+
+

राजु स्याङ्तानको ‘ओ पेङदोर्जे’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १६ गते १९:३९

१६ वैशाख, काठमाडौं । कवि राजु स्याङतानको पहिलो कविता संग्रह ‘ओ पेङदोर्जे’ शनिबार सार्वजनिक भएको छ ।

आफूसँग कुनै समय सशस्त्र द्वन्द्वका बेला साथै लडेकी सहयोद्धा प्रविणा गोलेलाई पुस्तक हस्तान्तरण गरेर राजुले पुस्तक सार्वजनिक  गरेका थिए । द्वन्द्वका बेला सिन्धुपाल्चोकको ठोकर्पामा भएको दोहोरो भिडन्तमा प्रविणाले हात गुमाएकी थिइन् ।

पब्लिकेशन नेपालयको आर शालामा पुस्तक विमोचन गर्नुअघि वक्ताहरुले कुनै समय हतियार बोकेर समाज रुपान्तरणमा लागेका राजुले पछिल्लो समय बोकेको कलमको हतियार अत्यधिक धारिलो भएको टिप्पणी गरे ।

‘एउटा समुदायबाट उठेको मानिस उसको वरपरको विभिन्न थिचोमिचो, सहयोग र असहयोगको बीचबाट हुर्कँदा हुर्कँदै बजार र विश्वव्यापीकरणसँग जुध्न पुग्छ,’ समीक्षक हरि शर्माले भने, ‘परिणाममा बजार, समाज र पूँजीवादको बन्दी भएका कविको वेदना र पीडा यसमा सशक्त ढंगले प्रतिविम्बित भएको छ ।’

कवि श्रवण मुकारुङले आफूले राजुको कविता नछुटाइ पढ्ने गरेको बताए । ‘राजु उनको परिवेशलाई आम पाठकको मर्ममा छोएर प्रस्तुत गर्न प्रखर देखिएका छन्’ उनले भने ।

शनिबार नै उक्त कविता संग्रहको ‘ईबुक’ र ‘अडियो बुक’ पनि सार्वजनिक गरिएको थियो । यस कविता संग्रहमा छ वटा फरक खण्डभित्र ५१ वटा कविता अटाएका छन् ।

पब्लिकेशन नेपालयका किरणकृष्ण श्रेष्ठले लेखक तथा प्रकाशकहरुले जति छिटो पुस्तकहरु धेरै माध्यममा उपलब्ध गराउछन्, त्यति नै पाठकको दायरा फराकिलो हुने बताए ।

‘यतिबेला साहित्यिक पुस्तकमध्ये सबैभन्दा थोरै कविता विक्री भइरहेको यथार्थकै बीच हामीले यसै विधाको पुस्तक प्रस्तुत गर्ने जमर्को गरेका छौं,’ किरणले भने, ‘कुनै समय पुस्तकको बिक्री बढेर फेरि कमी आउन थालेकामा हामी प्रकाशकहरुले कस्ता पुस्तक पाठकलाई दियौं भनेर पनि यतिबेलै आत्मसमीक्षा गर्नु जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?