+
+

७ संकेत, जसले दर्शाउँछन् दाम्पत्य जीवन सुमधुर छ

गोपाल ढकाल, मनोविद् गोपाल ढकाल, मनोविद्
२०८० वैशाख १३ गते १६:४९

श्रीमान् श्रीमतीलाई एक रथका दुई पाङ्ग्रा भन्ने गरिन्छ । दुईमध्ये एक पाङ्गा कमजोर भए वा एकै गतिमा नचले रथ नै ढल्न सक्छ । त्यसैले त श्रीमान् श्रीमतीको सम्बन्ध प्रेम, विश्वास र समर्पणका साथ एकै गतिमा चल्नुपर्छ ।

सम्बन्धमा धेरै किसिमका दरार र अप्ठ्याराहरु आउन सक्छन् । कहिलेकाहीं मनमुटाव पनि हुनसक्छ । यसको व्यवस्थापन गर्न नसके सम्बन्ध नै तोडिने जोखिम पनि आउन सक्छ ।

सुमधुर दाम्पत्य जीवनका लागि एकअर्कामा प्रेम मात्रै होइन, विश्वास, समर्पण र समान अस्तित्व पनि मुख्य हुनुपर्छ । दम्पतीबीच सम्बन्ध कस्तो छ भन्ने कुरा आफैंले पनि महसुस गर्न सकिन्छ । दाम्पत्य जीवन कत्तिको सुमधुर छ भन्ने थाहा पाउन यी सात सूत्रलाई हेर्न सकिन्छ ।

१. एकअर्काप्रति विश्वास

सुखद् दाम्पत्य जीवनको मेरुदण्ड भनेकै विश्वास हो । समझदार दम्पतीले कहिले पनि एकअर्काको कुरा काट्दैनन्, अनावश्यक शंका पनि गर्दैनन्, एकअर्काको कुरा ध्यानपूर्वक सुन्छन्, कदर गर्छन् ।

आजभोलि विश्वासको नाममा एकअर्काको सामाजिक सञ्जाल अकाउन्टको पासवर्ड दिए विश्वास नभए अविश्वास भन्ने गलत किसिमको धारण समेत विकसित भएको पाइन्छ । यो पनि एक किसिमको अविश्वास हो, अनि अर्काको स्वतन्त्रताको हनन् पनि हो ।

त्यसैले विश्वासको मापन यस्तो कुराबाट होइन, व्यवहार, काम र समर्पणबाट गर्ने हो ।

२. कुनै निर्णय गर्दा सरसरल्लाहबाट गर्ने

घरायसीदेखि व्यावसायिक कुनै पनि कुराको निर्णय लिंदा एकअर्काको सरसल्लाहमा मात्रै गर्छन् भने बुझ्नुपर्छ त्यो दम्पतीको दाम्पत्य जीवन सुमधुर छ । उनीहरु आफूखुसी कहिल्यै कुनै पनि प्रकारको निर्णय लिंदैनन्, सहमतिमा मात्रै पाइला अघि बढाउँछन् । सुमधुर दाम्पत्य जीवनको यो अर्को महत्वपूर्ण कडी हो ।

३. पारदर्शी

जो दम्पती आफ्नो काम व्यवहार पारदर्शी रुपमा पार्टनरलाई देखाउँछन् उनीहरुको दाम्पत्य जीवन खराब हुनुपर्ने कुनै कारण हुँदैन । कार्यालय, व्यवसाय, साथीभाइ, नातागोतासँग सम्बन्धित आवश्यक कुराहरु एकअर्कामा सेयर गर्छन् भने बुझ्नुपर्छ उनीहरुको जीवन राम्रो गतिमा अघि बढिरहेको छ ।

४. एकअर्कालाई समय दिने

कार्य व्यस्तताले हिजोआज मान्छेसँग समयको पावन्दी कम छ । तर व्यस्तताका बीच पनि एकअर्कालाई समय दिएर घुम्न जाने, परिवारसँग रमाउने, सुखदुःख साट्ने गर्छन् भने त्यो दम्पती खुसी छ भन्ने बुझ्नुपर्छ । उनीहरुबीच खास कुनै गुनासो रहँदैन ।

विवाहपछि एक्लै साथीभाइसँग मात्र रमाउने, घरपरिवारको वास्ता नगर्ने प्रवृत्ति उनीहरुमा हुँदैन ।

५. जिम्मेवारी पूर्णरुपमा निभाउने

सुखद् दाम्पत्य जीवन बिताइरहेका जोडीले एकअर्काको दबाबमा बसेजस्तो, आफ्ना इच्छा आकांक्षालाई मारेजस्तो कहिल्यै पनि अनुभव गर्दैनन्, किनकि उनीहरु एकअर्काका हरेक कुरालाई सम्मान गर्छन् । आफूमा आएको जिम्मेवारी कुशलतापूर्वक निभाउँछन् ।

६. चाडपर्व तथा भेटघाटमा दुवैको सहभागिता

परिवारका अन्य सदस्य, आफन्त, साथीभाइसँगको जमघटमा दुवै जना सहभागी हुन्छन् । कामको व्यस्तता देखाएर एक जना मात्रै त्यस्तो कार्यक्रममा सरिक हुँदैनन् भने बुझ्नुपर्छ त्यो दम्पती खुसी छ । दुवैका परिवार र साथीभाइप्रति उत्तिकै सम्मान दर्शाउँछन् ।

७. कमीकमजोरीमा क्षमा दिने

गल्ती। कमीकमजोरी मानवीय स्वभाव नै हो । जतिसुकै राम्रो गर्छु भने पनि कहिलेकाहीं गल्ती भइहाल्छ । समझदार दम्पतीले एकले गल्ती गर्दा अर्कोले कहिल्यै गाली गर्दैनन् । ‘काम गर्दै जाँदा यस्तो भइहाल्छ नि’ भनेर सम्झाउँछन्, गल्तीमा माफी दिन्छन् । उनीहरु एकअर्कामा आरोप–प्रत्यारोप गरेर बस्दैनन्, एकअर्काको कमीकमजोरी देखाएर होच्याउँदैनन्, बारम्बार एउटै कुरा गरेर बस्ने गर्दैनन् ।

(मनोविद् ढकालसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?