+
+

उपनिर्वाचनमा एमालेको मत घण्टीलाई !

सइन्द्र राई सइन्द्र राई
२०८० वैशाख १२ गते २०:३९
उपनिर्वाचनमा तनहुँ १ का एमाले उम्मेदवार सर्वेन्द्र खनाल ।

१२ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १० वैशाखमा सम्पन्न उपनिर्वाचनमा आफ्नो पार्टी मत समेत जोगाउन सकेन । एमालेले तनहुँ–१ मा सर्वेन्द्र खनाल, चितवन–२ मा रामप्रसाद न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको थियो ।

तर तीनै जना उम्मेदवारले पार्टीले यसअघि पाएको मत पनि जोगाउन सकेनन् । तनहुँ–१ मा खनालले गत ४ मंसिरको चुनावमा एमाले उम्मेदवार एकबहादुर रानाले पाएको भन्दा साढे ११ हजार कम मत पाए ।

त्यसबेला नेपाली कांग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३६१ मत ल्याएर जित्दा एमालेका रानाले १९ हजार ९८१ मत ल्याएका थिए । तर यो उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वर्णिम वाग्लेले ३४ हजार ९१९ मत ल्याएर जित्दा खनालले ८ हजार ४८८ मत मात्रै ल्याए ।

खनालले पाएको मत एमालेले ४ मंसिरको चुनावमा समानुपातिकतर्फ पाएको मत भन्दा करिब ८ हजारले कम हो । ४ मंसिरको चुनावमा समानुपातिकतर्फ एमालेले तनहुँ १ मा नै १६ हजार ६८३ मत पाएको थियो । तनहुँका एमाले नेताहरुका अनुसार, एमालेको मत यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ । ‘हामीलाई भोट हाल्नेले यसपटक खुलेरै घण्टीमा हाल्ने हो भनेको सुनियो, नतिजा पनि त्यस्तै आयो’, एमाले नेता राना भन्छन् ।

‘नेपाल प्रहरीका पूर्व प्रमुख रहेको र आवश्यक खर्च धान्न सक्ने उम्मेदवार भनेरै सर्वेन्द्र खनाललाई टिकट दिइयो । तर त्यो भन्दा यहाँका स्थानीय नेता उठेको भए पार्टी मत जोगाउन सक्ने रहेंछ’, तनहुँका एक एमाले नेता भन्छन् ।

कांग्रेसले आफ्नो पार्टीका समर्थकको मत जोगाएकाले पनि स्वर्णिमले जित्नुमा एमाले मतको प्रमुख भूमिका रहेको अनुमान लगाउन सकिन्छ । गत चुनावमा रामचन्द्र पौडेलले पाएको मत भन्दा उपनिर्वाचनमा गोविन्द भट्टराईले पाँच हजार कम मत पाएका छन् । तर ४ मंसिरको चुनावमा तनहुँ १ मा कांग्रेसले समानुपातिकतर्फ २० हजार १५८ मत पाएको थियो । उपनिर्वाचनमा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) जस्ता दलहरुसँग उपनिर्वाचन भएका तीनवटै निर्वाचन क्षेत्रमा यसपटक उम्मेदवार नै थिएन । त्यसैले उनीहरुको नाफा नोक्सानको हिसाब नै आवश्यक परेन ।

तर तीनवटै क्षेत्रमा उम्मेदवारी दिएको राप्रपाले पनि यसपटक आफ्नो मत गुमाएको छ । यद्यपि गत चुनावमा पनि राप्रपाको मत प्रतिस्पर्धी थिएन । प्रतिस्पर्धी मत भएकै एमालेले उपनिर्वाचन ठूलो अन्तरले तीनै क्षेत्रमा मत गुमाएको छ ।

जबकी ४ मंसिरको चुनावमा काठमाडौं–६ मा पराजित खनालले मत तान्ने आँकलन गरेरै एमालेले तनहुँ लगेको थियो । ‘नेपाल प्रहरीका पूर्व प्रमुख रहेको र आवश्यक खर्च धान्न सक्ने उम्मेदवार भनेरै सर्वेन्द्र खनाललाई टिकट दिइयो । तर त्यो भन्दा यहाँका स्थानीय नेता उठेको भए पार्टी मत जोगाउन सक्ने रहेंछ’, तनहुँका एक एमाले नेता भन्छन् ।

चुनाव प्रचार कार्यक्रममा तनहुँ १ का एमाले उम्मेदवार सर्वेन्द्र खनाल ।

एमालेको मत घण्टीमा गएको अर्को आधार भने रास्वपाले अघिल्लो चुनावमा पाएको मतलाई आधार मान्न सकिन्छ । त्यो चुनावमा प्रत्यक्षतर्फ रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत पाउँदा समानुपातिकतर्फ उसको मत १२ हजार ७७३ थियो । तर यसपटक स्वर्णिम वाग्लेले पार्टी मत भन्दा तीन गुणा बढी मत ल्याए ।

चितवन २ मा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले अघिल्लोपटक प्रत्यक्षतर्फ पाएको भन्दा चार हजार कम र समानुपातिकतर्फ पाएको भन्दा ६ हजारले कम मत पाएका छन् । अर्थात् यहाँ पनि एमालेको मत घण्टीमा गएको प्रष्ट हुन्छ ।

अर्थात् स्वर्णिमले पाएको मतमा सत्ता गठबन्धनका दल, गोविन्दराज जोशी पक्षको मत गएको छ । तर धेरै मत भने एमालेकै गएको देखिन्छ । ४ मंसिरको चुनावमा तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिएका पूर्वकांग्रेस नेता गोविन्दराज जोशीले ६ हजार ८८६ मत पाएका थिए ।

तनहुँमा जस्तै चितवनमा पनि एमालेले पार्टी मत जोगाउन सकेन । नागरिकता विवादमा रास्वपाका सभापति रवि लामिछाने सांसद पदबाट मुक्त भएपछि यहाँ उपनिर्वाचन भएको थियो । तर उपनिर्वाचनमा पहिले भन्दा बढी मत पाएर रविले नै निर्वाचित भए ।

मंसिरको चुनावमा ४९ हजार ३०० मत ल्याएर जितेका रविले यसपटक ५४ हजार १७६ मत ल्याए । दोस्रोमा कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ र तेस्रोमा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाए । गत चुनावमा कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाएका थिए ।

चितवन २ का एमाले उम्मेदवार रामप्रसाद न्यौपाने ।

समानुपातिकतर्फ भने यो क्षेत्रमा रास्वपाले ३५ हजार ९४५, एमालेले १६ हजार ७८४, कांग्रेसले १२ हजार १३२, माओवादीले ८ हजार ४०७ र राप्रपाले ३ हजार मत पाएका थिए । कांग्रेस उम्मेदवार श्रेष्ठले उपनिर्वाचनमा पाएको मत ४ मंसिरको चुनावमा समानुपातिकतर्फ कांग्रेसले पाएको मत भन्दा करिब एक हजारले कम छ ।

तर एमाले उम्मेदवारले अघिल्लोपटक प्रत्यक्षतर्फ पाएको भन्दा चार हजार कम र समानुपातिकतर्फ पाएको भन्दा ६ हजारले कम मत पाएका छन् । अर्थात् यहाँ पनि एमालेको मत घण्टीमा गएको प्रष्ट हुन्छ ।

बारा–२ को अन्तिम मत परिणाम आउन बाँकी छ । तर गणना भएको मत परिणाम हेर्दा यहाँ पनि एमालेलाई पार्टी मत जोगाउन मुश्किल परिररहेको छ ।

यो क्षेत्रमा ४ मंसिरको चुनावमा एमालेले पाएको समानुपातिकतर्फको मत ९ हजार १९३ छ । तर सोमबार अपरान्हसम्म १८ हजार ०९६ मत ल्याएर जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादवले अग्रता लिइरहँदा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार ४५९ मत मात्रै पाएका छन् । यादवसँग प्रतिस्पर्धा गरिरहेका जनमत पार्टीका शिवचन्द्र कुशवाहले १३ हजार ८३ मत पाएका छन् ।

बारा २ का एमाले उम्मेदवार पुरुषोत्तम पौडेल ।

जनमतको पार्टीले समानुपातिकतर्फ यो क्षेत्रमा पाएको मत भने ८ हजार ८४६ मात्रै हो । त्यसको अर्थ उसले अरु दलको मत तानिसकेको छ । जनमतसँगै रास्वपाका रमेश खरेलले पनि पार्टी मत भन्दा धेरै पाइसकेका छन् । रास्वपाले गत चुनावमा समानुपातिकतर्फ १ हजार ४५५ मत मात्रै पाएको छ । तर उपनिर्वाचनमा उसका उम्मेदवार रमेश खरेलले २ हजार १६३ मत पाइसकेका छन् ।

चितवनका एमाले नेता कृष्णभक्त पोखरेल उपनिर्वाचनमा कल्पना नै गर्न नसकिने नतिजा आएको बताउँछन् । ‘हामी पार्टी जीवनकै सवैभन्दा एकताबद्ध एमाले भनिरहेका छौं । तर नतिजा भने अकल्पनीय आयो’, पोखरेलले भने ।

उनको बुझाइमा प्रमुख दलहरुले केही गरेन भन्ने प्रचारले यस्तो नतिजा आएको हो । ‘हामी परम्परागत शैलीले चलिरहेका छौं । तर नयाँ भन्नेहरुले तरिका बदलेको छ, मिडियालाई उपयोग गरिररहेको छ’, पोखरेल भन्छन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?