+
+

घोराही सिमेन्टको सेयर नकिन्ने प्रभावित क्षेत्रका वासिन्दाको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते २०:५३

१७ वैशाख, दाङ । घोराही सिमेन्ट इन्डष्ट्रिजको प्रभावित क्षेत्रका वासिन्दाले सेयर खरिद नगर्ने चेतावनी दिएका छन् ।

आइतबार घोराही उपमहानगरपालिका–४ वडा कार्यालयले गरेको छलफलमा उद्योग प्रभावित क्षेत्रका वासिन्दाले मानवीय तथा वातावरणीय रुपमा गम्भीर असर गरिरहेको भन्दै उद्योगलाई हटाउने चेतावनी दिएका छन् ।

‘बीच बस्तीमा उद्योग स्थापना गर्दा मानवीय स्वास्थ्यमा असर परिरहेको छ । यहाँका स्थानीयमा क्यान्सर र छाला रोग देखिएको छ’, स्थानीय भोला अधिकारीले भने, ‘पानीका मुहानका सुक्न थालेका छन् । अन्नबाली पनि हुन छाडे । अहिले सेयरका नाममा स्थानीयलाई लोभ्याउँन खोजिदैछ ।’

२०६९ सालबाट उत्पादन सुरु गरेको घोराही सिमेन्ट इन्डष्ट्रिजले उद्योग प्रभावित क्षेत्र घोराही उप–महानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८, १९, बंगलाचुली गाउँपालिका–३, ४ र रोल्पाको त्रिवेणी गा.पा. वडा नं. ३, ४ का स्थानीयहरुका लागि साधारण शेयर निष्कासन गरेको छ । उद्योगले निष्काशन गर्न लागेको ७९ लाख ४३ हजार आठ सय एक कित्तामध्ये सात लाख ५४ हजार छ सय ६१ कित्ता शेयरहरु स्थानीय बासिन्दाहरुका लागि बिक्री गर्न लागेको छ ।

घोराही उपमहानगरपालिका–४ का अध्यक्ष मधुसुदन घिमिरेले उद्योग प्रभावितहरुसँग छलफल गरी सेयर खरिद नगर्ने निर्णय गरिएको बताए । घिमिरेले उद्योगको एक अर्ब भन्दा बढी विद्युत महशुल बक्यौता बाँकी भएको र त्यही महशुल बुझाउनका लागि जनताबाट शेयर आह्वान गरिएको आरोप लगाए ।

‘सेयरका नाममा यहाँका जनतालाई फेरि पनि झुक्याएर पैसा असुल्न खोजिएको छ’, उनले भने, ‘यसअघि पनि स्थानीयलाई झुक्याएर बस्तीको बीचमा उद्योग स्थापना गरियो ।’ अब भने वस्तीबाट उद्योग नै हटाउने गरी आफूहरुले आन्दोलन गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?