूर्व पदाधिकारी अधिकांश तनहुँ पुगे । तर, कांग्रेसको सम्पूर्ण शक्ति खर्चिँदा समेत नतिजा आफ्नो पक्षमा पार्न सकेनन् ।

कांग्रेस नेताहरूका अनुसार स्वर्णिम कहिं न कहिं भूमिकासहित कांग्रेसमा रहन चाहन्थे । अभियानसहित देश दौडाहा गर्ने तयारी भएर पनि निर्णय बीचमै अलपत्र परेको थियो । देशभर कांग्रेसका कार्यकर्तालाई प्रशिक्षित गर्ने गरी फागुन २ बाट अभियानसहित जिल्ला दौडाहा गर्ने तयारी पनि थियो । सत्ता गठबन्धनमा परिवर्तन आएसँगै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनतिर लाग्यो । कांग्रेस रूपान्तरण सहितको अभियान प्रारम्भ नै हुन पाएन । उक्त अभियान वैशाख २ गतेबाट अघि बढाउने तयारी हुँदै थियो । त्यसअघि नै उनले अर्को दल रोजिसकेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग विनासेवा–सुविधा विज्ञ सल्लाहकार बस्न इच्छा देखाएका थिए । कांग्रेसमा रहने उनको बाटो बन्द भयो । संस्थापन इतरका एक नेताका अनुसार कांग्रेसमा अड्याउन सकिने विकल्प थियो । देउवा त उनको पक्षमा थिएनन् । संस्थापनइतर समूह र राष्ट्रपतिले समेत त्यो काम गर्न सकेनन् ।

‘कांग्रेस सुधारका लागि अभियान लिएर देश भ्रमणमा निस्केको भए उहाँ (स्वर्णिम) पार्टी परित्याग गरेर जाने अवस्था बन्दैनथ्यो’ ती नेता भन्छन्, ‘राष्ट्रपतिको विज्ञ सल्लाहकारको भूमिका दिन सकेको भए पनि यो अवस्था आउँदैनथ्यो ।’

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?